काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमाका बारेमा भ्रामक र अतिरञ्जित प्रचारप्रसार गर्ने अभिकर्तालाई कारबाही गर्ने चेतावनी दिएको छ।
प्राधिकरणले आज सोमबार इजाजतप्राप्त सबै अभिकर्ताका नाममा एउटा परिपत्र जारी गर्दै यस्तो चेतावनी दिएको हो। प्राधिकरणले बीमा ऐन, २०७९ तथा आचारसंहिताको विपरीत हुने गरी कुनै पनि किसिमका भ्रामक, अतिरञ्जित तथा अनधिकृत प्रचारप्रसार गर्ने गराउने कार्य तत्काल बन्द गर्न बीमा कम्पनी तथा सम्बन्धित मध्यस्थकर्तालाई निर्देशन दिएको छ।
भविष्यमा यस्ता गतिविधि भएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने प्राधिकरणले चेतावनी दिएको छ।
विभिन्न संस्थाको व्यवसायमा प्रतिकूल असर पर्ने गरी बीमासम्बन्धी गलत तथा प्रचारप्रसार गरिरहेको भनी प्राधिकरणमा उजुरी तथा गुनासा प्राप्त हुन आएको प्राधिकरणले जनाएको छ। बीमा अभिकर्ता निर्देशन, २०८३ को दफा १९ सँग सम्बन्धित बीमा अभिकर्ता आचारसंहिताको अनुसूची १ को २ (ज) भ्रामरण प्रचारप्रसारः आफू बीमा अभिकर्ता भएको कुनै पनि बीमकका बारेमा वा आफूले प्रतिनिधित्व गर्ने बीमकको क्षमताका बारेमा गलत तथा अतिरञ्जित प्रचारप्रसार गर्न नहुने स्पष्ट व्यवस्था रहेको छ। उक्त प्रावधानविपरीतका कार्यहरु भइरहेकोमा ध्यानकर्षण भएको प्राधिकरणले जनाएको छ।
सामाजिक सञ्जालमा बेलगाम बने बीमा अभिकर्ता, नियामक बीमा प्राधिकरण किन माैन ? – Insurance Khabar
यसअघि इन्स्योरेन्स खबरले बीमाको गलत प्रचारप्रसारबारे लगातार समाचार प्रकाशित गरेको थियो। लामो समयदेखि अभिकर्ताले सर्वसाधारणलाई सामाजिक सञ्जालमार्फत गलत ढंगले प्रचारप्रसार गर्दै बीमा बिक्री गर्दै आएका थिए।
बीमा ऐनमै नभएको ‘इन्स्योरेन्स एडभाइजर’ पद लेखेर विज्ञापन गर्दै अभिकर्ताका नेता – Insurance Khabar
इन्स्योरेन्स खबरकै समाचारको प्रभावमा नियामक बीमा प्राधिकरणले अभिकर्तामाथि कडाइ गर्न यो परिपत्र जारी गरेको हो।












