काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माण कार्य तत्काल अगाडि बढाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।
धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको १०औँ धादिङ महोत्सवको उद्घाटन समारोहमा अध्यक्ष ढकालले लामो समयदेखि चर्चामा रहेको १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलासाययुक्त जलविद्युत आयोजना अगाडि बढाउनुपर्नेमा विशेष जोड दिए। उनले बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण तत्काल अघि बढाउन दबाब दिने उदेश्यले सञ्चालन गरिएको हस्ताक्षर अभियानमा हस्ताक्षरसमेत गरे।
नेपालभरका उद्यमी, व्यवसायी तथा लगानीकर्ताहरुको लगानीमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) कम्पनी स्थापना गरिएको र यस आयोजनामा स्रोतको कमी भएको भए निजी क्षेत्रको तर्फबाट यस कम्पनीमार्फत लगानी गर्न आफूहरु तयार रहेको समेत अध्यक्ष ढकालले बताए। ‘नेपालमा जलविद्युत विकासको अपार सम्भावना रहेको छ। जलविद्युतको विकाससँगै यहाँका खनिज, कृषि उत्पादन तथा अन्य व्यवसायको सम्भावनालाई पनि थप उजागर गर्न सहयोग पुग्नेछ। आवश्यक परेमा हामी सहयोग गर्न तयार छौँ’, उनले भने।
ढकालले धादिङ जिल्लामा रहेका कुनै पनि सम्भावनाका क्षेत्रहरु जस्तै खनिज, कृषि तथा अन्य कुनै पनि उद्यम, व्यवसायमा लगानी गर्न एनडीपी तयार रहेको समेत उल्लेख गर्नुभयो। उनले निजी क्षेत्रले कुनै पनि आयोजना तोकिएको समयमा, तोकिएको गुणस्तर र तोकिएकै बजेट वा स्रोतमा सम्पन्न गर्ने गरेको बताए। ‘गत भदौको जेनजी आन्दोलनका भएको घुसपैठका क्रममा निजी क्षेत्रका धेरै उद्योग, कलकारखाना, होटल तथा व्यवसायिक प्रतिष्ठानहरुमा आगजनी र क्षति भएको अवस्था थियो। तर, निजी क्षेत्रका सबैजसोले अहिले ती व्यवसायहरु मर्मत, सम्भार र पुननिर्माण गर्दै सञ्चालनमा समेत ल्याई सकेका छौँ। निजी क्षेत्र कुनै पनि आयोजना तोकिएको समयमा, तोकिएको गुणस्तर र तोकिएकै बजेट वा स्रोतमा सम्पन्न गर्ने गरेका छौँ’, उनले भने।
अध्यक्ष ढकालले निजी क्षेत्रमाथि भएका धरपकड र निजी व्यवसायमाथि गरिएको प्रहारले निजी क्षेत्र भयभित भएको बताए। ‘निजी क्षेत्रले उत्पादन गरेको छ। पूर्वाधार निर्माण गरेको छ। सेवा दिएको छ। रोजगारी सृजना गरेको छ। राजस्व तिरेको छ। तर, यो निजी क्षेत्र किन सधै उपक्षित भएको छ’, उनले भने।
अध्यक्ष ढकालले स्थानीयरुपमा आयोजना गरिने मेला महोत्सवहरुले स्थानीय उत्पादनको प्रवर्द्धन तथा बजारीकरणमा उल्लेख्य भूमिका निर्वाह गर्ने उल्लेख गर्दै यस्ता मेला महोत्सवहरुलाई महासंघले सदैव प्राथमिकतामा राख्ने गरेको बताए। ‘यस्ता मेला महोत्सवहरुले स्थानीय उत्पादन तथा सम्भावनाहरुलाई प्रवद्र्धन गर्न सहयोग पुग्छ। यसले स्थानीयस्तरमा आर्थिक गतिविधिहरु विस्तार गर्न, रोजगारी सृजना गर्न सहयोग पु¥याउने हुनाले हामीले यस्ता मेला महोत्सवहरुलाई विशेष महत्वका साथ अगाडि बढाउने गरेका छौँ’, उनले भने।












