काठमाडौं । रामेछापको विकास र समृद्धिसँग प्रत्यक्ष जोडिएको खिम्ती–ठोसे–शिवालय बृहत् जलाशययुक्त बहुउद्देश्यीय आयोजना (१,२१६ मेगावाट) लाई अघि बढाउन डा. कृष्णहरि बुढाथोकीको विशेष पहल भएको छ। उनको पहल र निरन्तर प्रयासपछि आयोजना योजनामा समावेश हुनुका साथै यसको अध्ययन, अनुसन्धान, वातावरणीय पक्षको विश्लेषण तथा आवश्यक प्रारम्भिक प्रक्रिया अगाडि बढाउन ऊर्जा मन्त्रालयबाट रु. ३ करोड बजेटसमेत विनियोजन भएको छ।
यसै सन्दर्भमा आज माननीय ऊर्जा मन्त्री तथा ऊर्जा सचिवसँग आयोजना शीघ्र अघि बढाउने विषयमा महत्वपूर्ण भेटघाट तथा उपलब्धिमूलक छलफल भएको छ। विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्दै अध्ययन–अनुसन्धान, वातावरणीय प्रभाव मूल्याङ्कन तथा सरोकारवालासँग आवश्यक छलफल र अन्तरक्रियाका कार्यक्रमलाई तीव्रता दिन उनले मन्त्री तथा सचिवको ध्यानाकर्षण गराउँदै आवश्यक पहल र सहजीकरणका लागि आग्रह गरे ।
यो आयोजना विद्युत् उत्पादनमा मात्र सीमित नभई सिँचाइ, खानेपानी, पर्यटन, रोजगारी सिर्जना तथा स्थानीय आर्थिक गतिविधिको विस्तारका दृष्टिले समेत राष्ट्रिय महत्वको बहुउद्देश्यीय आयोजना हो। आयोजना कार्यान्वयनमा आउन सके रामेछापको आर्थिक तथा सामाजिक रूपान्तरणसँगै देशको ऊर्जा उत्पादन, लगानी विस्तार र राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
रामेछापको विकास र समृद्धिलाई राष्ट्रिय विकाससँग जोड्ने लक्ष्यसहित डा.बुढाथोकीले यस आयोजनालाई अध्ययनको चरणबाट कार्यान्वयनको चरणसम्म पुर्याउन निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।











