काठमाडौं । बजारमा पाइने ‘एनर्जी ड्रिंक’ ले तत्काल ताजगी, जागरुकता र शारीरिक मानसिक क्षमता बढाउने सन्देश दिन्छ। आकर्षक प्याकेजिङ, खेलकुदसँगको सम्बन्ध, युवामुखी प्रचार र डिजिटल माध्यमको प्रयोगले यस्ता पेय पदार्थलाई युवा पुस्तामाझ लोकप्रिय बनाइरहेको छ। तर, यसको नियमित र अत्यधिक सेवनले स्वास्थ्यमा कस्तो असर पार्न सक्छ?
सन् 2025 मा Selcuk Journal of Agriculture and Food Sciences मा प्रकाशित खाद्य इन्जिनियर Hüdayi Ercoşkun को समीक्षा अध्ययनले यही प्रश्नलाई ऊर्जा पेयका संघटक, उपभोगको प्रवृत्ति, स्वास्थ्य प्रभाव र नियमनको अवस्थासँग जोडेर विश्लेषण गरेको छ। अध्ययनले विशेषगरी क्याफिन, चिनी, ताैरिन (taurine), र गुआरना (guarana) लगायतका सक्रिय संघटक र तिनको सम्भावित स्वास्थ्य प्रभावबारे उपलब्ध वैज्ञानिक प्रमाणको समीक्षा गरेको छ।
अध्ययनको निष्कर्ष स्पष्ट छ, समस्या एनर्जी ड्रिंकको नाममा मात्र होइन, त्यसमा रहेका उत्तेजक तथा अन्य तत्वसँगको मात्रा, सेवनको आवृत्ति र दीर्घकालीन तथा अत्यधिक प्रयोगमा छ। स्वस्थ वयस्कले सीमित मात्रामा सेवन गर्दा अनिवार्य रूपमा गम्भीर स्वास्थ्य समस्या हुन्छ भन्ने निष्कर्ष अध्ययनले निकालेको छैन। तर, बारम्बार र अनियन्त्रित सेवन, विशेषगरी किशोर तथा युवामा, सार्वजनिक स्वास्थ्यको चिन्ताको विषय बन्न सक्ने देखाएको छ।
क्याफिन ‘जागा वा अनिंदो’ राख्ने तत्व, तर शरीरलाई पनि उत्तेजित गर्ने
एनर्जी ड्रिंकमा मिसाइएको मुख्य सक्रिय संघटकमध्ये क्याफिन एक हो। समीक्षा अध्ययनअनुसार विभिन्न एनर्जी ड्रिंक मा क्याफिनको मात्रा निकै फरक पाइन्छ । केही उत्पादनमा प्रति क्यान करिब ५० मिलिग्राम देखि ५०५ मिलिग्रामसम्म पनि देखिएको छ। अध्ययनले सामान्य रूपमा सेवन हुने केही ब्रान्डमा करिब १६० मिलिग्राम प्रति serving सम्म क्याफिन रहेको उदाहरण प्रस्तुत गरेको छ।
क्याफिनले मस्तिष्कमा adenosine प्रापकलाई अवरुद्ध गरेर थकानको अनुभूति कम गर्ने र जागरुकता बढाउने काम गर्छ। यही कारण एनर्जी ड्रिंक सेवन गरेपछि केही समयका लागि शरीरमा ‘ऊर्जा बढेको’ अनुभूति हुन सक्छ। तर, समीक्षा अध्ययनले अत्यधिक क्याफिन सेवनलाई मुटुको धड्कन बढ्ने, धड्कन अनियमित हुने, बेचैनी, चिन्ता, निद्रा बिग्रिने तथा पेटसम्बन्धी समस्यासँग जोडेको छ।
चिनीको मात्रा पनि अर्को ठूलो प्रश्न
एनर्जी ड्रिंकमा मिसाइने अर्को हानिकारक तत्व हो चिनी। समीक्षा अध्ययनमा केही एनर्जी ड्रिंकमा को एक क्यानमा ५० देखि ६२ ग्रामसम्म चिनी हुनसक्ने उल्लेख छ। अध्ययनले दीर्घकालीन रूपमा अत्यधिक चिनी सेवनलाई मोटोपना, इन्सुलिन प्रतिरोध, टाइप–२ मधुमेह तथा हृदयसम्बन्धी रोगसँग जोडिएको वैज्ञानिक प्रमाण प्रस्तुत गरेको छ। अर्थात्, एनर्जी ड्रिंकबाट आउने जोखिम केवल क्याफिनसँग सम्बन्धित छैन। कुनै व्यक्ति नियमित रूपमा धेरै चिनी भएको एनर्जी ड्रिंक सेवन गर्छ भने त्यसबाट प्राप्त हुने अतिरिक्त चिनी पनि उसको समग्र आहारको हिस्सा बन्न पुग्छ।
ताैरिन र गुआराना पनि किन चर्चामा छन्?
एनर्जी ड्रिंक मा क्याफिन र चिनीबाहेक ताैरिन, र गुआरना जस्ता तत्व पनि प्रयोग हुने गरेको अध्ययनले उल्लेख गरेको छ। ताैरिन शरीरमा प्राकृतिक रूपमा पाइने amino acid हो र यसले विभिन्न जैविक प्रक्रियामा भूमिका खेल्छ। तर एनर्जी ड्रिंकमा अन्य उत्तेजक तत्वसँग मिसिएर प्रयोग हुँदा दीर्घकालीन तथा संयुक्त प्रभावबारे अझै पर्याप्त ज्ञान नभएको अध्ययनको निष्कर्ष छ।
त्यस्तै, गुआरनाआफैं क्याफिनको स्रोत भएकोले उत्तेजक प्रभाव थपिन सक्ने अध्ययनले उल्लेख गरेको छ। विभिन्न उत्तेजक एकै उत्पादनमा हुँदा तिनको संयुक्त प्रभावबारे थप अनुसन्धान आवश्यक रहेको समीक्षा प्रतिवेदनले औंल्याएको छ।
मुटुदेखि निद्रासम्म असर
समीक्षा अध्ययनले एनर्जी ड्रिंक को अत्यधिक सेवनसँग सम्बन्धित छोटो अवधिका विभिन्न प्रभाव उल्लेख गरेको छ।
यसमा मुटुको धड्कन बढ्नु, हातखुट्टा काम्नु, बेचैनी, स्नायु उत्तेजना, पेटसम्बन्धी समस्या र निद्रा बिग्रिनु पर्छन्। क्याफिनप्रति संवेदनशील व्यक्तिमा डर, थकान र चिटचिटपन अझ बढी देखिन सक्ने अध्ययनमा उल्लेख छ। अपरान्ह वा साँझको समयमा एनर्जी ड्रिंक सेवन गर्दा निद्राको प्राकृतिक चक्रमा असर पुग्नसक्ने र अनिद्राको समस्या निम्तिन सक्ने पनि अध्ययनले उल्लेख गरेको छ।
दीर्घकालीन तथा अत्यधिक सेवनको सन्दर्भमा समीक्षा अध्ययनले मुटुरोग, स्नायुरोग, पाचनसम्बन्धी रोग, मृगाैला रोग तथा मानसिक रोगका जोखिमसँग सम्बन्धित वैज्ञानिक प्रमाणलाई समेटेको छ। तर यहाँ पनि मुख्य शब्द ‘अत्यधिक सेवन’ हो।
किशोरमाथि किन बढी ध्यान
एनर्जी ड्रिंक्सको विषयमा अध्ययनले सबैभन्दा बढी ध्यान दिएको समूहमा किशोर र युवा पर्छन्। उनीहरू बढी सेवन गर्छन् भन्ने मात्र होइन। क्याफिनप्रतिको संवेदनशीलता, निद्रा तथा व्यवहारमा पर्ने प्रभाव र कम उमेरमै नियमित सेवनको सम्भावनाले उनीहरूलाई विशेष चिन्ताको समूह बनाएको अध्ययनले देखाउँछ।
समीक्षाले बारम्बार एनर्जी ड्रिंक्स सेवन गर्ने किशोरमा अनावश्यक जोखिम मोल्ने तथा अन्य पदार्थको उपभोग समेत गर्नेसँग सम्बन्ध देखाउने पूर्व प्रकाशित अध्ययनहरू पनि समेटेको छ।
यही कारण अध्ययनले युवालाई लक्षित स्वास्थ्य शिक्षा, स्पष्ट उत्पादन विवरण र बजारीकरण नियन्त्रणलाई महत्वपूर्ण मानेको छ।












