काठमाडौं । अमेरिकाले हर्मुज समुद्रीमार्गस्थित इरानको क्वेसम टापुमा आक्रमण गरेको छ। अमेरिकी समाचार संस्था फक्स न्युज र द वाल स्ट्रिट जर्नलमा प्रकाशित खबरहरुले निशाना बनाएको पुष्टि गरेका छन्।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफू इरानमाथि आक्रमण तीव्र पार्न हतारमा नरहेको बताएका छन्। समाचार एजेन्सी एक्सियोससँग कुरा गर्दै ट्रम्पले भने, ‘हामी कुनै न कुनै तरिकाले कारबाही गर्नेछौँ। तर, अहिले कुनै हतार छैन। हामीले उनीहरुलाई आर्थिक रुपमा पूर्ण तबरले कमजोर पारेका छौँ।’
ट्रम्पका अनुसार इरानसँग न त पैसा छ न त पेट्रोल छ। उनले इरानी जनता पनि वर्तमान अवस्थाबाट दिक्क भइसकेको दाबी गरे।
सोमबार वासिंगटन डीसीमा एक कार्यक्रममा ट्रम्पलाई अमेरिकी मध्यावधि चुनावपछि इरानमाथि आक्रमण पुनः सुरु गर्ने हो कि भनेर सोधिएको थियो। उनले स्पष्ट ‘होइन’ जबाफ दिए।
एक्सियोस रिपोर्टर बाराक रविदका अनुसार एक अमेरिकी अधिकारीले उनलाई भने कि सोमबार राति इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी)ले होर्मुजमा रहेको अमेरिकी विमानलाई लक्षित गर्दै क्वेसम टापुबाट मिसाइल प्रहार गरेको थियो।
अधिकारीका अनुसार यस आक्रमणको जबाफमा अमेरिकी लडाकु विमानहरुले आत्मरक्षामा इरानको सतहबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र प्रणालीको लन्चरलाई ध्वस्त पारे। –एजेन्सी












