काठमाडौं । निर्जीवन बीमकहरुले चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो त्रैमास (साउन–असोज)सम्म साढे १५ अर्ब रुपैयाँ बढीको व्यापार गर्न सफल भएका छन्।
नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोजसम्मको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमकले ८ लाख ३६ हजार ७४ वटा बीमालेख जारी गरेर १५ अर्ब ५४ करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। अघिल्लो आर्थिक वर्ष २०८२।८३ मा कम्पनीहरुले ६ लाख ८८ हजार ९८२ वटा बीमालेख जारी गरेर १२ अर्ब ६५ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीहरुको व्यापार २२.८२ प्रतिशतले बढेको छ।
अघिल्लो वर्षको तुलनामा चालु वर्षको असोजसम्म सबै निर्जीवन बीमकको व्यापार बढेको छ। सर्वाधिक व्यापार भित्र्याउनेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ भने व्यापार वृद्धिको हिसाबले एनएलजी इन्स्योरेन्स अगाडि रहेको छ।
समीक्षा अवधिसम्म सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ८३ करोड ५३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब ४९ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीको व्यापार २२.५० प्रतिशतले बढेको छ।
शिखर इन्स्योरेन्स दोस्रो धेरै व्यापार भित्र्याउने कम्पनी बनेको छ। चालु आर्थिक वर्षको असोजसम्म कम्पनीले १ अर्ब ७९ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष असोजसम्म कम्पनीले १ अर्ब ३८ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यापार २९.५४ प्रतिशतले बढेको छ।
त्यस्तै तेस्रो धेरै व्यापार भित्र्याउनेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ। चालु वर्षको असोजसम्म यो कम्पनीले १ अर्ब ६० करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष असोजसम्म कम्पनीले १ अर्ब १९ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीको व्यापार ३४.५४ प्रतिशतले बढेको छ।
यसैगरी चालु आर्थिक वर्षको असोजसम्म एनएलजी इन्स्योरेन्सले १ अर्ब ४९ करोड १८ लाख रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ३३ करोड ४ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ३१ करोड ९५ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले १ अर्ब १५ करोड ८१ लाख रुपैयाँ र ओरिएन्टल इन्स्योरेन्सले ९८ करोड २४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको असोजसम्मको तुलनामा समीक्षा अवधिसम्म एनएलजी इन्स्योरेन्सको व्यापार ४५.४६ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ३४.२९ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ७.७७ प्रतिशत, नेको इन्स्योरेन्सको २४.७५ प्रतिशत र ओरिएन्टल इन्स्योरेन्सको २४.६० प्रतिशतले बढेको छ।
चालु वर्षको असोजसम्म युनाइटेड अजोड इन्स्योरेन्सले ९६ करोड २० लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ८२ करोड ४१ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले ७१ करोड ८३ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ५३ करोड २८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ५० करोड ७४ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्सले ४७ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा यी सबै कम्पनीको व्यापार बढेको छ।












