IME Life New

चैतसम्म चुप लागेर ठेक्का सुरु गर्छौ भन्नेलाई अर्थमन्त्री महतले लगाए रोक, असारे विकासको अन्त्य !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यस पटकदेखि असारे विकास खासै नदेखिने भएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले ९ महिनासम्ममा ठेक्का सुरु नगर्ने आयोजनाको स्रोत निकासा बन्द गरिदिएका छन् । अर्थमन्त्री महतले अर्थसमितिमा भएको छलफलका क्रममा ९ महिनापछि स्रोत रिलिज गरिदिनु पर्यो अव ठेक्का लगाउछौं भन्दै आउनेलाई रोकिएको बताएका छन् ।

उनले भने ‘कार्यान्वयन हाम्रो मूल चुनौति हो । ९ महिनापछि स्रोत रिलिज गर्दिनुपर्यो, अब हामी ठेक्का लगाउँछौं भनेर आउँछन् । त्यसलाई मैले रोकिदिएको छु । ९ महिनासम्म के गरेर बस्यो ?’ बजेट लगत्तै असार मसान्तसम्मको अवधिमा बजेट कार्यान्वयनको काम सुरु गर्ने महतले बताएका छन् ।

Esewa
Crest

९ महिना भित्र सबै कुराहरु सक्ने गरी कार्यतालिका बनाउने गरि गृहकार्य भइरहेको महतले जानकारी दिए । मन्त्री डा. महतले भने, ‘यो भयो भने हाम्रो पूँजीगत खर्चको प्रभावकारिता बढ्छ । पूँजी प्रवाह बढ्छ, यसले आर्थिक वृद्धिदरलाई मद्दत गर्छ भन्ने विश्वास मैले लिएको छु । समग्र उद्योग व्यवसाय, समग्र अर्थतन्त्रको कुरा गरेको हुँ, एउटा व्यक्ति, व्यवसायको फाइदाका लागि मबाट केही हुँदैन । पूँजीगत खर्च, राजश्व परिचालनले गुणस्तरीय उत्पादन यसबाट हुन्छ कि हुँदैन भन्ने मेरो सम्पूर्ण ध्यान केन्द्रित हुनेछ । मैले आफ्नो टिममा यी कुरा बलियोसँग राखेको छु । सिस्टमबाट आएका कुरा ठीक छन् कि छैनन यी सबै कुरा दिनरात म हेरिरहेको छु, यहाँ राजनीतिक दल यो वा त्यो भनेर हेरेको छैन । यहाँ देश र जनताको कुरा छ । म व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गर्छु ।’

‘यही उत्पादन कसरी बढाउने भन्ने कुरालाई प्राथमिकतामा राख्नुपर्छ । नेपालमा अहिले जुन उद्योग व्यवसाय छ, त्यसमा धेरैजसो हाम्रो भ्यालु एडसिन कम छ । हामी चाहन्छौं, यो भ्यालु एडिसन ज्यादा भन्दा ज्यादा देशभित्र नै होस् भन्ने कुरा प्राथमिकतामा रहन्छ । नेपाली उद्योग व्यवसायीलाई प्रमोट गर्ने जस्ता कुरालाई आउँदो बजेटमा प्राथमिकता दिन्छौं, बढीभन्दा बढी नेपाली उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने नीतिमा हामी जान्छौं, मन्त्री डा. महतले भन्नुभयाे, ज्ञानलाई सम्पूर्ण रुपमा उपयोग गरेर सिस्टममा भएको समस्यालाई धकेल्ने हो । समस्यालाई कसरी धकेलेर बाहिर निकाल्ने हो भन्ने कुरामा सबै जानकार हुनुहुन्छ ।’

‘अहिले राजस्व कम उठ्यो, त्यही आधारबाट माथि उठेर हामीले कामको सुरुवात गरेका छौ । राजस्व घटेको स्थानमा मैले हेरिरहेको छु । ती कुरालाई हामी सुधार गर्छौ । यति गर्दागर्दै पनि यो आर्थिक वर्षमै गति लिएर ३५–४० प्रतिशत बढी राजस्व उठाउन सक्छु भन्ने अवस्था छैन’ अर्थमन्त्री डा. महतले भने, ‘वैदेशिक ऋणले हाम्रो अर्थतन्त्रलाई सहयोग पुगेको छ कि छैन ? यसको समीक्षा हुन जरुरी छ । यो समीक्षा गरेर हाम्रो आवश्यकताअनुसार ल्याउन आजको भोलि नै सम्भव छैन । यसको पनि सीमा छ, योसँगै हामीले खर्च गर्ने क्षमता पनि देखाउन आवश्यकता छ ।’

‘हाम्रो साउँ व्याज एकदमै बढ्दै गएको छ । भूकम्पका बेलामा लिएको ऋणको पनि भुक्तानी भइसकेको छैन । ऋण भुक्तानीमा हामीले ध्यान केन्द्रित गर्न थाल्यौ भने साधारण र पूँजीगत खर्चमा दबाब सिर्जना हुन्छ । प्रशासनिक खर्चको सीमा छ, सामाजिक सुरक्षा खर्च हटाउन सक्दैनौं । सार्वजनिक स्वास्थ्य शिक्षाको लगानी कटाउन सक्दैनौं । यस बीचमा हामी ऋण भुक्तानीको दायित्वबाट हामी भाग्न सक्दैनौं । यो जति दबाब बढ्दै जान्छ, हाम्रो आन्तरिक आवश्यकतामा दबाब पर्छ । पूँजीगत खर्च गर्नुपर्ने चौतर्फी मागलाई सम्बोधन गर्न हामीसँग श्रोत सीमित छ । यो असन्तुलनको बीच हामीले काम गर्नुपर्ने आवश्यकता छ । मेरो आधारसहितको तर्कलाई माननीयज्यूहरुले बुझिदिनु हुनेछ’ मन्त्री डा. महतले भने ।

‘मेरो क्षमता, योग्यताले ल्याएसम्म, मेरो ज्ञान र अनुभवले भ्याएसम्म यो सिस्टममा देखिएको समस्या एकैपटक समाप्त हुँदैन, तर त्यसलाई एउटा ढुंगा पन्छाउँदै, अर्को ढुंगा पन्छाउँदै स्पष्ट मार्गचित्र कोर्ने हो, मन्त्री डा. महतले भने, ‘इमान्दार र समर्पणका साथ काम गर्दै जाने हो, तपाईंहरुको सहयोग चाहिन्छ, शंका गर्नुस्, प्रश्न उठाउनुस् । तर, यसले गम्भीरताका साथ प्रयास गरेको छ भन्ने कुरा एउटा कुनामा स्पेस राख्न अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS