IME Life
Beema Board

अभिकर्ता सचिन राउतको नजरमा बीमा गरिबी निवारणको मुख्य खम्बा हो

SPIL
NIC ASIA

काठमाडौं । सचिन राउत बीमा क्षेत्रमा परिचित नाम हो । सचिन हाल सिटिजन लाइफमा एजेन्सी म्यानेजरका रुपमा कार्यरत छन् । उनले सहरमा मात्रै नभई दूरदराजमा पनि बीमा शिक्षा पुर्याउन पहल गर्दै हिँडेका छन् । २०५६ सालमा जन्मिएका सचिनको बाल्यकाल बर्दिबास नगरपालिका–१३ बिजलपुरामा बित्यो । सचिनले आफ्नो जन्मथलोबाटै एलएलसीसम्मको अध्ययन पूरा गरे । सामान्य परिवारमा जन्मिएका सचिन एसएलसीपछि एग्रिकल्चर पढ्नका लागि दोलखा जिल्लाको जिरी पुगे । त्यहाँ २ वर्षको अध्ययन सकेपछि सचिन काठमाडौंमा सरकारी जागिर खाने दौडमा लोकसेवा पढ्न सहर पसे । अहिले सचिन लोकसेवा पढ्दै बीमा गराउँदै हिँड्ने गरेको बताउँछन् ।

अहिले सिटिजन लाइफमा आबद्ध भई नेपालभरि कार्यरत अभिकर्तामध्ये सफल अभिकर्ताका रुपमा चिनिएका छन्, सचिन। उनले जीवन बीमा अभिकर्ता पेसा अपनाएको करिब साढे २ वर्ष भयो । अभिकर्ता पेसामा लागेको छोटो समयमा नै सचिन आबद्ध भएको कम्पनीमा कार्यरत अभिकर्ताहरुका माझ छुट्टै पहिचान बनाउन सफल भए । सचिनले फागुन महिनाभरि हरेक दिन एउटा बीमा जारी गरेका थिए।

Prabhu
Crest

बीमाको पहुँचबाट दूरदराजमा रहेका जनतालाई बीमा साक्षरता दिन उनी सफल छन् । करकापले भन्दा पनि स्वतःस्फुर्त रुपमा बीमा गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा सचिनले जोड दिने गरेका छन्। ‘बीमा बेच्नेभन्दा पनि बीमा बुझाउने अभियान चलाउनुपर्छ’, सचिनले भने ।

सचिन यसरी जोडिए अभिकर्ता पेसामा
पढ्नमा अधिक रुचि राख्ने सचिन प्लस टु गरेपछि काठमाडौंमा आई लोकसेवा तयारी गरेर बसेका थिए । पढ्दै गर्दा महिनामा १५ हजारको जागिर पाए पनि दिउँसोभर खटेर काम गर्थें भन्ने मनासय सचिनमा थियो । ‘ढुंगा खोज्दा देउता मिले’झैँ सचिनको भाडाको कोठनजिकै घर रहेकी निरु केसी दिदीसँग भेट भयो । उनी सिटिजन लाइफकै एजेन्स म्यानेजर रहिछन्। निरुले दिउँसोभर पढेर बस्ने सचिनलाई ‘भाइ विद्यार्थीहरुका लागि अभिकर्ता पेसा एकदमै ठीक हुन्छ । पढाईलाई समय दिन पनि सकिने, आम्दानी पनि हुने, तिमी अभिकर्ता बनेर काम गर’ भन्ने सुझाव दिइन् । पढाइसँगै पैसा कमाउन खोजिरहेका सचिनका लागि निरु दिदीको कुरा ठीकै लाग्यो ।

‘पैसा पनि हुने, पढ्न पनि समय मिल्ने, यो पेसा कस्तो रहेछ बुझेर हेर्छु’ भन्ने प्रतिक्रिया उनले निरुलाई दिए । त्यसलगत्तै सिटिजन लाइफले ३ दिने अभिकर्ता तालिम सञ्चालन गरेको रहेछ । त्यसपछि सचिन तालिममा सहभागी भए। तालिम लिएपछि सचिनलाई यो पेसा गर्न सकिने रहेछ भन्ने आँट आयो । अन्ततः सचिनले लाइसेन्स लिएर काम गर्न थाले । निरु दिदीसँगको भेट नै सचिनका लागि जीवनकै टर्निङ प्वइन्ट बन्यो । आज सचिनले यो पेसाबाट आम्दानी गरी घरपरिवार सबैको जिम्मेवारी लिएका छन् । पढ्न पनि पाएका छन् ।

सचिनले काठमाडौं स्वयम्भु शाखाबाट अभिकर्ता बनी काम सुरु गरे। काम गर्दै जाने सिलसिलामा सचिनलाई काठमाडौंबाट काम गर्न अलि असहज भयो । उनले भनेजस्तो व्यापार गर्न सकेनन् । त्यसपछि उनका भगवानरुपी दिदी निरुले आफ्नै ठाउँ बर्दिबासमा गएर काम गर न त ट्राई गर भनेपछि सचिन आफ्नै ठाउँमा गई बीमा व्यापार गर्न थाले । ‘त्यसपछि मलाई अन्यत्रभन्दा आफ्नै गाउँठाउँमा काम गर्न सजिलो भयो, साथीभाइ, छरछिमेक सबैले विश्वास गरे’, सचिन भन्छन्, ‘निरु दिदीले गर्दा नै म आज यस ठाउँमा छु । दिदीले मलाई यो वातावरण बनाइदिनुभयो । त्यसका लागि म धेरै आभारी छु ।’ पहिलो बीमा आफ्नै दाइको गराएको हुनाले खासै गाह्रो नभएको सचिन बताउँछन् ।

आज पनि नेपाली समाजमा जीवन बीमाको प्रस्तावलाई सहजै स्वीकार गर्ने मानिसहरु नरहेको सचिनको भोगाइ छ । ‘मरेपछि काम लाग्ने पैसा के काम ?’ भन्ने शब्द अझै पनि नेपाली समाजमा जरो गाडेर रहेको तितो तर सत्य, यथार्थपूर्ण कुरा सचिनले साटे । आफू बीमा प्रस्ताव लिएर जाँदा ‘ए तँ पनि यो पेसामा लागिस्’ भन्ने प्रश्न चिह्न उठाउने गरेको उनले बताए । तर, बीमा जीवनकै अमूल्य चिज हो भनेर मानिसहरुले किन नबुझेको भन्दै सचिन गुनासो गर्छन्। ‘बीमा बुझे त सबैका लागि राम्रो भविष्य नै हो’, उनले भने ।

बीमाको महत्व
सचिन जीवन बीमालाई परिभाषित गर्दै संसारभित्र बीमा होइन बीमाभित्र संसार अडिएको छ बताउँछन्। ‘बीमा गरिबी निवारणको मुख्य खम्बा हो । जीवन बीमाले जीवन होइन पुस्ता नै परिवर्तन गरिदिन्छ’, उनले भने, ‘एउटा घरको अभिभावकको अनुपस्थितिमा घरको गाँस, बास र कपासको सुरक्षित बीमाले गर्दछ। त्यसकारण बीमा सबैका लागि महत्वपूर्ण छ ।’

जीवन बीमाको महत्वबारे प्रकाश पार्दै सचिन भन्छन्, ‘जीवन बीमा नबुझ्दा केही होइन, बुझ्दा सिंगो संसार हो । बीमाले देश विकासका लागि पुँजी निमार्णको काम पनि गर्दछ ।’

अभिकर्ता पेसा समाज सेवा
बीमा अभिकर्ता पेसालाई परिभाषित गर्दै सचिन समाज सेवामध्येको उत्कृष्ट पेसा भनेको नै अभिकर्ता नै रहेको बताउँछन्। ‘अरु समाजसेवा गर्दा आफ्नै खल्तीबाट रकम झिकेर, गोजी रित्याएर, घरबार रित्याएर गर्नुपर्छ र पनि वास्तविक समाजसेवा त्यहाँ पाइँदैन’, उनी भन्छन्, ‘तर, यो समाजसेवा भने बीमित, कम्पनी तथा देशका लागि नै लाभान्वित छ । बीमा भनेको बहुमुखी फाइदा हो । अरुलाई दान दिएरभन्दा पनि अरुलाई सहज वातावरण सिर्जना गरेर गरिने पेसा नै अभिकर्ता पेसा हो ।’

अभिकर्तामा हुनुपर्ने गुण
पब्लिकहरुसँग बोल्न सक्ने खुबी एक असल बीमा अभिकर्तामा हुनुपर्ने सचिनको अनुभव छ । ‘साथै, बीमासम्बन्धी सबै खाले ज्ञान हुनुपर्छ । जुनसुकै अभिकर्तामा पनि बीमासम्बन्धी ज्ञान, लगनशीलता, मिलनसारलगायतका गुण हुनुपर्छ’, उनी भन्छन्। अभिकर्ता पेसाामा लागेका थोरै मान्छे मात्रै यस क्षेत्रमा टिक्न सक्ने सचिनको अनुभव छ । ‘यो पेसामा धैर्यता चाहिन्छ’, उनले भने, ‘आजको भोलि नै प्रतिफल पाइने पेसा अभिकर्ता पेसा होइन । यो पेसामा टिक्न नसक्नु नै मुख्य चुनौती हो । धैर्यतालाई जसले साथ दिन्छन्, त्यो सफल हुन्छ।’

नवप्रवेशीलाई सचिनको सुझाव
अभिकर्ता पेसामा प्रवेश गर्न चाहने व्यक्तिहरुलाई लक्षित गर्दै सचिनले अभिकर्ता पेसामा धेरै सम्भावना रहेको बताए । नेपालको बीमा बजारलाई बुझेर यो पेसामा प्रवेश गर्ने व्यक्तिहरु सफल हुन सक्ने उनको तर्क छ । ‘समय दिएर यो क्षेत्रमा भएका सम्भावनाका बारेमा अध्ययन गरेर आत्मविश्वासका साथ अभिकर्ता पेसामा प्रवेश गर्नेहरुको भविष्य उज्ज्वल हुन्छ’, उनले सुझाव दिँदै भने, ‘पढाइलाई समय दिएर आम्दानी गर्न सकिने भएकाले विद्यार्थीका लागि त यो पेसा झनै उत्कृष्ट छ।’

सचिनले सोचेभन्दा बढी उपलब्धी यो क्षेत्रमा पाएको बताउँछन् । ‘मैले सोचेको भन्दा धेरैको साथ, मान र सम्मान पाएको छु’, सचिन भन्छन्, ‘बीमा अभिकर्ता पेसामा सफल हुनका लागि टिम वर्कको पनि ठूलो भूमिका हुन्छ । राम्रो लिडिङको खाँचो हुन्छ । जुन लिडिङ मैले यस कम्पनीमा पाएको छु । त्यसैले म सफल छु।’

सचिनले २०२५ मा एमडीआरटी बन्ने लक्ष्यसहित काम गरिरहेका छन् । उनले सिटिजन लाइफबाट सिल्भर क्लबमा क्वालिफायर बन्ने मौका पाए । हिरो अफ द मन्थ पनि बन्न सफल भए । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिममा सहभागी हुने मौका पाए । सचिन भन्छन्, ‘म यो पेसाप्रति धेरै सन्तुष्ट छु ।’

सचिन आफू यो पेसामा सफल हुनुमा धेरैको हात रहेको बताउँछन्। ‘मलाई परिवारले धेरै सहयोग गर्नुभएको छ । म २–३ दिन हराउँदा पनि मलाई परिवारले कामकै लागि गएको होला भनेर विश्वास गर्नुभएको छ’, उनले भने, ‘हुन त ममी हस्पिटल भर्ना हुँदा पनि म बीमा गराउन गएको छु । मैले परिवारभन्दा धेरै माथि बीमालाई दिएको छु ।’

सचिनले थपे, ‘मलाई यो क्षेत्रमा सहयोग गर्नेमा बुवा दिनेश्वर राउत, आमा नयनकुमारी देवी, टिम लिडर निरु केसी, म्यानेजमेन्ट टिम, बर्दिबास एरियाको चिफ बिजनेस अफिसर, एरिया ब्रान्च म्यानेजर, ब्रान्च म्यानेजर रोहित भट्टराईलगायत मलाई सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्छु, किनकि म सबैको हात र साथले सफल भएको हुँ ।’

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS