काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको लाभांश (नगद र बोनस शेयर) घोषणामा कडाइ गरेको छ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारणसभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने सम्बन्धी कार्यविधि, २०८२ मा प्रथम संशोधन गर्दै लाभांश घोषणामा कडाइ गरेको हो। वित्तीय प्रणालीमा जोखिमको मात्रा बढ्दै गई भविष्यमा बैंक तथा वित्तीय संस्थाहरुले नोक्सानी व्यहोर्नुपर्ने सम्भावना रहने, कतिपय बैंक तथा वित्तीय संस्थाहरुको जोखिम मूल्यांकन एवं जोखिम न्यूनीकरण, आन्तरिक नियन्त्रण प्रणाली एवं संस्थागत सुशासनको अवस्था सुदृढ भई नसकेको, तरलताको स्थिति सहज हुँदा पनि पुँजीकोष पर्याप्त नरहेको कारणले कर्जा प्रवाह गर्ने क्षमतासमेत प्रभावित हुने तथा कतिपय अवस्थामा कर्जा निरन्तर नवीकरण गरी कर्जा वर्गीकरणसमेत प्रभावित हुन सक्ने हुँदा बैंक तथा वित्तीय संस्थाको पुँजीलाई थप सबल गराई, संस्थालाई बढी सुदृढ गराउने गरी लाभांश स्वीकृत प्रयोजनका लागि कडा मापदण्ड तय गरेको हो।
यस्ता छन् लाभांश स्वीकृतिका लागि नयाँ व्यवस्था
१. इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ४७ उपदफा (२) अनुसार निम्न अवस्था पूरा गरेमा मात्र नगद लाभांश तथा बोनस शेयर घोषणा गर्न वा वितरण गर्न स्वीकृति दिनेः
क) सम्पूर्ण प्रारम्भिक खर्च अपलेखन गरेको,
ख) अघिल्लो वर्षसम्म हुन गएको नोक्सानी बाँकि नरहेको,
ग) तोकिएको पुँजी कायम गरेको,
घ) तोकिएको न्यूनतम पुँजीकोष कायम गरेको,
ङ) सम्भावित नोक्सानी व्यवस्थामा छुट्याउनुपर्ने रकम छुट्याएको,
च) बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ४४ बमोजिम साधारण जगेडा कोषमा विनियोजन गरेको,
छ) सर्वसाधारणलाई छुट्याइएको शेयर पूर्ण रुपमा बिक्रीबितरण गरेको।
२. शेयर प्रिमियम तथा बार्गेन पर्चेज गेनको रकमबाट नगद लाभांश घोषणा एवं वितरण गर्न स्वीकृति नदिने।
३. बैंक तथा वित्तीय संस्थाहरुले अन्य इजाजपत्रप्राप्त बैंक तथा वित्तीया संस्थाहरुमा गरेका संस्थापक शेयर लगानी (क्रस होल्डिङ) बिक्री नगरेसम्म त्यस्तो संस्थाले पाउने नगद लाभांश तथा बोनस शेयर लाभांश वितरण रोक्का राख्ने।
४. बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बाहेक अन्य प्रचलित कानुनबमोजिम स्थापना भएको बचत तथा ऋणको कारोबार गरिरहेका संस्थाहरुले इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयरमा गरेको लगानी बिक्री गर्ने कार्य सम्पन्न नभएसम्म त्यस्तो संस्थाले पाउने नगद लाभांश तथा बोनस शेयर वितरण गर्न रोक्का राख्ने।
तर, ‘घ’ वर्गको इजाजतपत्रप्राप्त संस्थाको हकमा यसअघि नै शेयर लिई कायम रहेको अवस्थामा यो व्यवस्था लागू नहुने।
५. इजाजतपत्रप्राप्त संस्थाले कुनै आर्थिक वर्षको बीचको कुनै अवधिमा तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम गर्न नसकेको भएतापनि सोही आर्थिक वर्षको अन्त्यमा तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम भएको आधारमा नगद लाभांश तथा बोनस शेयर घोषणा/वितरण गर्न स्वीकृति नदिने।
६. आर्थिक वर्ष समाप्त भएको मितिदेखि वार्षिक साधारण सभाको स्वीकृति लिने मितिसम्मको अवधिमा शीघ्र सुधारात्मक कारबाही कार्यान्वयन भई उक्त अवधिसम्ममा त्यस्तो कारबाही फुकुवा नभएको अवस्थामा नगद लाभांश तथा बोनस शेयर घोषणा गर्न वा वितरण गर्न स्वीकृति नदिने।
७. ‘क’ वर्गका इजाजतपत्रप्राप्त संस्थाहरु तथा ‘ख’ वर्गका इजाजतपत्रप्राप्त राष्ट्रियस्तरका विकास बैंकहरुले नगद लाभांश घोषणा गर्ने प्रयोजनका लागि क्यापिटल एडुकेसी फ्रेमवर्क–२०१५ तथा पूर्वाधार विकास बैंकहरुले नगद लाभांश घोषणा गर्ने प्रयोजनका लागि क्यापिटल एडुकेसी फ्रेमवर्क–२०१८ अनुसार प्रस्तावित नगद लाभांशको रकम घटाए पश्चात सुपरिवेक्षकीय समायोजनसहित कमन इक्विट िटायर–१ रेसियोका आधारमा तथा प्रस्तावित नगद लाभांशको रकम घटाएपछि बाँकी रहने सुपरिवेक्षकीय समायोजनपश्चात बफरसहित तोकिएको न्यूनतम प्राथमिक पुँजी तथा पुँजीकोष वा सोभन्दा बढी कायम गरेमा मात्रै नगद लाभांश घोषणा गर्न वा वितरण गर्न स्वीकृति दिने।
‘ख (राष्ट्रियस्तरका विकास बैंकबाहेक)’, ग र घ वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुको सम्बन्धमा नगद लाभांश घोषणा गर्ने प्रयोजनका लागि क्यापिटल एडुकेसी फ्रेमवर्क–२००७ (अपडेटेड जुलाई, २००८) र लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन नं. १ बमोजिमको व्यवस्थाअनुसार इजाजतप्राप्त संस्थाले कायम गर्नुपर्ने तोकिएको न्यूनतम प्राथमिक पुँजीमा कम्तिमा ०.५ प्रतिशत र पुँजीकोषमा कम्तीमा १ प्रतिशत बफर कायम गर्न उपयुक्त हुने हुँदा बैंक तथा वित्तीय संस्थाहरुले प्रस्तावित नगद लाभांशको रकम घटाएपछि बाँकी रहने सुपरीवेक्षकीय समायोजनसहित देहायबमोजिमको पुँजीकोष कायम गरेमा मात्रै नगद लाभांश घोषणा गर्न वा वितरण गर्न स्वीकृति दिने।
क) ‘ख (राष्ट्रियस्तरका विकास बैंकबाहेक)’ र ग वर्गको इजाजतपत्रप्राप्त संस्थाको हकमा प्राथमिक पुँजी ६.५ प्रतिशत र पुँजीकोष ११ प्रतिशत वा सो भन्दा बढी रहेको,
ख) ‘घ’ वर्गको इजाजतपत्रप्राप्त संस्थाको हकमा पुँजीकोष ९ प्रतिशत वा सो भन्दा बढी रहेको,
तर, बोनस शेयर वितरण गर्दा कर प्रयोजनका लागि आवश्यक कर रकमबराबर नगद लाभांश घोषणा गर्न वा वितरण गर्न स्वीकृति दिन बाधा नपर्ने।
८. समस्यामा रहेका बैंक तथा वित्तीय संस्थामा रहेको अन्तरबैंक लगानी, निक्षेप, कर्जा लगायतका दाबीमा सतप्रतिशत नोक्सानी व्यवस्था कायम गर्न लगाउने। त्यसैगरी विविध समस्यामा रही धितो लगायतका सम्पत्ति रोक्का रहेका ग्राहकको कर्जामा समेत शत प्रतिशत नोक्सानी व्यवस्था कायम गर्नुपर्ने।
तर, माथि उल्लिखित दाबीहरुमा रहेको धितो बिक्री गर्न यस बैंकले बन्देज लगाएको वा सम्पत्ति रोक्का राखेको अवस्थामा सम्बन्धित संस्थाले बिक्री गर्न वा रोक्का फकुवा गर्न पहल गरेको भए कम्तीमा शंकास्पद वर्गको कर्जामा कायम हुनुपर्ने नोक्सानी व्यवस्था कायम गर्नु पर्ने र आर्थिक वर्षको अन्तसम्ममा शत प्रतिशत नोक्सानी व्यवस्था कायम गर्नुपर्ने। राष्ट्र बैंकले धितो बिक्री गर्न बन्देज लगाएकोमा वा त्यस्तो सम्पत्ति रोक्का राखेको अवस्थामा सम्बन्धित संस्थाले बिक्री गर्न तथा रोक्का फुकुवा गर्न यस बैंकमा पत्राचार गरी पहल नगरेमा त्यस्तो धितो रहेका अन्तरबैंक लगानी, निक्षेप, कर्जालगायतका दाबीबापत सतप्रतिशत नोक्सानी व्यवस्था कायम गर्नुपर्ने। साथै, गत आर्थिक वर्षमा नोक्सानी व्यवस्था कायम गरिसकेको अवस्थामा त्यस्तो कर्जा असुल नभएसम्म नोक्सानी व्यवस्था फिर्ता गर्न नपाइने।
९. विद्यमान नेपाल वित्तीय प्रतिवेदनमान ‘इभेन्ट्स आफ्टर द रिपोर्टिङ पिरियड’ बमोजिम वित्तीय विवरण जारी गर्ने स्वीकृतिको मितिसम्मका एड्जस्टिङ इभेन्ट्सलाई गत आर्थिक वर्षको वित्तीय विवरणमा समायोजन गर्न सकिने तर लाभांश घोषणा गर्ने प्रयोजनका लागि सो आर्थिक वर्ष सकिएको मितिबाट सामान्यतया ४५ दिन भित्रका र बाह्य लेखापरीक्षकद्वारा एड्जस्टिङ इभेन्ट्स हो भनी प्रमाणित गरेका इभेन्ट्सलाई समायोजन गरी हुन आउने नाफा–नोक्सान हिसाबलाई आधार लिई लाभांश स्वीकृति प्रदान गर्न सकिने।
तर, कर्जा नोक्सानी व्यवस्था फिर्ता रकम समायोजन गर्ने हकमा धितोमा रहेको सम्पत्ति बिक्री तथा ऋणीको आन्तरिक नगद प्रवाहबाट कर्जा चुक्ता गरेको सम्बन्धित संस्थाले यकिन गरी सो कर्जामा कायम रहेको कर्जा नोक्सानी व्यवस्था रकमलाई समायोजन गर्न सकिने।
१०. यस बैंकबाट लाभांश घोषणा तथा वितरणमा सीमा तोकिएको खण्डमा इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्षको खुद वितरणयोग्य मुनाफाबाट यस बैंकबाट तोकिएको सीमाभन्दा बढी लाभांश घोषणा तथा वितरण गर्न नपाउने।
यसरी वितरणयोग्य मुनाफा गणना गर्दा कुनै अस्पष्टता नरहोस् भन्ने हेतुले यस वर्षको मुनाफामा यस वर्षभन्दा अघिको वर्षहरुबाट सञ्चित रहेको वितरणयोग्य मुनाफालाई जोडेर यस वर्षको लागि कुल वितरणयोग्य मुनाफा गणना गर्न बाधा नपर्ने।
११. यस बैंकले तोकेबमोजिम मासिक रुपमा औसत व्याजदर अन्तर कायम गर्न नसक्ने बैंक–वित्तीय संस्थालाई उक्त आर्थिक वर्षको बोनस शेयरको कर प्रयोजनबाहेकको नगद लाभांश घोषणा तथा वितरण गर्न रोक लगाउने।
१२. बैंक वा वित्तीय संस्थाले कारोबार सञ्चालन गरेको मितिले पाँच वर्ष पुगेपछि र सर्वसाधारण शेयर जारी गरेपछि चुक्तापुँजीको २ प्रतिशतभन्दा बढी शेयर धारण गर्ने आफ्नो संस्थापकले नाममा रहेको शेयर धितोबन्धक राखी कर्जा लिंदा यस बैंकको स्वीकृति नलिएको अवस्थामा त्यस्ता शेयरधनीहरुलाई कर्जा चुक्ता नभएसम्म बैंक तथा वित्तीय संस्थाले वितरण गर्ने नगद लाभांश वा बोनस शेयर रोक्का राख्ने।
१३. गाभ्ने, गाभिने वा प्राप्तिमा संलग्न संस्थाहरुको चुक्तापुँजीको कुल योगभन्दा गाभिएर वा प्राप्ति (एक्विजिशन) पश्चात कायम हुने संस्थाको चुक्तापुँजी कम हुने भएमा चुक्तापुँजीमा फरक हुन आउने रकम (बचत) लाई पुँजीगत जगेडा कोषमा लेखांकन गर्नुपर्ने र यस्तो रकमबाट शेयरधनीहरुलाई नगद लाभांश बाँड्न स्वीकृति नदिने।
१४. गाभिने तथा प्राप्तिसम्बन्धी लेखांकन गर्दा अदर कम्पोनेन्ट अफ इक्विटीमध्ये गाभिने वा प्राप्ति भई आउने संस्थाको एक्विजिसन डेटमा कायम रहेको विभिन्न शीर्षकका कोषहरु (सञ्चित मुनाफा सहित) र पुँजीगत जगेडा कोषबाहेक पनि रकम बाँकी हुन आएमा सो रकमलाई मर्जर÷एक्विजिसन रिजर्भमा लेखाङ्कन गर्नुपर्ने र सो रिजर्भमा भएको रकमबाट शेयरधनीहरुलाई लाभांश बाड्न स्वीकृति नदिने।
तर, गाभिने वा प्राप्ति भई उत्पन्न भएको गुडविलको हानी नोक्सानी नाफा नोक्सान हिसाबमा खर्च लेखांकन भएबराबरको रकम लाभांश वितरण गर्न पाउने।
१५. ऋणपत्र वा भुक्तानीयोग्य अपरिवर्तनीय अग्राधिकार शेयर भुक्तानी गरेपछि सोबापत भुक्तानी समायोजन कोषमा राख्नुपर्ने रकमलाई पुँजी समायोजन कोषमा रकमान्तर गरी जम्मा भएको रकमबाट बोनस शेयरमात्र जारी गर्न स्वीकृति दिन सकिने।
१६. इजाजतपत्रप्राप्त संस्थाको लेखानीतिबमोजिम लेखांकन गरिएको कर्जाको ब्याज आम्दानीमध्ये राष्ट्र बैंकको निर्देशनबमोजिम प्रोदभावी आधारमा लेखांकन गरिने ब्याज आम्दानीमध्ये आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र प्राप्त भएको ब्याज रकम बाहेकका अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानीबराबरको रकममा प्रचलित व्यवस्थाअनुसारको आयकर तथा कर्मचारी बोनस तथा वैधानिक कोष (साधारण जगेडा कोष र संस्थागत सामाजिक उत्तरदायित्व कोष) मा जम्मा गरेको रकम कट्टा गरी बाँकीे रकमलाई सञ्चित मुनाफालाई खर्च गरी नियमनकारी कोषमा जम्मा गरेको/नगरेको।
१७. निष्क्रिय वर्गमा (पुनरसंरचना र पुनरतालिकीकरणबाहेक) वर्गीकरण भएका कर्जाको भाखा नाघेको सम्पूर्ण बक्यौता (साँवा र ब्याज) रकम भुक्तानी भई ३ महिनासम्म कर्जा नियमित भएको अवस्थामा जुन वर्ग (कमसल, शंकास्पद र खराब) मा वर्गीकरण भएको छ, सोही वर्गमा वर्गीकरण गरी उक्त अवधिपछि मात्र स्तरोन्नति हुने गरी सोहीबमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गरेको/नगरेको।












