काठमाडौं । नेपालमा परम्परागत रूपमा जीवन बीमालाई केवल मृत्यु-जोखिम हस्तान्तरण गर्ने साधनका रूपमा हेरिने गरिएकामा पछिल्लो समय युवा पुस्ताको दृष्टिकोणमा व्यापक परिवर्तन आएको एक अध्ययनले देखाएको छ।
आधुनिक बजारमा जीवन बीमा योजनामा दीर्घकालीन बचत, परिपक्वता बोनश र कर छुटजस्ता सुविधाहरू समावेश भएसँगै १८ देखि ४० वर्ष उमेर समूहका नेपाली युवाहरूले यसलाई समग्र ‘वित्तीय मूल्य’ को दृष्टिले हेर्न थालेका छन्।
भर्खरै इन्टरनेसनल जर्नल अफ सेन्ट्रल एजुकेसन भोल्युम ४१, संख्या २५, २०२६ मा प्रकाशित अनुसन्धानकर्ता इन्द्र राज सुवेदी र सुजित कुमार महापात्रको अध्ययन अनुसार नेपाली युवामा जीवन बीमाप्रतिको आकर्षण, वित्तीय साक्षरता, र लगानीका अन्य विकल्पहरूबिचको सम्बन्धलाई सूक्ष्म रूपमा विश्लेषण गरिएको छ।
पालका सातै प्रदेशका ४७३ जना युवामा गरिएको अध्ययन अनुसार जीवन बीमा खरीद गर्ने निर्णयमा अवधारणात्मक वित्तीय मूल्यको बलियो र सकारात्मक प्रभाव रहेको छ। बीमा साक्षरता, वित्तीय साक्षरता र कर छुटसम्बन्धी चेतनाले बीमा खरीद गर्ने इच्छालाई प्रोत्साहन दिने देखिएको छ।
यो अध्ययनमा बागमती प्रदेशबाट सबैभन्दा बढी (३०.०%), कोशीबाट १८.०%, गण्डकीबाट १५.०%, लुम्बिनीबाट १४.०%, मधेशबाट ११.०%, सुदूरपश्चिमबाट ६.६% र कर्णालीबाट ५.५% युवाको सहभागिता रहेको थियो।
युवाहरूमा वैदेशिक रोजगारी वा अध्ययनका लागि विदेशिने तीब्र चाहना र सेयर बजारका प्रणालीगत लगानी योजना तर्फको आकर्षणले दीर्घकालीन जीवन बीमाप्रतिको प्रतिबद्धतामा नकारात्मक असर पारेको पाइएको छ। युवाहरू अल्पकालीन वा तुरुन्तै प्रतिफल पाइने वित्तीय उपकरणतर्फ बढी आकर्षित देखिन्छन्।
अध्ययनले नेपाली युवाहरू मोबाइल वालेट, इन्टरनेट बैंकिङ, नेप्से डिजिटल कारोबारमा निकै निपुण भए पनि बीमा तथा जोखिम व्यवस्थापनसम्बन्धी आधारभूत ज्ञान भने निकै कमजोर रहेको औँल्याएको छ।
विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा औपचारिक बीमा शिक्षा नहुनु यसको मुख्य कारण मानिएको छ। पछिल्लो समयमा मात्र पाठ्यक्रम विकास केन्द्रले माद्यमीक तहको पाठ्यपुस्तकमा बीमा सम्बन्धी सामान्य परिचायत्मक विवरण समावेश गरेको छ।
युवाहरू अझै पनि बीमा खरीद गर्दा अभिकर्ताको दबाब वा प्रभावमा पर्ने गरेको यो अध्ययनको निष्कर्ष छ। साथै, बीमा क्षेत्रमा एजेन्ट, ब्रोकर, सर्भेयर वा अन्डरराइटरका रूपमा पेशागत करियर बनाउनेतर्फ युवाहरूको आकर्षण एकदमै न्यून र संशयपूर्ण रहेको पाइएको छ।
अध्ययनले नेपाल जस्ता उदीयमान बजारमा बीमा योजनाहरूको पुनरावलोकन, नियामक निकायको प्रभावकारी सञ्चार नीति र शैक्षिक पाठ्यक्रममै बीमा साक्षरता समावेश गर्नुपर्ने आवश्यकता औँल्याएको छ।
युवा पुस्ताको नगद तरलता आवश्यकता र परिवर्तनशील वित्तीय प्राथमिकतालाई ध्यानमा राखेर नयाँ र लचिला बीमा उत्पादनहरू ल्याउन सके मात्र जीवन बीमा क्षेत्रको दायरा फराकिलो हुने अनुसन्धानको निष्कर्ष छ।











