काठमाडौं । आर्थिक वर्ष २०८०/ ८१ का लागि हालसम्म २ वटा जीवन बीमा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन् । हालसम्म नेपाल लाइफ र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेका हुन् । यी कम्पनीहरुले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमा कम्पनीले २० प्रतिशत नै नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यस कम्पनीले साधारण सभा पनि सम्पन्न गरिसकेको छ ।
यता नेपाल लाइफ इन्स्योरेन्सले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल २१ दशलमव ०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमा कम्पनीले १० प्रतिशत बोनश शेयर वितरण गर्नेछ भने ११ दशलमव ०५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । यस कम्पनीले भने माघ १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ ९ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।
कम्पनीले २५ औँ वार्षिक साधारणसभा माघ २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा पर्साको वीरगन्जस्थित होटल भिष्वामा बिहान ९ बजेबाट सुरु हुनेछ।