काठमाडौं । नेपाल बीमा प्राधिकरणले लैंङ्गिक पहिचानका आधारमा नेपालको बीमा क्षेत्रमा महिला पुरूषको अवस्थाबारे हालै प्रकाशन गरेको एक अध्ययन प्रतिवेदनमा दुर्घटना तथा स्वास्थ्य बीमामा कुल बीमितमध्ये २७ प्रतिशतको लैङ्गिक पहिचान नै उल्लेख नभएको पाइएको छ।
हालै सार्वजनिक “इन्स्योरेन्स थ्रु अ जेण्डर लेन्सः अ फेमा मिटर एसेसमेण्ट इन नेपाल” अध्ययन प्रतिवेदनमा नेपालको निर्जीवन बीमा क्षेत्रमा ग्राहकहरूको लैंगिक विवरण अत्यन्तै कमजोर र लथालिङ्ग अवस्थामा रहेको उजागर गरिएको छ। प्रतिवेदन अनुसार, तथ्याङ्क व्यवस्थित नहुँदा निर्जीवन तथा लघु निर्जीवन बीमामा लैंगिक विश्लेषण गरेर स्पष्ट निष्कर्ष निकाल्न असम्भव जस्तै बनेको छ।
दुर्घटना तथा स्वास्थ्य बीमाको तथ्याङ्क हेर्दा कुल बीमालेखधाकरहरूमध्ये २७ प्रतिशतको लैंगिक विवरण नै उल्लेख गरिएको छैन। विवरण खुलेका ग्राहकहरूमा महिला ४० प्रतिशत र पुरुष ३४ प्रतिशत रहेका छन्। तर बीमित संख्याका आधारमा भने पुरुष ५३ प्रतिशत, महिला ३८ प्रतिशत र विवरण नखुलेका ग्राहक १० प्रतिशत रहेका छन्।
यस्तै साना व्यवसाय लक्षित लघु निर्जीवन बीमामा पुरुषहरूले ५९ प्रतिशत बीमालेख र ६६ प्रतिशत बीमित संख्या ओगटेका छन्। यस क्षेत्रमा महिलाको हिस्सा बीमालेखमा १६ प्रतिशत र बीमित संख्यामा १७ प्रतिशत मात्र छ। तर यहाँ पनि २५ प्रतिशत बीमालेखधारकको लैंगिक पहिचान अज्ञात रहेको छ।
कुल बीमाशुल्क रकम, प्राप्त तथा भुक्तानी भएको दाबी रकम र रद्द भएका दाबी सम्बन्धी तथ्याङ्क यति सीमित छ कि त्यसको विश्लेषण गर्नै नसकिने प्राधिकरणले जनाएको छ। वातावरण तथा कृषि बीमामा त निर्जीवनतर्फ नगण्य र लघु निर्जीवनतर्फ शून्य बराबर मात्र लैंगिक तथ्याङ्क उपलब्ध छ।
यसले निर्जीवन बीमामा महिलाको सहभागिता जीवन बीमाको तुलनामा निकै कम रहेको संकेत गरे पनि कमजोर तथ्याङ्कका कारण ठोस निष्कर्ष निकाल्न सकिएको छैन। प्राधिकरणले अबदेखि सबै बीमा कम्पनीहरूका लागि लैंगिक विवरण राख्नु अनिवार्य गर्ने र अज्ञात विवरणको दर घटाउने रणनीति अघि सारेको छ।











