काठमाडौं । रुस र युक्रेनले आफ्नो आपतकालीन चेतावनी प्रणालीमा साइबर आक्रमण भएको दाबी गरेका छन्।
ह्याकरहरुले दुवै देशका नागरिकहरुलाई नक्कली अलर्टहरु पठाए। जसले गर्दा छोटो समयको लागि आतंक फैलियो। यी सन्देशहरुमा विकिरण खतरा र आणविक आक्रमणका बारेमा चेतावनीहरु समावेश थिए।
रुसको आपतकालीन मन्त्रालयले आफ्नो अलर्ट एप ठूलो मात्रामा साइबर आक्रमणको सिकार भएको बताएको छ। मन्त्रालयका अनुसार यो आक्रमणले ह्याकरहरुलाई गलत जानकारी पठाउन अनुमति दिएको थियो।
यद्यपि, मन्त्रालयले देशको सार्वजनिक अलर्ट प्रणाली सामान्य रुपमा काम गरिरहेको स्पष्ट पारेको छ।
कथित साइबर आक्रमणपछि युक्रेनको हवाई आक्रमण चेतावनी एपबाट पनि झुटा चेतावनीहरु पठाइएको छ।
युक्रेनको सेन्टर फर स्ट्राटेजिक कम्युनिकेसन्सले साइबर आक्रमणका लागि रुसलाई दोष दिएको छ।
संस्थाले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्ट साझा गर्यो। जसमा युक्रेनको हवाई आक्रमण एपमा देखा पर्ने केही अलर्टहरुको तस्बिरहरु जारी गरिएको थियो।












