काठमाडौं: सिम्रिक एयर प्रालिले सेवा बिस्तारका लागि स्वदेशी र विदेशी मुद्रामा गरेर एक अर्ब ३२ करोड ११ लाख ८० हजार रुपैयाँ ऋण लिने भएको छ। यो ऋणका लागि कम्पनीले इक्रा रेटिङग पनि गराएको छ।
कम्पनीले ५८ करोड ६९ लाख रुपैयाँ स्वदेशी मुद्रामा र ६३ लाख ३० हजार डलर विदेशी मुद्रामा ऋण लिने भएको छ।
कम्पनीले लामो र छोटो अवधिका लागि स्थानीय र विदेशी मुद्रामा ऋण लिन लागेको हो। सिम्रिकले लामो अवधिका लागि ४६ करोड ५२ लाख ३० हजार स्थानीय मुद्रामा र ९ लाख ७० हजार डलरमा ऋण लिन लागेको हो। यसमा इक्रा नेपालले कम्पनीलाई ‘एलबिबी’ रेटिङ दिएको छ। यसको अर्थ यो ऋणको भुक्तानी समयमै हुनसक्छ भन्ने हो ।
छोटो अवधिका लागि पनि कम्पनीले स्थानीय मुद्रामा १२ करोड १६ लाख ७० हजार रुपैयाँ र ५३ लाख ६० हजार डलर ऋण लिने भएको छ। यसमा इक्राले ‘ए४’ रेटिङ दिएको छ। यसको अर्थ उच्च जोखिम छ भन्ने हो।












