काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको लगानी रहेको युनिटेक हाइड्रोपावरको रेटिङ स्तरोन्नति भएको छ।
इक्रा नेपालले युनिटेक हाइड्रोपावरको इस्युअर रेटिङ स्तरोन्नति गरेर (इक्राएनपी–आईआर) बी प्लस कायम गरेको हो। यसअघि कम्पनीको इस्युअर रेटिङ बी माइनस रहेको थियो। रेटिङ स्तरोन्नति भए पनि कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा जोखिम अझै उच्च रहेको इक्रा नेपालको मूल्यांकनले देखाउँछ।
यसैगरी इक्राले कम्पनीको दीर्घकालीन ऋणको रेटिङ एलबी प्लसमा स्तरोन्नति गरेको छ। यसअघि यो रेटिङ एलबी माइनस रहेको थियो। कम्पनीको अल्पकालीन ऋणको रेटिङ भने ए४ नै कायम राखेको छ।
हाल कम्पनीको दीर्घकालीन ऋण ८२ करोड ७७ लाख रुपैयाँ र अल्पकालीन ऋण ३ करोड ५० लाख रुपैयाँ रहेको छ।
एसियन लाइफले युनिटेक हाइड्रोपावरमा १२ करोड रुपैयाँ पुँजी लगानी गरेको छ। यो कम्पनीले ताप्लेजुङ जिल्लामा ५.८ मेगावाट क्षमताको माथिल्लो फावा जलविद्युत आयोजना रहेको छ।












