काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आज कात्तिक १८ गतेदेखि लागू हुने सूचना प्रविधि नीति लागू गरेको छ। ‘नेपाल धितोपत्र बोर्ड सूचना प्रविधि नीति, २०८३’ लागू गरिएको हो।
यो नीतिले नेपालको धितोपत्र बजारमा सूचना प्रविधिको सुरक्षित उपयोगलाई प्रवर्द्धन, नियामक क्षमता सुदृढीकरण, प्रविधिजन्य जोखिम न्यूनीकरण, बजारको निष्पक्षता तथा पारदर्शिता प्रवर्द्धन, लगानीकर्ताको विश्वास अभिवृद्धि तथा अन्तर्राष्ट्रिय अभ्यासअनुकूल नियामक क्षमता विकास गर्ने उद्देश्यले उदीयमान प्रविधिहरुसम्बन्धी व्यवस्था समावेश गरी एकीकृत नीतिगत व्यवस्था गर्ने धितोपत्र बोर्डले जनाएको छ।
यसस नीतिको मुख्य उदेश्य धितोपत्र बजार तथा वस्तु विनिमय बजारको समग्र कार्यसम्पादनलाई सूचना प्रविधि पूर्वाधारको विकास विस्तारमार्फत नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जबाफदेही बनाउने रहेको छ। धितोपत्र बोर्डको यस नीतिमार्फत धितोपत्र बजार सम्बद्ध निकाय तथा बजार पूर्वाधार संस्थाको कार्य प्रकृति र जिम्मेवारीअनुरुप सञ्चालन भइरहेका सूचना प्रविधिको प्रयोग सम्बन्धमा व्यवस्था गर्नुपर्ने सुरक्षा मानक सम्बन्धमा पहिलो तहमा धितोपत्र बोर्ड, बजार सञ्चालक नेप्से र सीडीएससी, दोस्रो तहमा धितोपत्र दलाल व्यवसायी, धितोपत्र व्यापारी र मर्चेन्ट बैंकर) तथा तेस्रो तहमा (क्रेडिट रेटिङ एजेन्सी र शेयर रजिस्ट्रार) गरी वर्गीकरण गर्ने व्यवस्था गरिएको छ।
यस नीतिमा सूचना प्रविधिको व्यवस्थित एवं स्तरीय प्रयोगमार्फत धितोपत्र बजार तथा वस्तु विनिमय बजार नियमन, सञ्चालन तथा लगानीलाई गतिशील, विश्वसनीय एवं डिजिटल रुपान्तरण गर्दै लैजाने तथा धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा सूचना प्रविधिको नवीनतम तथा स्तरीय प्रयोगलाई सहजीकरण गर्ने एवं रेगुलेटरी स्यान्डबक्सलगायतका विकसित हुने नवीनतम प्रविधिमार्फत वित्तीय प्रविधिजस्ता उदीयमान व्यवस्थाहरुलाई सहजीकरण तथा प्रोत्साहन गर्ने व्यवस्था समेटिएको छ।
प्रस्तुत नीतिमार्फत बजार कारोबार, राफसाफ तथा फर्छ्यौट संयन्त्र र केन्द्रीय निक्षेप प्रणाली, वेयरहाउससँग सम्बन्धित अभिलेखको दिगो, भरपर्दो तथा सुरक्षित प्रयोगका लागि स्तरीय तथा अन्तर्राष्ट्रिय अभ्यासअनुरूपको विपद् पुनः प्राप्ति संयन्त्रको स्थापना तथा व्यवस्थापन गर्नुपर्ने र बजारसम्बन्धी महत्वपूर्ण पूर्वाधार तथा व्यवसायीहरुका लागि व्यवसाय निरन्तरता योजना र विपद् पुनरुत्थान योजना हुनुपर्ने व्यवस्था गरिएको छ।
यसका साथै बीसीपी र डीआरपीको वार्षिक परीक्षण अनिवार्य गरी सोसम्बन्धी प्रतिवेदन धितोपत्र बोर्डमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। धितोपत्र बजार तथा वस्तु विनिमय बक्षार र बजार नियमनसम्बन्धी प्रविधिजन्य उपकरण तथा सेवा खरिद गर्दा बिक्रेता उचित तत्परता र बिक्रेता जोखिम व्यवस्थापन अनिवार्य गर्ने तथा सूचना प्रविधि बाह्यकरण अनुबन्धमा स्पष्ट सेवा स्तर सम्झौता, तथ्यांक सुरक्षा दायित्व, नियामक अडिट अधिकार र बिक्रेता बहिर्गमन रणनीति तथा अन्य थप विषयमा आवश्यक निर्देशिकामार्फत व्यवस्था गरिने प्रावधान गरिएको छ।
त्यस्तै बजार पूर्वाधार संस्थाहरुले सुरक्षा सञ्चालन केन्द्र स्थापना गरी वा मान्यता प्राप्त प्रबन्धित सुरक्षा सेवा प्रदायकमार्फत चौबीसै घन्टे साइबर खतरा निगरानीको व्यवस्था मिलाउनुपर्ने प्रावधान राखिएको छ।
यस नीतिले बजार नियमन तथा बजार गतिविधिमा सूचना प्रविधिको प्रयोग बढाउने र सुपरिवेक्षकीय प्रविधि तथा नियामकीय प्रविधिको उपयोगमार्फत धितोपत्र बोर्डको नियमनमा प्रभावकारिता अभिवृद्धि गर्ने तथा बजारसम्बन्धी गतिविधिहरुमा सूचना प्रविधिको बढ्दो प्रयोगलाई विश्वसनीय एवं भरपर्दो बनाई समग्र बजारलाई पारदर्शी एवं विश्वसनीय बनाउन र धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा हुने सूचना प्रविधिको उपयोगलाई स्तरीय एवं भरपर्दो बनाई सूचना प्रविधिको प्रभावकारी तथा सुरक्षित उपयोगका लागि महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास रहेको छ।











