काठमाडौं । बीमा क्षेत्रको माथिल्लो तहमा महिलाको उपस्थिति कमजोर देखिए पनि बजारको पहिलो पंक्तिमा खट्ने अभिकर्ता र नयाँ भर्ना हुने कर्मचारीमा भने महिलाको उपस्थिति निकै आशालाग्दो पाइएको छ। नेपाल बीमा प्राधिकरणले यसलाई भविष्यको नेतृत्व तयार पार्ने मजबुत आधारका रुपमा लिएको छ।
बीमा प्राधिकरणको प्रतिवेदनअनुसार जीवन बीमा कम्पनीहरूमा कुल अभिकर्तामध्ये ४४ प्रतिशत महिला छन् भने नयाँ दर्ता भएका अभिकर्तामा महिलाको संख्या ५४ प्रतिशत पुगेको छ। यो नै यस्तो विधा हो, जहाँ महिलाको संख्या पुरुषभन्दा बढी छ।
यस्तै लघु जीवन बीमामा ४६ प्रतिशत अभिकर्ता महिला छन् भने नयाँ अभिकर्तामा महिलाको हिस्सा आधा अर्थात ५० प्रतिशत छ। लघु जीवन बीमाको सञ्चालक समितिमा नयाँ भर्ना भएकाहरुमा ७५ प्रतिशत र म्यानेजर तहमा ६७ प्रतिशत महिला रहेका छन्।
निर्जीवन बीमा क्षेत्र भने यस मामलामा अझै कमजोर छ। निर्जीवन बीमामा २३ प्रतिशतमात्र महिला अभिकर्ता छन् र नयाँ अभिकर्तामा महिला २५ प्रतिशत र पुरुष ६३ प्रतिशत रहेका छन्। त्यसैगरी नयाँ कार्यकारी भर्नामा अझै पनि पुरुषहरुकै वर्चस्व छ।
समुदायस्तरमा विश्वास जित्न र बीमा व्यवसाय फैलाउन महिला अभिकर्ताको भूमिका महत्वपूर्ण रहेको प्रतिवेदनमा उल्लेख छ। प्राधिकरणले यसरी जगमा रहेका महिला अभिकर्ता र कर्मचारीलाई मेन्टरसिप, तालिम र व्यावसायिक विकासका अवसर दिएर भोलिको नेतृत्व तहसम्म पुर्याउने रणनीति लिन कम्पनीहरुलाई आह्वान गरेको छ।












