काठमाडौं । धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रमुख केन्द्र मानिने जनकपुरमा स्वदेशी अन्तर्राष्ट्रिय चेन होटल ‘सोल्टी’ पछि दोस्रो अन्तर्राष्ट्रिय चेन होटल ब्रान्ड भित्रिने भएको छ । विश्वप्रसिद्ध हस्पिटालिटी समूह विन्डम होटल्स एन्ड रिसोर्ट्स अन्तर्गतको अन्तर्राष्ट्रिय चेन ब्रान्ड ‘रमाडा बाइ विन्डम’ जनकपुरमा सञ्चालनमा आउन लागेको हो ।
पर्यटन व्यवसायी विजय अमात्यका अनुसार, कुल ६० वटा सुविधासम्पन्न रहेको यो होटल सन् २०२७ को जनवरी महिनादेखि औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
केही महिना अघि मात्र मिथिला हस्पिटालिटीेले जनकपुरमा पहिलो पाँच तारे स्तरको होटल निर्माण शुरू गरेका छन् । उद्यमी रामेश्वर साहको लगानीमा यो निर्माणाधीन होटलमा करिब २ अर्ब रूपैयाँ लगानी हुने अनुमान गरिएको छ। शाहले हाल भरतपुर चितवनमा लुभ्र होटल्स समूह अन्तर्गतको अन्तर्राष्ट्रिय होटल सञ्जाल रोयल टुलिप रिसोर्ट ब्राण्डबाट होटल सञ्चालन गरिरहेका छन् ।
हालै नेपाल र भारतबीच अयोध्या देखि जनकपुरसम्म सिधा यात्रुबाहक रेल सेवा उद्घाटनसँगै जनकपुरमा भारतीय धार्मिक पर्यटकको आगमन अझै बढ्ने भएकाले सुविधा सम्पन्न होटलको माग बढेको छ।
धार्मिक पर्यटक, विवाह पर्यटन तथा कर्पोरेट कार्यक्रमहरूलाई लक्षित गरी निर्माण भइरहेको यस परियोजनाले जनकपुरको आतिथ्य सत्कार र पर्यटन पूर्वाधारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।











