काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले आजदेखि देशभर दोस्रो आर्थिक गणना शुरू गरेको छ। स्थलगतरूपमा तथ्याङ्क संकलनका लागि खटिएका सुपरिवेक्षकलाइ दुइ महिनाको समय सीमा निर्धारण गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार, तथ्याङ्क संकलन गर्न पाँच हजार जनशक्ति परिचालन गरिएका छन्। गणनाका लागि ८४ कार्यालय स्थापना गरिएका छन् ।
अर्थ मन्त्री स्वर्णिम वाग्लेले भिडियो सन्देश जारी गर्दै, समग्र औद्योगिक एवं आर्थिक क्षेत्रसँग जोडिएको तथ्याङ्क सङ्कलन गरिने भएकाले यस कार्यमा योगदानका लागि सबैलाई आग्रह गरेका छन् ।
स्थलगतरूपमा खटिएका सुपरिवेक्षकहरूले उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र, सार्वजनिक संस्थाको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहलगायत आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन गर्नेछन्। ठूला साना व्यापारिक प्रतिष्ठान्, रोजगारीमा उल्लेखीय योगदान दिएका प्रतिष्ठान्, उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, सरकारी, गैरसरकारी सङ्घ संस्था, संस्थान, सरकारी विद्यालय, सामुदायीक विद्यालय निजी विद्यालय, सबै प्रकारका अस्पताललगायतको गणना गरिने छ ।
नेपालमा विक्रम सम्वत् २०७५ सालदेखि राष्ट्रिय आर्थिक गणना गर्न थालिएको हो। सात वर्षपछि पुनः गणना शुरू हुँदैछ। पहिलो राष्ट्रिय आर्थिक गणनामा नौ लाख २३ हजार ३५६ प्रतिष्ठान एवं व्यवसायको तथ्याङ्क संकलन गरिएको थियो।












