काठमाडौं । नेपालमा सञ्चालनमा रहेका इजाजत प्राप्त बीमा कम्पनीहरूले उच्च तहमा पुरुष र महिलाको पारिश्रमिकमा अन्तर रहेको आशंका गरे पनि त्यसको कुनै अध्ययन वा मापन नगरेको पाइएको छ।
नेपाल बीमा प्राधिकरणको “इन्स्योरेन्स थ्रु अ जेण्डर लेन्सः अ फेमा मिटर एसेसमेण्ट इन नेपाल” प्रतिवेदनले बीमा कम्पनीहरूमा समान कामको समान ज्याला सम्बन्धी व्यवस्थित अनुगमनको अभाव रहेको औंल्याएको हो।
प्राधिकरणको अध्ययन अनुसार देशका कुनै पनि जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र लघु जीवन बीमा कम्पनी ले लैंगिक आधारमा पारिश्रमिकको पुनरावलोकन गर्ने गरेका छैनन्। चार वटा लघु निर्जीवन बीमा कम्पनीमध्ये एउटाले मात्र यस्तो पुनरावलोकन गर्ने गरेको भेटिएको छ।
यद्यपि, अध्ययनमा सहभागी १५ वटा बीमा कम्पनीहरूले उच्च कार्यकारी तहमा पुरुष र महिलाबीच पारिश्रमिकमा अन्तर हुन सक्ने सम्भावनालाई स्वीकार गरेका छन्। यसरी स्वीकार गर्नेमा ६ जीवन बीमा, ४ निर्जीवन, २ लघु जीवन र ३ लघु निर्जीवन बीमा कम्पनी रहेका छन्। यस्तो जोखिम स्वीकार गर्नेमध्ये एउटा निर्जीवन बीमा कम्पनीबाहेक बाँकी १४ वटै कम्पनीले यसलाई उच्च जोखिमका रूपमा वर्गिकरण गरेका छन्।
समान पारिश्रमिकको स्थिति अनुगमन गर्ने प्रणाली नै नहुनु चिन्ताको विषय भएको प्रतिवेदनमा उल्लेख छ। यसलाई सम्बोधन गर्न प्राधिकरणले आफ्नो नियमनकारी ढाँचामा लैंगिक सूचकहरू समावेश गर्ने र बीमा कम्पनीहरूले वार्षिक रूपमा लैंगिक विविधता तथा समावेशीकरण प्रतिवेदन अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था लागू गर्न सिफारिस गरेको छ।











