काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा उद्योग विभागमा १९५ वटा नयाँ उद्योग दर्ता भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार दर्ता भएका उद्योगहरूमा कुल १ खर्ब ४ अर्ब रुपैयाँ लगानी र १० हजार २२० रोजगारी सिर्जना गर्ने प्रस्ताव गरिएको छ ।
दर्ता भएका कुल १९५ उद्योगमध्ये ठूला उद्योग १४, मझौला २२ र साना उद्योग १५९ वटा रहेका छन् । यसै अवधिमा उद्योग विभागबाट ४२२ वटा विदेशी लगानीका परियोजना तथा उद्योगहरू स्वीकृत भएका छन्, जसमध्ये ४१० वटा स्वचालित मार्गबाट स्वीकृत भएका हुन् । स्वीकृत परियोजनाहरूमा कुल १५ अर्ब ८७ करोड रुपैयाँ विदेशी लगानी भित्रिने र ५ हजार १२९ रोजगारी सिर्जना हुने अनुमान छ ।
त्यस्तै, पहिलो त्रैमासिकमा विभागमा १ हजार ८७४ वटा ट्रेडमार्क दर्ता भएका छन् भने ७८ वटा ट्रेडमार्क सम्बन्धी मुद्दाको किनारा लगाइएको छ । भारत र चीनमा सहुलियतपूर्ण निर्यातका लागि ३९ वटा ुसर्टिफिकेट अफ ओरिजिनु सिफारिस गरिएको र १८ वटा उद्योगको प्रारम्भिक वातावरणीय परीक्षण सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।
कम्पनी रजिस्ट्रारको कार्यालयले पहिलो त्रैमासिकमा १० हजार २२६ नयाँ कम्पनी दर्ता गरेको छ भने १ हजार ४३ कम्पनी खारेज भएका छन् । यस अवधिमा १ लाख ८३ हजार ८२ कम्पनीको वार्षिक विवरण अद्यावधिक गरिएको छ ।











