काठमाडौं। स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई भुक्तानी दिन बाँकी रहेको दाबी रकम निकासा गरेको छ।
बोर्डको मिति २०८३ कात्तिक २० गतेको निर्णय अनुसार आर्थिक वर्ष २०८३/८४ को साउन तथा भदौ महिनाको दाबी रकमबाट आवश्यक रुजु तथा विभिन्न शीर्षकहरूमा कट्टा गरेर बाँकी रकम सम्बन्धित स्वास्थ्य संस्थाहरूको बैंक खातामा पठाइएको हो।
चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा प्राप्त दाबीहरूबाट सह भुक्तानी, रुजु गर्दा अस्वीकृत भएको रकम, पेश्की बाँकी रहेका, खाता नम्बर नभएका तथा रोक्का राखिएका संस्थाहरूको रकम घटाएर कुल १ अर्ब १८ करोड २८ लाख २३ हजार २०५ रुपैयाँ ८१ पैसा सम्बन्धित स्वास्थ्य संस्थाहरूको बैंक खातामा भुक्तानी गरिएको छ।
चालु आर्थिक वर्षका लागि विनियोजित कुल १५ अर्ब रुपैयाँ बजेटमध्येबाट यसअघि नै विभिन्न चरणमा भुक्तानीहरू भई बाँकी रहेको रकमबाट यो निकासा दिइएको हो।
स्वास्थ्य बीमा बोर्डको यसअघिको बोर्ड बैठकको निर्णय बमोजिम दाबी भुक्तानीवापत कुल स्वीकृत रकमको २ प्रतिशत रकम कट्टा गर्ने नियमअनुसार आवश्यक रकम कट्टा गरी भुक्तानी प्रक्रिया मिलाइएको बोर्डले जनाएको छ।
स्वास्थ्य बीमा बोर्डले प्रकाशित गरेको विवरणअनुसार, भरतपुर अस्पतालले रु.५ करोड ९० लाख, वीर अस्पतालले रु. ३ करोड ४६ लाख र, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले रु. ३ करोड ३९ लाख सोध भर्ना लिएको छ।
भक्तपुर क्यान्सर अस्पतालले रु. २ करोड ३३ लाख,.दमक अस्पतालले रु. २ करोड १६ लाख, सेती प्रादेशिक अस्पतालले रु. १ करोड ५८ लाख र कलेज अफ मेडिकल साइन्सेज–टिचिङ हस्पिटलले रु. १ करोड ५८ लाख सोधभर्ना पाएको छ।
प्रादेशिक अस्पताल भद्रपुरले रु. १ करोड ८३ लाख र भेरी अस्पतालले रु. १ करोड ६० लाख सोधभर्ना लिएको बोर्डले जानकारी दिएको छ।











