काठमाडौं । सन् २०२३ मा ७०.२ प्रतिशत मृत्यु नसर्ने रोग (एनसिडी) का कारण भएको छ। नसर्ने रोगमध्ये मुटु रोगका कारण मृत्यु हुनेको संख्या सातवटै प्रदेशमा सर्वाधिक रहेको छ।
तर, रोगको यो भार अनुसारको खर्च भने पटक्कै छैन। सुर्ती, मदिरा र नसर्ने रोगको जोखिम कम गर्ने कार्यक्रमहरूले स्वास्थ्य प्रवर्द्धन बजेटको जम्मा १.४ प्रतिशत मात्र पाउँछन्। स्वास्थ्य कर कोषबाट पनि रोकथामका लागि २ प्रतिशतभन्दा कम (वार्षिक ३५ देखि ४० करोड रुपैयाँ) बजेट जाने गरेको छ।
वैदेशिक सहायता ४५.९ प्रतिशतबाट घटेर १३.८ प्रतिशतमा झरेसँगै स्वास्थ्य प्रवर्द्धनको बजेट पनि वार्षिक ३.७ प्रतिशतका दरले घट्दै ९ अर्ब १९ करोडबाट ८ अर्ब २० करोड रुपैयाँमा सीमित भएको छ। जब कि सुर्ती नियन्त्रणमा गरिने १ रुपैयाँ लगानीले १५ वर्षमा २६ रुपैयाँ बराबरको प्रतिफल दिने प्रतिवेदनमै उल्लेख छ।
स्वास्थ्य प्रवर्द्धनका सबै ३६ वटै कार्यक्रमलाई समूह १ मा राखिएको त छ, तर तीमध्ये एउटैको पनि लागत हिसाब निकालिएको छैन। प्रवर्द्धन बजेटको ५४ प्रतिशत हिस्सा खोप कार्यक्रम एक्लैले ओगट्छ। त्यसैले समेटिएका भनिएका अन्य कार्यक्रमहरू बजेटमा भन्दा कागजमै बढी सुरक्षित देखिन्छन्।
प्राथमिक तहमा दीर्घरोगको उपचार पनि तुरुन्तै उपलब्ध नभई ‘तहगत’ र चरणबद्ध रूपमा मात्र लागू गरिने भनिएको छ। यसका लागि पहिलो तहको स्वास्थ्य प्रवर्द्धनमा कम्तीमा ५ प्रतिशत बजेट सुनिश्चित गर्ने, सुर्ती तथा मदिराजन्य करको रकम रोकथाममै खर्चिने र स्थानीय तहको ससर्त अनुदानमा स्पष्ट बजेट शीर्षक तोक्ने प्रस्ताव अघि सारिएको छ।











