काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीले कुल आन्तरिक विद्युत् उत्पादनको करिब १० प्रतिशत उत्पादन क्षमतामा क्षति पुगेको उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले जानकारी दिएका छन् ।
उनले जलविद्युत गृहमा पुगेको क्षतिका कारण विद्युत् आपूर्तिमा हुन सक्ने असन्तुलनलाई ध्यानमा राख्दै नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरू माग र आपूर्ति व्यवस्थापनमा अनवरत रूपमा खटिएको बताएका छन् । अहिलेसम्म विद्युत् प्रणालीलाई सन्तुलित राख्न सफल भए पनि यति ठूलो क्षतिका कारण आगामी दिनमा थप चुनौती आउन सक्ने भएकाले आवश्यक तयारी र व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको छ।
मन्त्रालयका अनुसार, ४३१.१ मेगावाट क्षमताका १२ वटा विद्युत् उत्पादन केन्द्र बन्द भई प्रणालीबाट बाहिरिएका छन्। निर्माणाधीन १५ जलविद्युत् आयोजनामा कुल ४७० मेगावाट क्षमतामा क्षति पुगेको प्रारम्भिक विवरण छ।
यसबाहेक त्रिशूली २२० केभी ३ बी हब सबस्टेशन पूर्णरूपमा क्षतिग्रस्त भएको छ। विभिन्न १३२, ६६ र २२० केभी प्रसारण लाइन तथा टावरहरूमा समेत क्षति पुगेको छ। रसुवामा विद्युत् आपूर्ति पूर्णरूपमा ठप्प छ। नुवाकोट, धादिङ र गोरखामा आंशिक रूपमा अवरुद्ध छ।
विभिन्न आयोजना तथा संरचनामा कार्यरत १९६ जनाभन्दा बढी कर्मचारी तथा मजदूर सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण छ। खोज तथा उद्धार कार्य जारी छ। नेपाल विद्युत् प्राधिकरणका १५ वटाभन्दा बढी सवारीसाधन प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। थप उद्धार तथा प्राविधिक टोलीहरू समेत परिचालित छन्।
मन्त्री श्रेष्ठले वैकल्पिक व्यवस्थाबाट विद्युत् आपूर्ति सुचारु गर्ने, क्षतिग्रस्त संरचना मर्मत गर्ने तथा सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धार गर्ने कार्य स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँगको समन्वयमा जारी रहेको बताएका छन्।
उनले भने, क्षतिको विस्तृत विवरण संकलन तथा प्राविधिक मूल्याङ्कनसँ विद्युत् प्रणालीलाई यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक वैकल्पिक व्यवस्था, प्राविधिक टोली तथा स्रोतसाधन परिचालन गरी हरसम्भव प्रयास भइरहेको छ।












