काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रमा कार्यरत महिला अभिकर्ताहरूले दक्षता अभिवृद्धिका लागि पुरुष अभिकर्ताको तुलनामा तालिमको सीमित अवसर पाउने गरेको पाइएको छ। नेपाल बीमा प्राधिकरणको हालै प्रकाशित इन्स्योरेन्स थ्रु अ जेण्डर लेन्सः अ फेमा मिटर एसेसमेण्ट इन नेपाल विषयक प्रतिवेदन अनुसार बीमा कम्पनीका लागि कार्यरत तलबी कर्मचारीहरूमा तालिमको पहुँच समान जस्तै रहे पनि अभिकर्ताहरूको हकमा भने लैङ्गिक असमानता देखिएको हो।
प्रतिवेदन अनुसार, जीवन बीमा कम्पनीहरूमा कार्यरत तलबी कर्मचारीमध्ये ८४ प्रतिशत महिला र ८२ प्रतिशत पुरुषले तालिम प्राप्त गरेका छन्। तर, इजाजतपत्र प्राप्त अभिकर्ताहरूको कुरा गर्दा ४६ प्रतिशत पुरुष अभिकर्ताले तालिम पाउँदा महिला अभिकर्ताको सङ्ख्या भने ३१ प्रतिशतमा मात्र सीमित छ। लैङ्गिक विवरण नखुलेका अभिकर्तामध्ये ३३ प्रतिशतले तालिम पाएका छन् भने समग्रमा जीवन बीमा अभिकर्ताको औसत तालिम दर ३९ प्रतिशत रहेको छ।
लघु जीवन बीमातर्फ भने पुरुषभन्दा महिला अभिकर्ता अगाडि देखिएका छन्। यहाँ ३८ प्रतिशत महिला अभिकर्ता र ३६ प्रतिशत पुरुष अभिकर्ताले तालिम पाएका छन्।
लघु निर्जीवन बीमामा ५० प्रतिशत पुरुष तलबी कर्मचारीले तालिम पाउँदा महिला कर्मचारीको सङ्ख्या ३७ प्रतिशत छ। यस्तै, अभिकर्ताहरूतर्फ ३७ प्रतिशत पुरुष र ३२ प्रतिशत महिलाले तालिम प्राप्त गरेका छन्।
निर्जीवन बीमा क्षेत्रमा अभिकर्ताहरूको तालिमको पहुँच निकै न्यून देखिएको छ। यस क्षेत्रमा मात्र ८ प्रतिशत महिला अभिकर्ता र ६ प्रतिशत पुरुष अभिकर्ताले तालिम पाएका छन्।
नेपाल बीमा प्राधिकरणले महिला अभिकर्ताहरूलाई पनि व्यावसायिक विकासका समान अवसर उपलब्ध गराउन तालिमको नियमित अनुगमन र प्रोत्साहन गर्नुपर्नेमा जोड दिएको छ। साथै, उनीहरूको क्षमता अभिवृद्धिका लागि पर्याप्त स्रोत साधन छुट्याउनुपर्ने सुझाव प्राधिकरणको छ।











