काठमाडौं । निजी क्षेत्रबाट प्रवर्द्धित पुनर्बीमा कम्पनी, जीवन र लघु बीमा कम्पनीबाट सर्वसाधारणको पैसा हिनामिना गरेको शंकर ग्रुपले एलायन्ट रिइन्स्योरेन्स ब्रोकर्सकै शैलीमा अर्को एउटा इन्स्योरेन्स ब्रोकर कम्पनीमा पनि अपचलन गरेको प्रमाण इन्स्योरेन्स खबरले हात पारेको छ।
तहगत रुपमा कृत्रिम कारोबार खडा गरेर हिमालयन रिइन्स्योरेन्स (हिमालयन रि)को पैसा ट्रष्ट इन्स्योरेन्स ब्रोकरबाट मृदुला सरिया (इन्फोमेरिक्स नेपालकी र क्रेष्ट माइक्रोइन्स्योरेन्सको सञ्चालक) हुँदै रेनु अग्रवालमार्फत् पुनः सुलभ अग्रवालको हातमा पुगेको छ। सुलभ हिमालयन रिका प्रवर्द्धक हुन्। यो प्रकरणमा हिमालयन रिको ४ करोड ५० लाख रुपैयाँभन्दा बढी खर्च हुँदा सुलभले मृदुला सरियामार्फत ३ करोड ८० लाख रुपैयाँ बढी हात पारेका छन्।
मृदुला सरिया ट्रष्ट इन्स्योरेन्स ब्रोकरको अध्यक्ष रेनु अग्रवालको बुहारी हुन्।
कसरी भयो पैसाको तहगत कारोबार ?
ट्रष्ट इन्स्योरेन्स ब्रोकरले झापा माइती भएकी मृदुला सरियाको स्वामित्वमा झापामै रहेको जग्गा खरिद गर्न ३ करोड ८० लाख रुपैयाँ भुक्तानी गरेको छ। यो रकम मृदुलाले आफ्नी सासु आमा रेनु अग्रवालको बैंक खातामा पठाएकी छिन्। फुपुको बैंक खातामा आएको रकम सुलभ अग्रवालले झिकेर लिएका छन्।
यो पूरा प्रकरणमा ट्रष्ट इन्स्योरेन्स ब्रोकरले जग्गा खरिदबापतको भुक्तानी गरेको रकम कम्पनीकै सञ्चालक अध्यक्ष रेनुु अग्रवालको बैंक खातामा पुगेको छ। रेनु अग्रवाल सम्पत्ति शुद्धीकरणको मुद्दामा अहिले प्रहरी हिरासतमा रहेका सुलभ अग्रवालको फुपु र शंकर अग्रवालको बहिनी हुन्।
तहगत रुपमा कृत्रिम कारोबार सिर्जना गरेर हिमालयन रिबाट ट्रष्ट इन्स्योरेन्स ब्रोकर, ट्रष्ट इन्स्योरेन्सबाट मृदुला सरिया, मृदुलाबाट रेनु अग्रवाल र रेनुबाट पुनः सुलभ अग्रवालको हातमा पैसा पुर्याइएको पाइएको छ।
काठमाडौं कालिकास्थानमा मुख्य कार्यालय रहेको ट्रष्ट इन्स्योरेन्स ब्रोकर्सले काठमाडौंबाहिर पूर्वी तराईको जिल्लामा जग्गा खरिद गर्नका लागि बैना गर्नु नै शंकाको विषय बनेको छ।
हिमालयन रि र ट्रष्टबीचको कृत्रिम कारोबार
हिमालयन रिले ट्रष्ट इन्स्योरेन्स ब्रोकर्सलाई जीवन बीमा कम्पनीबाट बीमा व्यवसाय उपलब्ध गराएबापत दलाली कमिसन खर्च देखाएको छ। जीवन बीमक र पुनर्बीमकबीच प्रत्यक्ष सम्झौता भएकोमा हिमालयन रिले अवैध रुपमा बीचमा मध्यस्थकर्ता खडा गरेर ट्रष्ट इन्स्योरेन्स ब्रोकर्सलाई कमिसन रकम भुक्तानी गरेको हो।
हिमालयन रिले ४ करोड ५० लाख रुपैयाँ कमिसनबापतको रकमबाट १५ प्रतिशत कर कट्टी गरेर बाँकी रकम ट्रष्ट इन्स्योरेन्स ब्रोकर्सको खातामा भुक्तानी गरेको छ। हिमालयन रिका लागि १० वटा जीवन बीमकबाट पुनर्बीमा व्यवसाय उपलब्ध गराए कर कट्टीपछि ३ करोड ८२ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको हो।
इन्स्योरेन्स खबरसँग नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले यो विषय छानबिनकै क्रममा रहेको भन्दै थप प्रतिक्रिया दिन चाहेनन्।
यस विषयमा बुझ्न खोज्दा ट्रष्ट इन्स्योरेन्स ब्रोकर्सका प्रमुख कार्यकारी सम्पर्कमा आउन चाहेनन्। उनी भारतीय नागरिक हुन्।












