काठमाडौं । ट्रम्प प्रशासनले मंगलबार अमेरिकामा ह्युमनोइड रोबोटको नयाँ आयातमा प्रतिबन्धको घोषणा गरेको छ। प्रशासनले ती रोबोटले देशको राष्ट्रिय सुरक्षाका लागि अस्वीकार्य जोखिम निम्त्याउने जनाएको छ।
यो प्रतिबन्ध उन्नत रोबोटमा लागू हुन्छ। जसमा ह्युमनोइड र क्वाड्रपेड रोबोट समावेश छन्। यीमध्ये धेरै रोबोट चीनमा निर्मित छन्।
चीन र अमेरिका हाल रोबोटिक्स र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा अग्रता लिन प्रतिस्पर्धा गरिरहेका छन्। अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी) ले पावर इन्भर्टरहरुको आयातमा पनि प्रतिबन्ध लगाएको छ। इन्भर्टरहरु डाटा सेन्टर र सौर्य प्यानलमा प्रयोग गरिन्छ।
एफसीसीले ती उपकरणले अमेरिकी अर्थतन्त्र र महत्वपूर्ण पूर्वाधारका लागि जोखिम निम्त्याउने जनाएको छ। एफसीसीका अध्यक्ष ब्रेन्डन कारले भने, ‘एजेन्सीले अमेरिकाको महत्वपूर्ण आपूर्ति शृंखलाको सुरक्षा गर्ने आफ्नो जिम्मेवारी पूरा गरिरहेको छ।’
एफसीसीले ती रोबोट र इन्भर्टरलाई आफ्नो ‘कभर गरिएको सूची’ मा थपेको छ। यो सूचीले अमेरिकी राष्ट्रिय सुरक्षाको लागि सम्भावित खतरा निम्त्याउने मानिने सामान र सेवालाई सूचीबद्ध गर्दछ।
यस विषयमा चीनबाट अहिलेसम्म कुनै आधिकारिक टिप्पणी आएको छैन। –एजेन्सी












