जीवन बीमा भन्नेबित्तिकै तपाइँको दिमागमा के आउँछ ? एक निश्चित बीमांक रकम, निश्चित अवधि, अवधि भरमा तिर्न पर्ने बीमांक रकमबराबरको बीमाशुल्क र मृत्युमा वा अवधिको समाप्ति बोनस सहित फिर्ता आउने रकम। अनि निर्जीवन बीमाभन्दा मोटर साइकललगायतका सवारीसाधन वा अन्य कुनै सम्पत्तिको बीमा, सम्पत्ति मूल्यअनुसारको बीमांक रकम र बीमांक रकमको तुलनामा एकदम थोरै पर्न आउने बीमा शुल्क, दुर्घटनाका कारणले आर्थिक नोकसान भएको खण्डमा नोकसान भएको मूल्यबापतको क्षतिपूर्ति।
आममानिसले निर्जीवन बीमा भन्ना साथ दुर्घटनाका कारणले क्षति भएको खण्डमामात्र क्षतिपूर्ति पाइने विशुद्ध जोखिम बहनको बीमा बुझेको पाइन्छ भने जीवन बीमाको हकमा भने बीमा अवधिको अन्त्यमा बोनससहितको रकम पनि फिर्ता आउने जोखिम बहन सँगसँगै बचत पनि हुने बचतसहितको बीमा बुझेको पाइन्छ। जोखिम बहनसँगै बीमांक रकम र बोनस फिर्ता आउने हुँदा यस प्रकारको बीमाशुल्क उच्च हुन्छ र प्रायः बीमांक रकमबराबर वा सोभन्दा पनि बढी बीमाशुल्क तिर्नुपर्ने हुन्छ। तर, के जीवन बीमा बचतसहितको मात्र हुन्छ त ? सम्पतिको बीमाजस्तो जोखिम मात्रको बीमा हुदैन ? अवश्य नै हुन्छ।
विशुद्ध जोखिम बहन गर्ने जीवन बीमा ‘म्यादी जीवन बीमा’ हो। जसको बीमाशुल्क बीमांकको तुलना मा एकदम थोरै हुन्छ। बचतसहितको बीमा त म्यादी जीवन बीमाकै एउटा परिष्कृतस्वरुप हो। जसमा बीमितलाई बचतको सुविधा थप गरिएको हुन्छ।
किन महत्वपूर्ण छ म्यादी जीवन बीमा ?
बीमाको आधारभूत उद्देश्य आर्थिक जोखिम बहन नै हो। कुनै सम्पत्तिको बीमा गर्दा त्यसको आर्थिक जोखिमबराबर अर्थात त्यो सम्पत्ति क्षति हुँदा पर्ने आर्थिक भारबराबर बीमांक रकमको बीमा गरेजस्तै मानव जीवनको पनि आर्थिक जोखिमअनुसार नै बीमांक निर्धारण गरी सोही मूल्यबराबरको बीमा गर्नुपर्छ। मानव जीवनको आर्थिक जोखिम निर्धारण गर्ने केही विधि छन्। जस्तै कुनै व्यक्तिले उसको जीवनभरि आम्दानी गर्न सक्ने रकमको आजको मूल्य जसलाई साधारण तया वार्षिक आम्दानीको १० देखि १५ गुणासम्म मानिन्छ। बीमांक निर्धारण गर्ने एउटा चर्चित विधि हो भने त्यस्तै अर्को चर्चित विधि भनेको परिवारको सदस्य जोसँग परिवार आर्थिक रुपमा निर्भर छ, ऊ नहुँदा परिवारले व्यहोर्ने आर्थिक जोखिम अर्थात् ऊ नहुँदा पनि ऊ हुँदा जसरी केही वर्षसम्म जीवन गुजारा गर्न आवश्यक पर्ने रकमलाई लिइन्छ। उक्त व्यक्तिको ऋण अथवा अन्य दायित्व पनि छ भने उक्त रकम अझ बढ़्न जान्छ।
जुनै विधिले हेर्ने हो भने पनि वार्षिक आम्दानीको १० देखि १५ गुणासम्म बीमांकको बीमा एउटा व्यक्तिको जीवनमा आवश्यक हुन आउँछ। जुन म्यादी जीवन बीमाबाट मात्र सम्भव हुन्छ। वार्षिक आम्दानीको १० देखि १५ गुणासम्मको बीमांकको बचतसहितको बीमा गर्ने हो भने त बीमाशुल्क नै वार्षिक आम्दानीसरह हुन जान्छ। अतः जोसुकै व्यक्तिको उसको जोखिमअनुसारको बीमा गर्ने हो भने प्रथम विकल्प म्यादी जीवन बीमा नै रहन्छ। उसलाई थप बचतको पनि आवश्यकता रहेको अवस्थामा भने म्यादी जीवन बीमा गरिसकेपछि निश्चित रकमको बचतसहितको बीमा पनि थप्न सक्छ।
उदाहरणका लागि ३०–३५ वर्षको कोही व्यक्तिको वार्षिक आम्दानी ५ लाख छ र उसले १५ वर्षे ५० लाख बीमांकको म्यादी जीवन बीमा गर्छ भने उसको वार्षिक बीमाशुल्क बढीमा १० देखि १५ हजार पर्न जान्छ। तर, ५ लाख बीमांकको मात्रै बचतसहितको बीमा गर्ने हो भने पनि उसको वार्षिक बीमा शुल्क ३० हजारभन्दा बढी पर्न आउँछ। अहिलेको बीमा उद्योगको ट्रेन्डअनुसार हेर्ने हो भने उक्त व्यक्तिले बचतसहितको बीमालाई पहिलो प्राथमिकतामा राखी ५ लाख वा सोभन्दा पनि कम बीमांकको बीमा गरेको हुन्छ।
के उक्त व्यक्तिलाई केही भएको खण्डमा ५ लाखभन्दा पनि कम रकमले उसको परिवारको ऊ हुँदाको जस्तो गरी गुजारा चलछ त ? विल्कुल चल्दैन। अहिलेको महँगी हेर्ने हो भने त काजकिरिया गर्नमै ठूलो हिस्सा खर्च भइसक्छ। अन्तः बीमा गर्नु र नगर्नुमा केही पनि भिन्नता रहँदैन। त्यसैले बीमा गर्दा आर्थिक जोखिमलाई विषेश प्राथमिकतामा राखी म्यादी जीवन बीमा नै गर्न पर्छ। बचतका लागि आफूसँग थप रकम भए उक्त रकमको बचतसहितको बीमा वा दुवैको समिश्रणको बीमा पनि गर्न सकिन्छ।
माथिकै उदाहरणमा पनि ३० देखि ४० लाखको म्यादी जीवन बीमा खरिद गरी बाँकी बचतयोग्य रकमको बचतसहितको जीवन बीमा गर्न सकिन्छ।
अधीकांश जनसंख्या अपर्याप्त बीमाको सिकार
नेपालजस्तो कम क्रयशक्ति भएको देशमा मानिसले आफ्नो आम्दानीको न्यून हिस्सामात्र बीमा र बचतका लागि छुट्याउन सक्छ। यस्तो अवस्थामा म्यादी जीवन बीमालाई महत्व दिनुपर्नेमा बीमा र बचत एउटैमा भनेर बचतसहितको बीमामात्र बेचिरहँदा सम्पूर्ण बीमित आर्थिक जोखिमको तुलनामा निकै कम बीमांक अर्थात् अपर्याप्त बीमाको सिकार त भएका छन्। सरोकारवालाहरुले हरेकपटक यति प्रतिशत जनसंख्या बीमाको दायरामा भनेर फुकिरहँदा वास्तवमा बीमा गरेका अधिकांश जनसंख्याले जोखिमको तुलनामा निकै कम बीमांकको बीमा गरेका छन्, जुन बीमा गर्नु र नगर्नुमा केही तात्विक फरक देखिँदैन।
किन ओझेलमा राखिन्छ म्यादी जीवन बीमा ?
जीवन बीमा भन्नेबित्तिकै आम रुपमा मानिसले म्यादी जीवन बीमालाई बुझ्नुपर्ने हो। तर, बचत प्रवृतिको बीमालेखलाई वर्षौंदेखि यसरी ब्रान्डिङ गरियो कि चिसो भनेकै कोकाकोला भनेजस्तै जीवन बीमा भनेकै बचतसहितको जीवन बीमा हो भनेर आमजनताले बुझाइएको पाइन्छ।
सरकारले वैदेशिक रोजगारमा जानेहरुका लागि अनिवार्य गरेको वैदेशिक म्यादी जीवन बीमा र लाघुवित्तले प्रदान गर्ने ऋणको सुरक्षाका निम्ति अनिवार्य गर्नुपर्ने ऋण रकमबराबरको म्यादी जीवन बीमालाई छाड्ने हो भने बीमा कम्पनीहरुले उठाउने बीमाशुल्कमा म्यादी जीवन बीमाको हिस्सा शून्यबरार रहेको पाइन्छ। प्रत्येक जीवन कम्पनीसँग म्यादी जीवन बीमा रहेको भए पनि अभिकर्ताको आँखामा पर्दैन।
अभिकर्ता र बीमा कम्पनी नै म्यादी बीमाप्रति अनुच्छुक ?
नेपाली जीवन बीमा बजारको बिक्री माध्यम हेर्ने हो भने ९५ प्रतिशतभन्दा धेरै हिस्सा बीमा अभिकर्ताले ओगटेका छन्। म्यादी होस् या बचतसहितको बीमा सर्वसाधारणको मागले भन्दा पनि अभिकर्ताले बीमा बुझएर सर्वसाधरणलाई बीमा खरिद गर्न मनाउने स्थिति छ। बीमा अभिकर्ता बीमितको वित्तीय परामर्शदाता पनि भएकोले बीमितलाई उपयुक्त हुने बीमा बुझाउनु उसको दायित्व पनि हो। तर, अवस्था भने ठीक उल्टो छ। बीमा अभिकर्ताले पाउने कमिसन बीमितले तिर्ने बीमाशुल्कको निश्चित प्रतिशतमा हुने गर्दछ, जसले गर्दा अभिकर्तालाई म्यादी जीवनबीमाबारे आममानिसलाई बुझाएर शक्ति खर्च गर्नुभन्दा पनि त्यति नै प्रयासमा उच्च बीमाशुल्क भएको बचतसहितको बीमाबारे बुझएर बिक्री गर्दा धेरै कमिसन प्राप्त हुने हुँदा उनीहरु म्यादी जीवन बीमाजस्तो बीमा बेच्न त के यसको जानकारी बीमितलाई दिन पनि इच्छुक देखिँदैनन्। बीमा अभिकर्ताले आफूलाई आममानिसमा बीमाको चेतना फैलाउने संवाहक घोषणा गरे पनि उनीहरुको मुख्य ध्यान ग्राहकलाई आवश्यक पर्ने खाले बीमाबारे जानकारी दिनुभन्दा पनि आफ्नो कमिसन, इन्सेन्टिभ र एमडीआरटी लक्ष्यलाई केन्द्रमा राखी रणनीतिक ढंगले बीमालेख बिक्री गर्नमा रहन्छ। जसले गर्दा बीमितलाई वास्तवमा उपयुक्त हुने कम बीमाशुल्कको म्यादी जीवन बीमाबारे कोही अभिकर्ता चर्चा गर्दैनन्।
यसका साथै बीमा कम्पनीहरुले पनि म्यादी बीमालेखमा अभिकर्ता र कर्मचारीलाई खासै प्रोत्साहान गरेको पाइँदैन। एकाध कम्पनीबाहेक नेपालका जीवन बीमा कम्पनीहरुको दौड़ बीमाशुल्क उठाउनुमा मात्रै छ, जुन अवश्य नै बचतसहितको बीमा बाट प्राप्त हुन्छ। जति धेरै बीमाशुल्क उठ्यो उति धेरै नाफा भन्ने सिद्धान्तले बीमा कम्पनी अघि बढेको देखिन्छ। बीमा कम्पनीहरुलाई दाँज्ने मानक पनि कसको बीमाशुल्क बढी भनेर गरेको देखिन्छ। मिडियाले पनि सोही कुरालाई जोड दिएको पाइन्छ। तर, बढी बीमाशुल्क भनेको बढी नाफा होइन भन्ने कुराको ज्ञान वर्षौंदेखि कम्पनी हाँकेकाहरुलाई पक्कै पनि हुन पर्ने हो। बचत प्रकृतिका बीमाको नाफा मूलतः लगानीबाट आउने प्रतिफलमा आधारित हुन्छ भने जोखिममात्र बहन गर्ने बीमाको मुख्य नाफा जोखिमांकन नाफा (अन्डराइटिङ प्रफिट)बाट हुन्छ। बचत प्रकृतिका बीमाको नाफामा कम्तीमा पनि ९० प्रतिशत हिस्सा बोनसका रुपमा बीमितलाई दिन पर्ने हुन्छ भने म्यादी जीवन बीमाको हकमा भने सतप्रतिशत नाफा कम्पनीकै हुन्छ। तसर्थ, कुनै पनि कम्पनीले म्यादी जीवन बीमाबाट कम बीमाशुल्क उठाएर पनि सही जोखिमांकन, पर्याप्त रणनीतिक पुनर्बीमा र कम्पनी सञ्चालनमा चुस्त कायम गर्ने हो भने बीमाशुल्कमात्रैमा केन्द्रित रहेर ठूलो बीमाशुल्क उठाउने कम्पनीभन्दा धेरै नाफा कमाऊन सक्छ। अझ यस्तो अस्थिर ब्याजदर भएको स्थितिमा त जीवनबीमा कम्पनीहरु लगानीको प्रतिफलमा आधारित नाफातिर लाग्नुभन्दा पनि म्यादी जीवन बीमामा केन्द्रित हुनुपर्ने देखिन्छ तर नेपाली जीवन बीमा कम्पनीले त्यसतर्फ सोचेको देखिँदैन।
यसरी म्यादी जीवन बीमालाई ओझेलमा राखेर आवश्यकताको तुलनामा एकदम न्यून बीमांकको बीमा बेची राख्दा बीमाप्रति आममानिसको अपूर्ण बुझाइ रहेको छ। प्रणामस्वरूप अभिकर्ताको तथा समग्र बीमा क्षेत्रलाई नै सर्वसाधारणले झन् शंकाको दृष्टिले हेरेको पाइन्छ।
वर्षऔं देखि सावधिक बीमालेखको प्रवर्द्धनका निम्ति खर्च गरिएको शक्ति म्यादी जीवन बीमा जस्तो बीमामा लगाउने होभने सायद ग्राहकले साच्चै जीवन बीमाका बारे बुझेर आफैँ बीमा खरिद गर्न इच्छुक हुन्थे कि ? बीमा सबैका लागि हो भन्ने चेतना आउँथ्यो कि ? जीवन बीमा उद्योग र बीमा अभिकर्ता भन्नेबित्तिकै मान्छेले नाक खुम्चाउँदैन थिए कि? वैदेशिक रोजगार र सवारीसाधनको समेत अनिवार्य जीवन बीमा गरेको सरकारले जीवन बीमालाई पनि अनिवार्य गर्ने अवस्था बन्न सकथ्यो कि ?