काठमाडौं । बीमा ऐन, २०७९ ले बीमकको कर्मचारीबाहेक बीमकका तर्फबाट कमिसनका आधारमा काम गर्ने इजाजतपत्र प्राप्त बीमा मध्यस्थकर्ता व्यक्ति वा संस्था सम्झनुपर्छ भनेर ‘बीमा अभिकर्ता’को परिभाषा गरेको छ।
बीमा ऐन वा नियमावलीमा बीमा मध्यस्थकर्ता र ‘बीमा अभिकर्ता’बाहेक बीमित र बीमकबीच रहेर मध्यस्थकर्ताको सेवा उपलब्ध गराउने सहजकर्ताको अन्य कुनै पदनामको प्रयोग गरिएको छैन। यस्तो व्यवस्था हुँदा–हुँदै पनि सामाजिक सञ्जालमा देखिने बीमा अभिकर्ताहरुको विज्ञापनमा बीमा ऐनमै नभएको ‘इन्स्योरेन्स एडभाइजर’ पदनाम लेख्ने गरेको पाइएको छ।

पेसागत बीमा अभिकर्ता संघ बीमक समिति नेसनल लाइफका सचिव यतिराज अधिकारीसँग इन्स्योरेन्स खबरले कानुनमै नभएको बीमा सल्लाहकार पदनामको प्रयोग किन गरेको भन्ने जिज्ञासामा उनले भने, ‘लेख्न नपाइने हो र ? मलाई केही नियम–कानुन थाहा छैन।’
नेपाल बीमा प्राधिकरणका कानुन महाशाखा प्रमुख साम्भराज लामिछानेले इजाजत प्राप्त व्यक्तिले बीमा अभिकर्ता लेख्न पाए पनि बीमासम्बन्धी सल्लाह–सुझाव दिन पाए पनि एडभाइजर पदनाम प्रयोग गर्न नपाउने बताए। उनले भने, ‘बीमा प्राधिकरणमात्र नेपाल सरकारको हकमा बीमा क्षेत्रसँग सम्बन्धित विषयमा सल्लाह दिने सल्लाहकार हो। बाँकी अरु कोही पनि होइन।’












