काठमाडौं । मुलुकका राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक देखिएको छ।
अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।८३ को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनबाट यस्तो देखिएको हो। चालु आर्थिक वर्षमा २३ वटा आयोजनाका लागि कुल ६७ अर्ब ८ करोड ६४ लाख रुपैयाँ विनियोजन गरिएको छ। तर, आधा वर्ष बितिसक्दा पनि जम्मा १० अर्ब ३९ करोड ३९ लाख रुपैयाँ अर्थात १५.४९ प्रतिशत मात्रै खर्च भएको छ। जुन लक्ष्यको तुलनामा न्यून हो।
प्रतिवेदनअनुसार समीक्षा अवधिसम्म तामाकोशी जलविद्युत आयोजना, गौतम बुद्ध तथा पोखरा क्षेत्रीय विमानस्थल र मेलम्ची खानेपानी आयोजना (पहिलो चरण)को निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आइसकेका छन्। हालसम्म पुष्पलाल राजमार्गको ८१.७३ प्रतिशत, हुलाकी राजमार्गको ७४.३५ प्रतिशत र काठमाडौं–तराई द्रुतमार्गको ४२.१३ प्रतिशत भौतिक प्रगति हासिल भएको छ।
विद्यमान चुनौती
जग्गा प्राप्ति र मुआब्जा वितरणमा समस्या, वन क्षेत्रको उपयोगमा जटिलता, अन्तरनिकाय समन्वयको अभाव र स्थानीयस्तरका अवरोधहरु मुख्य समस्याका रुपमा रहेका छन्।
सुधारका उपाय
आयोजनाको पूर्वतयारी (डीपीआर, जग्गा प्राप्ति) सम्पन्न गरेर मात्र ठेक्का लगाउने, छुट्टै कानुनी र प्रशासनिक संरचना तयार गर्ने र आयोजन प्रमुखको पदावधि सुनिश्चित गर्नेजस्ता समाधानका उपाय पहिचान गरिएको छ।












