काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपाध्यक्ष स्वर्णिम वाग्ले नयाँ सरकारको अर्थमन्त्री बनेका छन्।
रास्वपाको एकदलीय सरकारको प्रधानमन्त्री पार्टीका वरिष्ठ नेता बालेन शाह बनेका छन् भने अर्थतन्त्रको बागडोर सम्हाल्ने जिम्मेवारी वाग्लेको काँधमा आइपरेको छ। उनी वाग्ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षबाट तनहुँ निर्वाचन क्षेत्र १ बाट लगातार दोस्रो कार्यकालका लागि संसद सदस्य (सांसद)का रुपमा निर्वाचित भएका थिए। हालै सम्पन्न चुनावमा रास्वपाले नेपालको इतिहासमा सबैभन्दा ठूलो संसदीय जित हासिल गरेको थियो।
वाग्ले यसअघि न्युयोर्कस्थित यूएनडीपी क्षेत्रीय एसिया तथा प्रशान्त क्षेत्रीय ब्युरो (आरबीएपी) मा प्रमुख आर्थिक सल्लाहकार थिए। यो संस्थाले ३६ वटा देशलाई समेट्छ।
वाग्लेसँग २५ वर्षभन्दा बढी समयदेखि अन्तर्राष्ट्रिय विकास पेसेवरका रुपमा काम गरेको अनुभव रहेको छ। जसमा वासिंगटन डीसीमा विश्व बैंकमा वरिष्ठ अर्थशास्त्रीका रुपमा कार्यकाल पनि समावेश छ।
सन् २०१४ र २०१८ को बीचमा वाग्लेले नेपाल सरकारको राष्ट्रिय योजना आयोगमा ३ वर्षसम्म सेवा गरे। आयोगमा पहिले सदस्यका रुपमा र त्यसपछि उपाध्यक्षका रुपमा उनले काम गरेका थिए।
२०७२ सालको नेपालको विनाशकारी भूकम्पपछि वाग्लेले पोस्ट डिजास्टर निड्स एसिसमेन्ट (पीडीएनए) को सहनेतृत्व गरे र पुनर्निर्माणका लागि ४ अर्ब अमेरिकी डलरको प्रतिज्ञा जुटाउन मद्दत गरे।
सन् २०१९ देखि २०२६ सम्म वाग्लेले दक्षिण एसियाली नीति थिंक–ट्यांक इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) चलाए। जसका उनी चियरम्यान एमेरिटस हुन्।
वाग्ले काठमाडौं विश्वविद्यालयका पहिलो सिनेटर, विश्व बैंकको दक्षिण एसिया क्षेत्रीय च्याम्पियन्सका प्रतिष्ठित सदस्य र एसियाली विकास बैंक (मनिला) र अन्तर्राष्ट्रिय व्यापार केन्द्र (जेनेभा) जस्ता संस्थाका सल्लाहकार हुन्। उनी व्यापक रुपमा प्रकाशित छन् द ग्रेट अपहिभल (क्याम्ब्रिज युनिभर्सिटी प्रेस, २०२२) को सहसम्पादक, द राइज अफ द साउथ एक ग्लोबल ह्युमन डेभलपमेन्ट रिपोर्ट (२०१३)का सहलेखक थिए र हार्वर्ड एसिया क्वार्टरली (२०००) का दक्षिण एसिया सम्पादक थिए।
वाग्लेले अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि, हार्वर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर (एमपीए÷आईडी) र लन्डन स्कुल अफ इकोनॉमिक्सबाट बीएससी (इकोन) गरेका छन्।
वाग्लेको जन्म ५१ वर्षअघि गोरखामा भएको थियो।












