काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एकपटकको नेपाली, सधैँको नेपाली’ हौँ’ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन प्रवासमा रहेका नेपालीहरुलाई आग्रह गरेका छन्।
अस्ट्रेलियाका नेपाली युवा उद्यमीहरुद्वारा आयोजित एक सम्मेलनलाई शनिबार भर्चुअल सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले यस्तो आग्रह गरेका हुन्। ‘एकपटकको नेपाली, सधैँको नेपाली हौँ भन्ने हाम्रो मान्यतामा हामी स्पष्ट छौँ । यसमा ढुक्क हुनुहोस्’, उनले भने।
प्रवासमा रहेका नेपालीहरु सरकारको विकास र लगानी विस्तारका सद्भावना दूत भएको पनि वाग्लेको भनाइ थियो। नेपालमा अविश्वसनीय जनमतबाट बनेको नयाँ सरकारले सुशासनको जग बसाल्न र आर्थिक विकासको ढोका फराकिलो बनाउन काम गरिरहेको र यसमा प्रवासमा रहेका नेपालीहरुको हातेमालो जरुरी भएको पनि उनले बताए। ‘सरकारले बितेका एक सय दिनमा गरेका कामहरु हेर्नुभयो भने हामी उच्च इमानदारीका साथ सुशासन, जनतालाई सरकारी सेवा सहज प्रदान गर्न र अर्थतन्त्रको जहाज मोड्नमा उल्लेखनीय सुरुवात गरेका छौँ’, उनले भने, ‘सरकारको नेतृत्वदेखि मन्त्रीहरुसम्म सबैले उच्च नैतिकताको कसीमा उभिएर काम गरिरहनुभएको छ। मेरिटोक्रेसी, नेतृत्वमा उच्च नैतिकता, भ्रष्टाचारमा शून्य सहनशीलता र अर्थतन्त्रको समुन्नतिका लागि आर्थिक राजकाजको जहाज मोड्ने कदमको थालनी पछिल्लो एक दशककै सुनौलो सुधारको सुरुआत हो।’
बजेटमार्फत अर्थतन्त्रको पुनरुत्थानका लागि कर, राजस्व, बजेटको वितरणमा नयाँ सुरुआत तथा लगानीका नयाँ सम्भावनाका ढोका खोलेको भन्दै अर्थमन्त्री वाग्लेले प्रवासमा रहेका नेपालीहरुबाट नेपालमा लगानी भित्र्याउने अपेक्षा सरकारले गरेको बताए। नेपालबाट लगानीको प्रतिफल फिर्ता लैजान सरकारले सहजीकरण गर्ने भन्दै उनले आफ्नो वा विदेशी लगानी नेपाल ल्याउन पहलकदमी लिन अस्ट्रेलियामा रहेका नेपालीहरुलाई आग्रह गरे। ‘डायस्पोरालाई नेपालमा लगानी ल्याउन सहजीकरणका महत्वपूर्ण ढोकाहरु खोलिएका छन्। तपाइँहरु हाम्रो सद्भावना दूत हुनुहुन्छ। आफैँले कमाएको वैध र विदेशी लगानी नेपालमा ल्याउन तपाइँहरु सबैभन्दा राम्रो सहजकर्ता हो’, उनले भने, ‘हामीले सरकारका तर्फबाट एनआरएनए बन्ड, अफसोर बन्ड, वैकल्पिक वित्त परिचालन जस्ता रुपान्तरणकारी अवधारणा अघि सारेको नेपालमा तपाइँहरुको लगानी विस्तारका लागि हो।’
सरकारी खाताभन्दा बाहिरबाट अर्थतन्त्रको पुनरुत्थानका लागि यो सहजीकरण गरिएको भन्दै वाग्लेले भने, ‘सरकारले थप के–के सहजीकरण गर्नुपर्छ, स्पष्टसँग भन्नुहोस्।’
अस्ट्रेलियाको कुल जनसंख्याको १ प्रतिशत हाराहारीमा रहेका नेपालीहरु नेपालको समृद्धिका सम्पत्ति भएको भन्दै वाग्लेले देश बनाउने स्वार्थमा एक भएर हातेमालो गर्न पनि सबैलाई आग्रह गरे।












