IME Life New

तीन महिनामै बैंकहरुको ऋण लगानी रु. १.४६ खर्बले बढ्यो, कहाँ गइरहेको छ पैसा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थतन्त्रका अधिकांश क्षेत्रमा व्यावसायिक गतिविधि सुस्त देखिए पनि वाणिज्य बैंकहरुको ऋण लगानी भने अस्वाभाविक रुपमा बढेको छ।

चालु आर्थिक वर्ष २०८३।८४ को साउनदेखि असोजसम्म वाणिज्य बैंकहरुले १ खर्ब ४६ अर्ब रुपैयाँ नयाँ ऋण प्रवाह गरेका छन्। त्यसमध्ये असोज महिनामा मात्रै ८५ अर्ब रुपैयाँ ऋण विस्तार भएको छ। तीन महिनामा भएको कुल ऋण विस्तारको ५८ प्रतिशत हिस्सा असोजमा मात्रै थपिएको हो।

Esewa
Crest

दसैँ–तिहारका कारण आयात तथा व्यापारिक गतिविधि बढ्दा बैंकको ऋण मागमा केही वृद्धि हुनु स्वाभाविक मानिन्छ। तर, चाडपर्वका लागि जाने ऋण सामान्यतया अल्पकालीन प्रकृतिको हुन्छ। पछिल्लो समय बैंकहरुले प्रवाह गरेको ऋण भने लामो अवधिको देखिएकाले यसको वास्तविक उपयोगितामाथि प्रश्न उठेको छ।

नयाँ उद्योग स्थापना नभएको, पुराना उद्योगको उत्पादन क्षमता विस्तार नभएको र विद्यमान उद्योगहरुले समेत चालु पुँजी ऋण घटाइरहेको अवस्थामा बैंकहरुको ऋण लगानी बढ्नुले वित्तीय प्रणालीभित्रै पुरानो ऋण व्यवस्थापन गर्न नयाँ कर्जा प्रवाह भइरहेको आशंका बढाएको छ। नेपाल राष्ट्र बैंकले समेत नयाँ ऋण पुरानो ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि प्रयोग भइरहेको हुन सक्ने आशंका गरेको छ।

बैंकिङ क्षेत्रमा पछिल्लो समय होटल, जलविद्युत्, तेल प्रशोधन उद्योग, घर तथा सवारीसाधन खरिदका लागि ऋणको माग देखिएको छ। तर, यी क्षेत्रको मागले छोटो अवधिमा भएको ठूलो ऋण विस्तारलाई पूर्ण रुपमा व्याख्या गर्न नसक्ने देखिन्छ।

होटल तथा जलविद्युत् आयोजनामा ऋणको माग भए पनि वर्षायाम र ठूला चाडपर्वका कारण निर्माण तथा विस्तारका काम सुस्त हुने समय हो। त्यसैले ती क्षेत्रमा माग भएको ऋण तत्कालै ठूलो परिमाणमा प्रवाह हुने अवस्था छैन। तेल प्रशोधनका साना प्लान्टमा हुने लगानीले अर्बौं रुपैयाँको ऋण खपत गर्दैन। त्यस्तै, घर तथा सवारीसाधन खरिदका लागि जाने ऋण पनि सामान्यतया लाख र करोड रुपैयाँको आकारमा हुन्छ।

यसले पछिल्लो समय विस्तार भएको ठूलो परिमाणको ऋण वास्तविक नयाँ लगानीमा गएको हो वा पुरानो कर्जाको साँवा तथा ब्याज भुक्तानी गरेर ऋण नियमित देखाउने प्रयोजनमा प्रयोग भएको हो भन्ने प्रश्न खडा गरेको छ। बैंकिङ क्षेत्रमा समस्याग्रस्त ऋणलाई नयाँ कर्जामार्फत नियमित देखाउने अभ्यासलाई एभरग्रिनिङ भनिन्छ। यस्तो अभ्यासले बैंकको कर्जा गुणस्तरमा रहेको वास्तविक जोखिम लुकाउन सक्छ।

जानकारहरु नियामकीय निगरानी कमजोर हुँदा बैंकहरुले ऋण विस्तारमा पर्याप्त कर्जा अनुशासन पालना नगरेको विश्लेषण गर्छन्। उनीहरुका अनुसार उद्योगधन्दा नचलिरहेको अवस्थामा ऋण प्रवाह बढ्नु उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार भएको संकेत होइन। नियामकले ऋण विस्तारलाई सहज बनाउने क्रममा कर्जा नियन्त्रण तथा सुपरिवेक्षणका व्यवस्थामा पर्याप्त निगरानी कायम गर्न नसकेको उनीहरुको बुझाइ छ।

यसअघि राष्ट्र बैंकले चालु पुँजी कर्जामा कडाइ गरेपछि बैंकहरुको ऋण लगानी घट्दै गएको थियो। समष्टिगत माग कमजोर भएपछि उद्योग तथा व्यवसायमा ऋणको माग थप घटेको थियो। अहिले विभिन्न उद्योगले आफ्नो चालु पुँजी कर्जाको सीमा घटाइरहेका छन्। विगतमा अर्बौं रुपैयाँ ऋण लिने कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले समेत अहिले ऋण खाता शून्यमा राखेका छन्। ठूला सूचना प्रविधि तथा दूरसञ्चार कम्पनीहरुले पनि बैंकबाट लिने ऋण घटाएका छन्।

बैंकिङ क्षेत्रमा प्रत्येक त्रैमासमा २ देखि ३ खर्ब रुपैयाँसम्म पुरानो ऋण भुक्तानी हुने गर्छ। यस्तो अवस्थामा पुरानो ऋण भुक्तानी भएपछि त्यसको ठाउँमा नयाँ ऋण प्रवाह हुनु सामान्य प्रक्रिया हो। तर, उद्योगको क्षमता घटिरहेको र व्यावसायिक गतिविधि कमजोर रहेको समयमा भुक्तानी भएको ऋणको खाडल पुर्दै थप डेढ खर्ब रुपैयाँ ऋण विस्तार हुनु शंकास्पद देखिएको बैंकिङ क्षेत्रका जानकारहरुको विश्लेषण छ।

अर्कोतर्फ बैंकहरुबीच असल ऋणी तान्ने प्रतिस्पर्धा पनि बढेको छ। सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये करिब एक दर्जनले ऋण लगानी बढाएका छन् भने बाँकी बैंकको ऋण घटेको छ। ऋण घटाएका बैंकका ग्राहकलाई अन्य बैंकले कम ब्याजदरमा ऋण दिएर आकर्षित गरिरहेका छन्। कतिपय बैंकले आधारदरकै हाराहारीमा ऋण उपलब्ध गराएर ग्राहक तान्ने रणनीति अपनाएका छन्। एउटा बैंकबाट अर्को बैंकमा ऋण स्थानान्तरण हुँदा समग्र बैंकिङ प्रणालीको ऋण विस्तार हुँदैन। तर, यस्तो स्थानान्तरणबाहेक पनि थप १ खर्ब ४६ अर्ब रुपैयाँ ऋण बढ्नुले नयाँ कर्जाको प्रयोजनमाथि प्रश्न उठाएको छ।

राष्ट्र बैंकले अहिले निर्माण व्यवसायी र जेनजी आन्दोलनका क्रममा क्षति पुगेका व्यवसायलाई मात्र विशेष नियामकीय राहत दिएको छ। अन्य क्षेत्रमा त्यस्तो सुविधा उपलब्ध छैन। यद्यपि, राष्ट्र बैंकको सुपरिवेक्षण कमजोर भएको र नियामकीय व्यवस्थामा रहेका खुकुलोपनको फाइदा उठाएर ऋण नियमित देखाउने अभ्यास सहज भएको पूर्वबैंकरहरु बताउँछन्।

ऋण असुलीमा समस्या देखिँदा ऋणी र बैंकर दुवैले कानुनी तथा प्रशासनिक कारबाहीको डर सामना गर्नुपर्ने अवस्था रहेको उनीहरुको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS