IME Life New
GBIME

के हो जोखिममा आधारित पुँजी ? कसरी हुन्छ गणना ?

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

नेपालको बीमा नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई आर्थिक वर्ष २०८०।८१ को बीमांकीय मूल्यांकन जोखिममा आधारित पुँजी अनुसार गर्न निर्देशन गरेको हुनाले नेपाली बीमा उद्योगमा आधिकारिक रुपमा जोखिममा आधारित पुँजी लागू भइसकेको छ।

कतिपय बीमा कम्पनीहरुले जोखिममा आधारित पुँजीअनुसारको बीमांकीय मूल्यांकन बीमा प्राधिकरणबाट स्वीकृत गराई वार्षिक साधारणसभासमेत गराइसके भने कतिपय बीमा कम्पनीको जोखिममा आधारित पुँजी अनुसारको बीमांकीय मूल्यांकन स्वीकृत हुने प्रक्रियामा रहेको छ।

Crest

जोखिममा आधारित पुँजी ?

जोखिममा आधारित पुँजी (रिस्क बेस्ड क्यापिटल) भनेको बीमा नियामकहरुले बीमा कम्पनीको पुँजीको पर्याप्तता मापन गर्ने विधि हो। जुन कम्पनीले पुर्याउनुपर्ने निश्चित न्यूनतम पुँजीको मापदण्डको परिष्कृत रुप हो।

यसअघि बीमा प्राधकरणले जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको न्यूनतम पुँजी तोकिदिएको हुन्थ्यो। जुन सम्पूर्ण कम्पनीको बराबर रहन्थ्यो । जीवन बीमा गर्ने कम्पनीको हकमा न्यूनतम ५ अर्ब चुक्तापुँजी आवश्यक थियो भने निर्जीवन बीमाको हकमा साढे २ अर्ब न्यूनतम चुक्ता मूल्य कायम थियो। बीमा कम्पनीको आकार जत्रो भए पनि, जतिको व्यापार गरेको भए पनि, बजार हिस्सा जतिको ओगाटे पनि हरेक कम्पनीले पुर्याउनुपर्ने न्यूनतम चुक्तापुँजी समान हुने प्रावधान थियो।

यसरी परम्परागत न्यूनतम पुँजीको नियमानुसार सबै कम्पनीहरुले निश्चित न्यूनतम पुँजी रकम कायम गर्नुपर्ने बाध्यता रहन्थ्यो। तर जोखिममा आधारित पुँजी प्रणालीमा भने आवश्यक न्यूनतम पुँजी जोखिममा आधारित हुन्छ। अर्थात् प्रत्येक संस्थाको वास्तविक जोखिमका आधारमा पुँजी आवश्यकताको निर्धारण हुन्छ ।

उदाहरणका लागि कुनै बीमा कम्पनीले उच्च जोखिमयुक्त लगानी (जस्तै– शेयर बजार, निजी ऋण) गरेमा उसले बढी पुँजी राख्नुपर्ने हुन्छ भने सुरक्षित सम्पत्ति (जस्तै– सरकारी ऋणपत्र, निक्षेप) भएका कम्पनीहरुले कम पुँजी राख्दा पनि हुन्छ ।

कसरी हुन्छ गणना ?

जोखिममा आधारित पुँजीको गणना गर्दा बीमा कम्पनीहरुको सम्पत्ति र दायित्वहरुको जोखिमअनुसार अतिरिक्त पुँजी राख्नुपर्ने हुन्छ। जसका निम्ति जोखिमहरुलाई विभिन्न वर्गमा विभाजन गरी ती वर्गको जोखिमको मूल्यांकन गरेर तिनीहरुलाई जोखिम भार (रिस्क वेटेज) तोकी सोअनुसार पुँजी शुल्क (क्यापिटल चार्ज) लगाइन्छ ।

विषेश गरी कम्पनीको जोखिमलाई यी ४र वर्गमा विभाजन गरिन्छः

  • बजार जोखिम
  • ऋण जोखिम
  • जीवन वा निर्जीवन बीमा जोखिम
  • व्यावसायिक र संचालनको जोखिम

अब यी जोखिमलाई केही विस्तृतमा बुझौँः

बजार जोखिमः बजार जोखिम भन्नाले पुँजी बाजारमा बीमा कम्पनीले लगानी गरेको मूल्यमा आउन सक्ने गिरावटको जोखिम, बैंकको ब्याजदरको घटबढले निम्त्याउने जोखिम, विदेशी मुद्रा दरको फेरबदलले हुन सक्ने जोखिम, साथै आफ्नो सम्पतिको मूल्यमा ह्रास आउन सक्ने जोखिमहरु बुझिन्छ। यी तत्वहरुको जोखिमअनुसार पुँजी शुल्क लगाइन्छ। उदाहरणका लागि नेप्सेमा सूचीकृत शेयरमा गरिएको लगानीमा तुलनात्मक रुपमा कम जोखिम हुने हुँदा कम पुँजी शुल्क लगाइन्छ भने सूचीकृत नभएको शेयरमा बढी पुँजी शुल्क लगाइन्छ ।

ऋण जोखिमः ऋण जोखिम भन्नाले बीमा कम्पनीले गरेको लगानी डुब्ने जोखिम हो। बीमा कम्पनीले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्तजस्ता वित्तीय संस्थामा जम्मा गरेको पैसा यी संस्थासँगै डुब्ने जोखिम रहन्छ । जसका लागि वित्तीय संस्थाको क्रेडिट रेटिङअनुसार पुँजी शुल्क लगाइन्छ। राम्रो रेटिङ पाएको संस्थामा पैसा राख्दा कम पुँजी शुल्क लाग्छ भने नराम्रो रेटिङ पाएको संस्थामा पैसा राख्दा बढी पुँजी शुल्क लाग्छ ।

जीवन वा निर्जीवन बीमा जोखिमः जीवन बीमा जोखिमअन्तर्गत मृत्युदर वा अशक्तता दर बढ़्दा हुने जोखिम, विनाशकारी घटनाले निमत्याउने जोखिम, बीमाको व्यतीत दर बढ़्ने जोखिम साथै बीमालेखसँग सम्बन्धित खर्च बढ़्ने जोखिम पर्छ भने निर्जीवन बीमातर्फ भविष्यमा सोचेभन्दा बढी दाबी पर्न सक्ने जोखिम रहन्छ। यी जोखिम निश्चित प्रतिशतले बढ़्दा प्रतिफलमा के–कति असर पर्छ भन्ने दृष्टिकोणबाट पुँजी शुल्क लगाइन्छ।

व्यावसायिक र सञ्चालनको जोखिमः बीमा कम्पनीको प्रणालीमा उत्पन्न हुन सक्ने समस्या, कानुनी उल्झन, कर्पोरेट ठगी, नियमकको कारबाही, व्यवस्थापन त्रुटिजस्ता जोखिम यसअन्तर्गत समावेश हुन्छन्।

यी सबै जोखिमको पुँजी शुल्क (क्यापिटल चार्ज) गणनामानक सूत्रहरु प्रयोग गरेर गरिन्छ। जसबाट कुल पुँजी शुल्क निर्धारण गरिन्छ, जुन नै कम्पनीको जोखिममा आधारित पुँजीको न्यूनतम आवश्यकता हो।

उपलब्ध पुँजीका स्रोतहरु (अभाइलेबल क्यापिटल रिसोर्स)

माथि व्याख्या गरिए जसरी यकीन भएको न्यूनतम आवश्यक पुँजीअन्तर्गतको आवश्यक पुँजीलाईलाई चाहिने स्रोतहरु छ कि छैन भनेर कम्पनीको उपलब्ध पुँजी स्रोतहरुबाट थाहा हुन्छ। उपलब्ध पुँजीका स्रोतहरु अर्थात् अभाइलेबल क्यापिटल रिसोर्सले बीमक कम्पनीसँग रहेको वित्तीय स्रोतहरुलाई जनाउँछ, जसले हानी सहन र नियामक पुँजी आवश्यकताहरु पूरा गर्न मद्दत गर्छ।

उपलब्ध पुँजी सामान्यतः मूल पुँजी (टियर १ क्यापिटल) र साहक पुँजी (टियर २ क्यापिटल) मा विभाजन गरिन्छ। जसको गुणस्तर र हानी सहन क्षमता फरक हुन्छ। मूल पुँजीले उच्चतम गुणस्तरको पुँजी जनाउँछ। जसअन्तर्गत चुक्ता पुँजी, सञ्चित नाफा (लाभांश नबाँडिएको, कम्पनीमा पुनः लगानी गरिएको मुनाफा), अतिरिक्त कोष (आकस्मिक अवस्थाका लागि छुट्याइएको अतिरिक्त पुँजी) लगायतका पुँजी पर्दछ भने सहायक पुँजीले मूल पुँजीभन्दा तुलनात्मक रुपमा कमजोर पुँजी जनाउँछ। जसअन्तर्गत सञ्चित अपरिवर्तनीय प्राथमिक शेयरहरु (कुमुलेटिभ इरिडिमेबल प्रिफ्रेन्स शेयर) अपरिवर्तनीय द्वितीयक ऋणहरु (इरिडिमेबल सबअर्डिनेटेड डिप्ट्स) लगायतका पुँजीहरु पर्दछन्।

वित्तीय स्वस्थताः सोलभन्सी अनुपात

सोलभन्सी अनुपातले कम्पनीको उपलब्ध पुँजीको स्रोतहरुर जोखिममा आधारित न्यूनतम पुँजीको अनुपातलाई जनाउँछ। अर्थात् यो अनुपातले बीमा कम्पनीसँग आवश्यक न्यूनतम पुँजीको तुलनामा कति गुणा पुँजीको स्रोतहरुको उपलब्ध छ भन्ने कुरा बातउँछ । जस्तै– कुनै कम्पनीको जोखिममा आधारित पुँजीको न्यूनतम आवश्यकता ८ अर्ब छ र उसको उपलब्ध पुँजीको स्रोत १२ अर्ब छ भने उसको सोलभन्सी अनुपात १२/८=१.५ हुन्छ। अर्थात् न्यूनतम आवश्यक जोखिममा आधारित पुँजीको तुलनामा ऊसँग १५०% उपलब्ध स्रोतहरु छन् भनेर बुझ्नुपर्छ । बीमा नियामकले न्यूनतम सोलभन्सी अनुपात कायम गरेको हुन्छ। जुन देशपिच्छे फरक हुन सक्छ। नेपाल बीमा प्राधिकरणले हालका लागि न्यूनतम सोलभन्सी अनुपात १.३० अर्थात जोखिममा आधारित पुँजीको १३०% कायम गरेको छ । जोखिममा आधारित पुँजीको मूल अवधारणा एउटै हुने भए पनि बीमा बजारको संरचना, जोखिम कारकहरुको व्यवहार र पुँजी शुल्कको लागू प्रक्रियामा हुने भिन्नताले नियामक निकायले सोहीअनुसार सोलभन्सी अनुपात कायम गरेको हुन्छ।

बीमा कम्पनीको सोलभन्सी अनुपातअनुसार नियामक निकायले विभिन्न निर्देशन दिन र हस्तक्षेप गर्न सक्छ। जसअन्तर्गत कम्पनीलाई नगद लाभांशमा प्रतिबन्ध लगाई वित्तीय योजना पेस गर्न निर्देशन दिनेदेखि नियामक हस्तक्षेप गर्ने र कम्पनी नै नियामकको नियन्त्रणमा जानेसम्मको स्थिति हुन्छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS