काठमाडौं । अर्थ मन्त्रालयले आफू मातहतका निकाय तथा कार्यालयमा काम गर्ने कर्मचारीहरुका लागि आचारसंहित लागू गरेको छ।
मन्त्रालयले व्यक्ति तथा सामूहिक व्यवहारलाई निष्पक्ष, पारदर्शी, लोकतान्त्रिक, सदाचारयुक्त, सहयोगी, सेवामुखी, अनुशासित, मर्यादित, व्यवस्थित र सेवामूलक बनाई कार्यम्पादन तथा सेवा प्रभाहमा प्रभावकारिता ल्याउन कर्मचारी आचारसंहित लागू गरेको हो। यो आचारसंहित वैशाख ४ गते मन्त्रालयले स्वीकृति गरिसकेको छ।
आचारसंहितमा कर्मचारीले आफ्नो कर्तव्य पालनाको सिलसिलामा देखाउनुपर्ने सदाचारिताबारे बुँदागत रुपमा मन्त्रालयले स्पष्ट पारेको छ।
सदाचारिता
- सेवाग्राही तथा सम्बन्धित सरोकारवालालाई आफ्नो कार्यको सिलसिलामा कार्यस्थलभन्दा बाहिर भेटघाट नगर्ने,
- कुनै पनि सेवाग्राहीको प्रतिनिधि वा एजेन्ट भई काम नगर्ने,
- आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग गरी आफ्नो वा अन्य कुनै व्यक्ति वा संस्थाको निहित स्वार्थ पूरा गर्ने गरी काम नगर्ने वा नगराउने,
- कर्मचारीले आफू जुनसुकै कारणबाट मन्त्रालयको कामबाट अलग भएपछि आफ्नो परिचयपत्र, कागजात, पासवर्ड, नगदी वा जिन्सी सामग्रीहरु अनिवार्य रुपमा मन्त्रालयमा फिर्ता गर्ने,
- कुनै सरकारी कामको सिलसिलामा स्थलगत भ्रमणमा जाँदा सेवाग्राहीको खर्चमा होटल, खाजाखाना, लज, सवारीसाधन वा अन्य कुनै किसिमको सुविधाको प्रयोग वा उपयोग नगर्ने,
- कर्मचारीले जुवा–तास खेल्नेजस्ता कार्य गर्न नहुने साथै कार्यालयभित्र वा सार्वजनिक स्थलमा मदिरा सेवन गर्नेलगायतका कार्यालयको मर्यादामा आँच आउने कुनै काम नगर्ने,
- अधिकार प्राप्त अधिकारीको स्वीकृति बिना विदेश भ्रमण, तालिम वा कार्यशाला गोष्ठीमा भाग लिन नजाने,
- दातृ निकाय वा अन्य कुनै पनि संस्थासँग कुनै पनि प्रकारको सहयोग माग गर्ने अभिप्रायले पत्राचार नगर्ने,
- दातृ निकाय वा अन्य कुनै पनि संस्थासँग आफ्ना परिवार वा नातेदारलाई छात्रवृत्ति वा यस्तै प्रकारको अन्य सहयोग माग गर्न वा स्वीकार नगर्ने,
- आफू वा आफ्नो परिवारका सदस्य वा नातेदारलाई गैरकानुनी फाइदा पुर्याउने गरी कुनै पनि प्रकारका निर्णय लिने, सल्लाह दिनेलगायतका कार्य नगर्ने,
- मन्त्रालयको कामसँग सम्बन्धित कुनै पनि व्यक्ति वा संस्थाबाट सम्बन्धित अधिकारीको स्वीकृति विना कुनै पनि प्रकारको उपहार, आतिथ्यता स्वीकार गर्न तथा आफूलाई गैरकानुनी फाइदा पुग्ने कुनै पनि कार्यमा संलग्न नहुने,
- आफ्नो कार्यलयको आन्तरिक नियन्त्रण प्रणालीको पालना गर्ने,
- लेखापरीक्षणमा आवश्यक पर्ने कागजात, प्रमाण र जानकारी उपलब्ध गराई आन्तरिक तथा बाह्य लेखापरीक्षणमा पूर्ण सहयोग गर्ने,
- आफ्नो नाममा रहेको बेरुजु समयमै फर्छ्यौट गर्ने,
- प्रत्येक कर्मचारीले मुख्य कार्यसम्पादन सूचकबमोजिम कार्यसम्पादन गर्ने र र कार्यसञ्चालन कार्यविधिको पालना गर्ने।












