काठमाडौं । कम्पनीहरुलाई तिर्न बाँकी कर, शुल्क र दस्तुर बुझाउने म्याद थपिएको छ।
कम्पनी रजिस्ट्रारको कार्यालयले एउटा सूचना जारी गर्दै कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भई सञ्चालनमा रहेका कम्पनीहरुले कारोबार सञ्चालनलाई निरन्तरता दिन वा कम्पनी दर्ता खारेज गर्न चाहेमा आर्थिक ऐन, २०८३ को दफा ४८ बमोजिम दाखिला गर्नुपर्ने कर, शुल्क, दस्तुर तथा जरिवाना र विवरण बुझाउन चालु आर्थिक वर्ष पुस मसान्तसम्म थप गरिएको जानकारी गराएको हो।
अब त्यस्ता कम्पनीले पुस मसान्तसम्म विवरण पेस गरी कानुनबमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा जरिवाना दाखिला गरेमा सोभन्दा अघिका आर्थिक वर्षहरुमा लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा हुने सूचनामा उल्लेख छ। कारोबार निरन्तरता दिन वा कम्पनी दर्ता खारेज गर्न चाहने सम्बन्धित कम्पनीहरुले आर्थिक वर्ष २०८२।८३ भन्दा अघिका आर्थिक वर्षहरुको विवरणसमेत पुस मसान्तभित्र कार्यालयको अनलाइन प्रणाली सीएएमआईएसमार्फत पेस गरी कानुनबमोजिम कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहासम्बन्धी सुविधाको लाभ लिन पाउने कार्यालयले जनाएको छ।
अर्थ मन्त्रालयले कात्तिक ९ गते त्यस्ता कम्पनीहरु यो सुविधा प्रदान गर्ने निर्णय गरेको थियो। यो निर्णयसम्बन्धी सूचना कात्तिक १६ गते नेपाल राजपत्रमा प्रकाशित भएको थियो।












