काठमाडौं । नेपालमा जीवन बीमा गर्ने ग्राहकहरूमा महिलाको सङ्ख्या पुरुषको तुलनामा धेरै पाइएको छ। बीमित संख्याका आधारमा महिला अगाडि भए पनि उनीहरूले खरिद गर्ने बीमाङ्क रकम र बीमाशुल्क किस्ता भने पुरुषको तुलनामा आधा मात्रै रहेको पाइएको छ।
नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको “इन्स्योरेन्स थ्रु अ जेण्डर लेन्सः अ फेमा मिटर एसेसमेण्ट इन नेपाल” विषयक अध्ययन प्रतिवेदनमा यस्तो तथ्य उल्लेख छ। इजाजतपत्र ३५ वटै बीमा कम्पनीहरूको आर्थिक वर्ष २०८१।८२ को तथ्याङ्क (१६ जुलाई २०२४ देखि १६ जुलाई २०२५ सम्म) को तथ्याङ्कको विश्लेषण गरी बीमा प्राधिकरणले पहिलो पटक लैङ्गिक आधारमा यो अध्ययन प्रतिवेदन तयार पारेको हो।
प्रतिवेदन अनुसार नेपालमा कुल जारी जीवन बीमालेख ५७ प्रतिशत महिलाको नाममा छ । पुरुषको हिस्सा ४३ प्रतिशत मात्र छ। त्यसैगरी कुल बीमित जनसङ्ख्यामा पनि महिला ५८ प्रतिशत र पुरुष ४२ प्रतिशत रहेका छन्। तर, वार्षिक रूपमा भुक्तानी गर्नुपर्ने बीमाशुल्क रकममा भने ठूलो खाडल देखिएको छ।
महिला बीमितले भुक्तानी गर्ने औसत बीमाशुल्क रु २१,०५४ हुँदा पुरूष बीमितले भुक्तानी गर्ने औसत बीमाशुल्कः रु ४२,५९२ छ। यहाँ महिला बीमितको जीवन बीमाका लागि भुक्तानी गरिने बीमाशुल्क पुरूष बीमितको तुलनामा आधाभन्दा पनि कम छ। अध्ययन प्रतिवेदनले नेपालमा बीमितको औसत बीमाशुल्क रू ३०,२५८ रहेको छ।
अध्ययनले महिलाहरू बीमा सेवाको पहुँच र ग्राहकका रूपमा सक्रिय देखिए पनि उनीहरूको नाममा कम बीमाङ्कका बीमा योजनाहरू मात्र खरिद गरिएको जनाउँछ। यसले नेपाली समाजमा महिला र पुरुषबीचको आयस्तरमा रहेको अन्तर तथा महिला लक्षित बीमा योजनाहरूको कमीलाई सङ्केत गर्दछ।
प्रतिवेदनले आर्थिकरूपमा बढी सकृय रहने र श्रम रोजगारका हिसाबले घर बाहिर बढी जोखिममा पुरूष रहेपनि महिलाको नाममा किन अधिक बीमालेख जारी गरिएका छन् भन्ने प्रश्नको जवाफ खोज्न सकेको छैन।
यस अन्तरलाई सम्बोधन गर्न नेपाल बीमा प्राधिकरणले महिलाहरूको आवश्यकता अनुकूलका विशेष बीमा योजनाहरू ल्याउनुपर्ने, वित्तीय साक्षरता वृद्धि गर्नुपर्ने र महिलाहरूले कम रकमको बीमा खरिद गर्नुका मुख्य कारणहरूमाथि थप अनुसन्धान गर्नुपर्ने सुझाव दिएको छ।











