काठमाडौं । नेपाल बीमा प्राधिकरणले सञ्चालन गरेको बीमा अभिकर्ताको अनलाइन परीक्षामा नक्कली परीक्षार्थी सहभागी गराउने ५२ जना परीक्षार्थीविरूद्ध कारवाही गरेको छ । प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै ती परीक्षार्थीहरूको परीक्षा रद्द गर्नुका साथै आगामी तीन महिनासम्म परीक्षामा सहभागी हुन नपाउने गरी रोक लगाएको हो ।
प्राधिकरणका अनुसार बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा सञ्चालन सम्बन्धी निर्देशिका, २०७९ विपरीत कार्य गरेको पाइएकाले कारवाही गरिएको हो । अनलाइन परीक्षाका क्रममा अनलाइन प्रणालीमा प्रविष्ट गरिएको फोटोमा भएको व्यक्तिभन्दा फरक व्यक्ति परिक्षामा सहभागी भएको फेला परेपछि कारवाहीको निर्णय गरिएको उपनिर्देशक सबिता थापाले जानकारी दिएकी छिन् ।
यस सम्बन्धमा प्राधिकरणले सम्बन्धित बीमकहरूसँग स्पष्टीकरण माग गर्दा चित्तबुझ्दो जवाफ नआएपछि निर्देशिकाको दफा ८ को उपदफा ५ बमोजिम परीक्षा रद्द गरिएको हो । साथै, उपदफा ६ बमोजिम उनीहरूलाई तीन महिनाका लागि परीक्षाबाट वञ्चित हुने गरी कालोसूचीमा समेत राख्ने निर्णय गरिएको प्राधिकरणले जानकारी दिएको छ ।
कारबाहीमा पर्ने ५२ जना परीक्षार्थीहरू विभिन्न बीमा कम्पनीहरूसँग आबद्ध रहेका थिए । उनीहरूमध्ये नेपाल लाइफका ८ जना, प्रभु महालक्ष्मी लाइफका ७ जना, रिलायबल नेपाल लाइफका ६ जना, सूर्य ज्योति लाइफका ५ जना, आईएमई लाइफ ५ जना रहेका छन् । यसबाहेक नेशनल लाइफ, सिटिजन लाइफ, सानिमा रिलायन्स, हिमालयन लाइफ, एशियन लाइफ र सन नेपाल लाइफका अभिकर्ता परीक्षार्थीहरू पनि कारवाहीमा परेका छन् ।
प्राधिकरणले परीक्षाको मर्यादा कायम राख्न र स्वच्छ प्रतिस्पर्धा सुनिश्चित गर्न यस्तो कदम चालेको जनाएको छ । उप निर्देशक थापाद्वारा हस्ताक्षरित प्राधिकरणको विज्ञप्तीमा परिक्षामा अनियमित कार्य गर्नेलाई भविष्यमा समेत कडा निगरानी गरिने चेतावनी दिइएको छ ।












