काठमाडौं । नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार नेपालको घरजग्गा बजारमा पछिल्लो समय सुधारका संकेतहरू देखिएका छन् । आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिकमा घरजग्गा कारोबारको संख्या अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको नेपालमा घरजग्गा कारोबारको अवस्था(स्टाटस अफ रियल इस्टेट मार्केट इन नेपाल) विषयक प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०८१/८२ मा कुल घरजग्गा कारोबार संख्या ४ लाख ५६ हजार पुगेको छ । यो संख्याले घरजग्गा क्षेत्रमा आएको मन्दीबाट बजार बिस्तारै तंग्रिदै गएको संकेत गरेको प्रतिवेदनमा टिप्पणी गरिएको छ।
कारोबार संख्या र क्षेत्रफलका आधारमा मधेस प्रदेश देशकै पहिलो स्थानमा रहेको छ । त्यसपछि लुम्बिनी र कोशी प्रदेशमा धेरै कारोबार भएका छन् भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम कारोबार भएको देखिएको छ ।
कारोबार संख्यामा मधेस अगाडि भए पनि कारोबार रकमका आधारमा बागमती प्रदेश सबैभन्दा अगाडि छ । बागमतीमा जग्गाको मूल्य उच्च भएका कारण यहाँको कुल कारोबार मूल्य अन्य प्रदेशको तुलनामा धेरै देखिएको हो । आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिकमा मात्रै बागमतीमा ५१ अर्ब ३७ करोड रुपैयाँ बराबरको जग्गा किनबेच भएको छ ।
देशभर २.५ देखि १० आनासम्मका जग्गाको कारोबार सबैभन्दा धेरै झण्डै ४३ प्रतिशत हुने गरेको छ । तर मधेस प्रदेशमा भने २० आनाभन्दा ठूला कित्ताहरूको कारोबार बढी हुने गरेको छ, जसले त्यहाँ कृषि वा औद्योगिक प्रयोजनका लागि ठूला प्लटहरूको माग रहेको बुझिन्छ ।
प्रतिवेदन अनुसार घरजग्गा क्षेत्रमा जाने बैंक कर्जामा पनि वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्मको अवधिमा रियल इस्टेट कर्जा ७२.४१ प्रतिशतले र आवासीय घर कर्जा ६१.५५ प्रतिशतले बढेको छ ।
यस्तै, घरजग्गा कारोबारबाट उठ्ने सरकारी राजस्वमा पनि पछिल्लो समय सामान्य सुधार भई १० देखि १५ अर्ब रुपैयाँको हाराहारीमा पुगेको छ । महानगरीय क्षेत्रहरूमा भरतपुर महानगरपालिकामा सबैभन्दा धेरै कारोबार हुने गरेको छ भने काठमाडौं र ललितपुरमा जग्गाको मूल्य अत्यधिक महँगो भएका कारण कारोबार संख्या तुलनात्मक रूपमा कम देखिएको छ। समग्रमा, मौसमी प्रभावका कारण पहिलो त्रैमासिकमा केही सुस्त रहने घरजग्गा बजार तेस्रो र चौथो त्रैमासिकमा भने निकै चलायमान हुने गरेको राष्ट्र बैंकको विश्लेषण छ।












