काठमाडौं । फ्रान्समा लगभग ७०० सुपरमार्केट र अन्य खाद्य स्टोर साइबर आक्रमणको सिकार भएका छन्। आक्रमणका कारण रेफ्रिजरेटरको तापक्रम बढ्दा हजारौँ टन खाद्यान्न बिग्रिएको छ। यद्यपि, यो क्षतिका लागि बीमा क्षतिपूर्ति उपलब्ध हुनेछ कि छैन भन्नेबारेमा अनिश्चितता छ।
अक्टोबर ११ को रात र अक्टोबर १२ को बिहानका बीचमा साइबर आक्रमणकारीहरुले इन्टरनेटमार्फत रेफ्रिजरेटर र फ्रिजरको तापक्रम नियन्त्रण प्रणालीहरुमा पहुँच प्राप्त गरे। त्यसपछि तिनीहरुले डिफ्रोस्टिङ प्रणालीलाई लामो समयसम्म चलाउन छोडे। जसले गर्दा केही रेफ्रिजरेटरहरुमा तापक्रम ५० डिग्री सेल्सियस पुग्यो। केही स्थानहरुमा आगलागीको खबर पनि प्राप्त भएको छ।
फ्रान्सेली मिडिया आउटलेट बीएफएमटीभीका अनुसार देशको अल्सेस क्षेत्रका दुई सुपरमार्केटमा बिग्रिएका सामानबाट भएको क्षति लगभग २ लाख ७० हजार युरो अनुमान गरिएको छ।
फ्रान्समा इन्टरमार्च सुपरमार्केट चेन चलाउने ले मस्केटियर ग्रुपका अध्यक्ष थिएरी कोटियरका अनुसार आक्रमणहरुले देशभरि लाखौँ युरोको क्षति पुर्याउन सक्छ। सोमबार (नोभेम्बर ९) मा फ्रान्सेली अधिकारीहरुले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) सँग सम्बन्धित साइबर इकाइलाई आक्रमणको लागि दोष लगाए। यद्यपि इरानले यी आरोपहरुलाई अस्वीकार गरेको छ।
अक्टोबर १५ मा चार बीमा ब्रोकरले रोयटर्सलाई भने कि स्ट्यान्डर्ड साइबर बीमाले केही वित्तीय खर्चहरु (जस्तै आक्रमणको अनुसन्धानको लागत) कभर गर्न सक्छ। यसले सामान्यतया खाना वा अन्य सामानको बिगार्नबाट हुने नोक्सानलाई कभर गर्दैन।
इन्टरमार्चका अनुसार यसको बीमाले यस्तो नोक्सानलाई कभर गर्दैन। अन्य प्रभावित कम्पनीहरुले बीमा दाबीमा कति प्राप्त गरेका छन् भन्ने कुरा तुरुन्तै स्पष्ट छैन।
बीमा ब्रोकर लकटनले सामान्य सम्पत्ति बीमामा साइबर आक्रमणबाट हुने नोक्सानलाई बहिष्कार गर्ने खण्ड हुन सक्ने उल्लेख गरेको छ। यसबाहेक सामान्य साइबर बीमाले सामानहरुमा हुने क्षतिलाई पनि बहिष्कार गर्न सक्छ। त्यसकारण प्रभावित संस्थाहरुले प्राप्त गर्ने क्षतिपूर्ति तिनीहरुको बीमा सम्झौताको सर्तहरुमा निर्भर हुनेछ।
बीमा परामर्श डब्ल्यूटीडब्ल्यूका अनुसार विशेष साइबर बीमाले क्षतिग्रस्त सामानहरुको लागत, गुमेको व्यावसायिक नाफा र क्षति कम गर्न लाग्ने थप लागतहरु कभर गर्न सक्छ। यद्यपि, बीमा सम्झौताका सर्तहरु अझै पनि लागू हुनेछन्।
क्षतिपूर्तिमा अर्को जटिलता यो हो कि यी आक्रमणहरुलाई ‘राज्य–प्रायोजित’ भनेर वर्णन गरिएको छ। लन्डनको लोयड्स दिशानिर्देशहरुअनुसार केही सरकार–प्रायोजित साइबर आक्रमणहरु बीमा कभरेजबाट बहिष्कृत छन्। यद्यपि, केवल आरोप लगाउनाले सबै बीमा दाबीहरु अमान्य हुँदैनन्।
फ्रान्ससहित धेरै अन्य युरोपेली देशमा यस्तै आक्रमणहरु भएको खबर सार्वजनिक भएको छ। बीमा उद्योगका विज्ञहरुका अनुसार यी घटनाहरुले भविष्यमा साइबर बीमाका लागि उच्च लागत निम्त्याउन सक्छ। साथै, सम्पत्तिको क्षतिलाई कभर गर्ने विशेष बीमाको माग बढ्न सक्छ। –एजेन्सी











