काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले लामो समयदेखि पाँच वटा बीमाको मृत्यु दाबीवापतको रकम दाबी भुक्तानी नगरेको विषय इन्स्योरेन्स खबरले प्रकाशमा ल्याएपछि चारवटाको दाबी भुक्तानी दिएको छ ।
बीमित पक्षसँग मेलमिलापका लागि सहमति गरेपछि पनि दाबी भुक्तानी नदिएर प्रमुख कार्यकारी श्रेष्ठले उनीहरुलाई झनै प्रताडित बनाएका थिए । सहमति गरिएकोमा लाख देखि करोडको अंकसम्मको बीमा दाबी थियो ।
नेपाल बीमा प्राधिकरणको मध्यस्थकर्ता व्यवस्थापन शाखामा बीमित पक्षसँग दाबी भुक्तानी दिने सहमति गरेर बाहिरिएका प्रमुख कार्यकारी अधिकृत(सीइओ) दिनेश लाल श्रेष्ठले रकम भुक्तानीको प्रकृया नै अघि बढाएनन् ।
मेलमिलापको सहमति भएपछि पनि दाबी वापतको रकम भुक्तानी नपाएपछि बीमित पक्ष दिनदिनै प्राधिकरणमा भनसुनका लागि धाउन बाध्य भएका थिए ।
महिनौंसम्म बीमितले दाबी भुक्तानी नपाएपछि एशियन लाईफका सीइओलाई स्पष्टीकरण सोध्ने तयारी
एशियन लाईफको दाबी विभागलाई प्राधिकरणको तर्फबाट दाबी सम्बन्धमा प्रगतीबारे जानकारी माग गर्दा सीइओ बिदामा रहेको, देश बाहिर रहेको, अनुसन्धान भइरहेको भन्दै टार्ने प्रयास गरिएको थियो ।
बीमितलाई अनावश्यक दुःख दिएको भन्दै चौतर्फी गुनासो आएपछि प्राधिकरणले प्रमुख कार्यकारी अधिकृतलाई लिखित स्पष्टीकरण सोध्ने तयारी गरेको समाचार शनिबार इन्स्योरेन्स खबरले प्रकाशन गरेको थियो ।
समाचार प्रकाशन भएको दुई दिनभित्र सोमबार इन्स्योरेन्सले पाँच मध्ये चारवटाको दाबी भुक्तानी फछ्र्यौट गरेको छ । बाँकी एउटा दाबीमा बीमित पक्षबाट पटक पटक दाबी भएको देखिएकाले अनुसन्धानका लागि एशियन लाईफले प्राधिकरणसँग थप मोहलत मागेको छ ।
बीमित पक्षको उजुरी, प्राधिकरणको मध्यस्थता र निरन्तर दबाबपछि मात्र मृत्यु दाबी भुक्तानीको रकम गर्दा एशियन लाईफको हकमा मात्र नभएर समग्र जीवन बीमा कम्पनीको विश्वसनीयतामा नै नकारात्मक प्रभाव पार्छ ।

















