काठमाडौं । हिमालयन टाइम्स मिडियाले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशनको प्रस्ताव गर्दै असोज २७ गते प्रथम वार्षिक साधारण सभा आब्हान गरेको छ । असोज ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सर्वसाधारणमा आइपीओ निष्काशनको प्रस्ताव सभामार्फत पारित गर्ने निर्णय गरेको हो ।
सभा दुसित प्रिन्सेस होटल लाजिम्पाट ,काठमाडौंमा दिउँसो ४ बजे हुने जनाएको छ । सभाले आइपीओ निष्काशन प्रस्तावसँगै बोनश शेयर जारी गर्ने र कम्पनीको अधिकृत तथा जारी पूँजी बृद्धि गर्ने प्रस्ताव समेत पारित गर्नेछ । गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्तीको विषय पनि सभाले पारित गर्नेछ ।
सञ्चालक निर्वाचनको कार्यक्रम समेत सभाले अनुमोदन गर्ने जनाएको छ । यस अघि नेपाल रिपब्लिक मिडिया लिमिटेडले आइपीओ निष्काशन गरि दोस्रो बजारमा कारोबार सुरू भइसकेको छ । कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले पनि प्रिमियममा आइपीओ निष्काशन गर्ने प्रस्ताव गरेको छ ।