काठमाडौं । शान्ति वार्ताका लागि खाडी र मध्यपूर्वमा जारी यूद्ध रोक्न अमेरिका र इरानबीच अप्रिल १० तारेखमा पाकिस्तानको राजधानी इस्लामाबादमा वार्ता गर्ने सहमति भएको छ। वार्ताका लागि मध्यस्थता गरिरहेका पाकिस्तानी प्रधानमन्त्री शेहबाजले सामाजिक सञ्जाल एक्समा वार्ताको पुष्टी गरेका हुन्।
वार्ताका लागि दुबै पक्ष सहमत भएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुइ साताका लागि यूद्ध विरामको प्रस्ताव गरेकोमा इरानले सहमति जनाएको छ। यूद्ध विरामका लागि इरानका तर्फबाट अमेरिकासमक्ष १० बुँदे प्रस्ताव पेश गरिएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले वार्तामार्फत् समाधान नखोजे मंगलबार राती सम्पूर्ण इरान ध्वस्त बनाइ दिने धम्की सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत दिएका थिए ।
दुबै पक्षबीच सहमतिसँगै अमेरिकी राष्ट्रपतिले मंगलबार रातीका लागि घोषित आक्रमण स्थगन गरेका छन् । इरानका तर्फबाट पनि दुइ साताका लागि अाक्रमण रोकिने जानकारी गराइएको छ।
अमेरिका र इजरायलको संलग्नतामा गत फेब्रुअरी २८ तारेख देखि इरानमाथि आक्रमण शुरू भएको हो । प्रतिरक्षामा इरानले समेत इजरायलका साथै अमेरिकी सैन्य अाधार शिविर राखिएका कुवेत, इराक, बहराइन, दुबइ, कतार सहितका देशहरूमा ड्रोन र मिसाइल आक्रमण गर्दै आएको थियो।
इरानी विदेशी मन्त्रालयका अनुसार, यूद्धविराम अवधिभित्र इरानी सशस्त्र बलसँगको समन्वयमा स्ट्रेट अफ हर्मुज(हर्मुज जल डमरू) हुँदै इन्धन ढुवानीका लागि आवागमन खुला गरिनेछ।
यो सहमतिपछि विश्वभरका सरकारले तत्काल राहतको श्वास फेर्न पाएका छन्।

अलजजिरा समाचार च्यानलका अुनसार, पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले इरान र अमेरिका, उनीहरूका सहयोगीहरू सहित, बीचको युद्धविराम सम्झौतामा ‘लेबनान र अन्यत्र’ समावेश भएको र यो तुरुन्तै लागू हुने बताएका छन्।
शरिफले सामाजिक सञ्जालमा लेखेका छन्, “म यस विवेकपूर्ण इशारालाई हार्दिक स्वागत गर्दछु, दुबै देशको नेतृत्वप्रति गहिरो कृतज्ञता व्यक्त गर्दछु र सबै विवादहरू समाधान गर्न निर्णायक सम्झौताको लागि थप वार्ता गर्न अप्रिल १०, २०२६ शुक्रबार इस्लामाबादमा उनीहरूका प्रतिनिधिमण्डलहरूलाई आमन्त्रित गर्दछु।”
उनले जोड दिए कि दुबै पक्षले “उल्लेखनीय बुद्धिमत्ता र समझदारी” प्रदर्शन गरेका छन् र यो मध्यस्थतामा शान्ति र स्थिरताको पहललाई अगाडि बढाउन रचनात्मक रूपमा संलग्न छन्।
“हामी हार्दिक आशा गर्छौं कि ‘इस्लामाबाद वार्ता’ दिगो शान्ति प्राप्त गर्न सफल हुनेछ र आगामी दिनहरूमा थप राम्रो समाचार साझा गर्न चाहन्छौं,” शरीफले भने।
यो यूद्धका क्रममा इन्धन निर्यातका लागि रणनीतिक मानिएको खाडी मुलुकबाट निर्यात हुने इन्धन, रासायनिक मलको कच्चा पदार्थ र हिलियम ग्याँसको आपूर्ती अवरूद्ध हुँदा विश्वभर इन्धन अभाव चर्किएको थियो। इन्धनको भाउ पनि आकाशिएको थियो।












