सुन्तली सुनुवार, रामेछापको वाम्तीभण्डारमा जन्मे हुर्केकी चेली। स्नातकसम्म अध्ययन गरेपछि गाउँकै युवासँग उनको विवाह हुन्छ। गाउँले जीवन, आर्थिक अवस्था ठीक–ठीकै थियो। पढाइमा अब्बल थिइन्, उनी। स्थानीय विद्यालयमा गाउँपालिकाको राहात कोटामा नाम निकालिन्, अनि शिक्षण पेसा अँगालिन्।
उनीहरुको जीवन सहज रुपमा चल्न थाल्यो। श्रीमान भीमबहादुर सुनुवार फर्निचरको काम गर्दथे। आफ्नै घरमा काठ चिर्ने मेसिन थियो। उनी पनि ठीक–ठीकैको आम्दानी गर्दै थिए। श्रीमान–श्रीमतीको जीवन रमाइलोसँग बितिरहेको थियो।
केही वर्षमा उनीहरुका एक छोरा अनि एक छोरी भए। दुई सन्तान भएपछि स्थायी बन्ध्याकरण गरिन्, सुन्तलीले। गाउँले परिवेशअनुसारको जीवनयापन राम्रै भइरहेको थियो।
विद्यालय व्यवस्थापन समितिका एकजना सदस्य जीवन बीमा कम्पनीमा अभिकर्ता रहेछन्। उनैको प्रस्तावमा सबै शिक्षकले जीवन बीमा गरे। जसमा सुन्तलीले पनि गरिन्।
समय अगाडि बढ्दै गयो। सबै काम सरकारबाट नै हुने हुनाले खासै जिल्ला बाहिर जानु पर्दैनथ्यो। तर, एकपटक सुन्तलीलाई प्रदेश राजधानी हेटौँडासम्म जानुपर्ने काम पर्यो। कार्यालयको सबै काम सकाएर, वीरगन्जसम्म गइन्। आफ्नो परिवारका लागि सर–सामान अनि लत्ता–कपडा खरिद गरिन्। हेटौँडाबाट काठमाडौँ हुँदै रामेछाप फर्किने निधो गरिन्।
दसैँ नजिकिँदै थियो। काठमाडौंमा पनि केही सामान किनिन्। अनि, रामेछापको वाम्तीभण्डार जाने बस चढिन्। केही ढिला गरेर बस काठमाडौंबाट छुट्यो। बस बनेपा, चरिकोट, जिरीहुँदै वान्तीभण्डार जानु थियो। दसैँ नजिकिएकाले बाटोमा गाडी चाप बढी नै थिए। गाडीलाई नियमित समयभन्दा केही ढिला भयो बाटोमा सवारी चाप हुँदा।
चरिकोट नपुग्दै सुन्तली चढेको गाडि दुर्घटनामा पर्यो। १० जनाको मृत्यु, ३ जना गम्भीर घाइते, ३५ जना सामान्य घाइते भएको समाचार रेडियोमा आयो। भीमबहादुर काम गर्दा नियमित रेडियो बजाउने गर्दथे। श्रीमती फर्किंदै गरेको र बस दुर्घटनामा परेको खबरले भीमबहादुरको मनमा चिसो पस्यो। श्रीमतीलाई फोन गरे, फोन लागेन। झन् आत्तिए।
एकछिनपछि सँगै बसमा यात्रा गरेका सामान्य घाइते वाम्तीभण्डारकै एक दाजुले सुन्तली गम्भीर घाइते भई धुलिखेल अस्पतालमा उपचार गराइरहेको खबर गरे, भीमबहादुरलाई। भीमबहादुर आत्तिँदै छोरा–छोरी छिमेकमा जिम्मा लगाएर, गाउँकै एक भाइको मोटरसाइकलमा धुलिखेल हुइँकिए।
तर, धुलिखेल अस्पताल पुग्दा उनको श्रीमती त्यहाँ थिइनन्। विस्तृत बुझ्दा, उनको अवस्थाले त्यहाँ उपचार हुन नसकी त्रिवि शिक्षण अस्पताल, काठमाडौं लगिएको रहेछ। उनी भाइलाई साथमै लिएर फेरि बाइकमै शिक्षण अस्पताल गए।
तर, विडम्बना शिक्षण अस्पताल पुग्दा उनको श्रीमती सुन्तलीले यो संसार छाडिसकेकी रहिछन्। उनी भावविह्वल भए। साथमा गएका भाइले काठमाडौंमा भएका साथीभाइ आफन्त बोलाए। अस्पतालको प्रक्रिया सकिएपछि गाउँमै सद्गद् गर्ने निर्णय गरी भीमबहादुर श्रीमतीको शव लिएर गाउँ फर्किए। गाउँमा साना छोरा–छोरी टुहुरा भएकोमा सान्त्वना दिने र काजकिरियाको चाजो पाँजो मिलाउने काम भइरहेको थियो।
सद्गद् गरी काजकिरिया सुरु भयो। छोरा किरिया गर्न बसे। यही समयमा आएका आफन्त, साथीभाइ गाउँलेमध्ये जीवन बीमा गराउने अभिकर्ताको उपस्थितिले बीमा गरेको कुराको याद दिलायो, भीमबहादुरलाई। अनि जीवन बीमाको फाइल देखाउँदै उनले विस्तृत बुझ्न भने। अभिकर्ताले बीमालेख फाइल हेरेपछि भने, ‘३० लाख बीमांक रकमको जीवन बीमा गर्नुभएको रहेछ।’
दुर्घटनामा मृत्यु भएकाले दुर्घटना मृत्यु लाभबापतको ३० लाख जोडी ६० लाख रुपैयाँ र आर्जित बोनस प्राप्त भयो। यो रकमले भीमबहादुरको बितेको श्रीमती त फिर्ता भइनन् तर त्यसपछिको जीवन जिउन, बाल–बच्चाको शिक्षादीक्षाका लागि ठूलो वरदान सावित भयो।
त्यसैले भिमबहादुर हरपल श्रीमती सुन्तलीलाई सम्झन्छन्। अनि श्रीमतीको बुद्धिमता पूर्ण समयमै जीवन बीमा गर्ने निर्णयलाई धन्यवाद दिन्छन्। श्रीमतीको जीवन बीमा गराउने अभिकर्ता भेट्दा आज पनि भीमबहादुरको शिर धन्यवाद र सम्मानले निहुरिन्छ।
जीवनमा कुन बेला, कुन समयमा, कुन रुपमा अकल्पनिय घटना हुन्छ, कसैलाई थाहा हुँदैन। त्यसैले बेलैमा जीवन बीमा गरी भविष्यमा आइपर्न सक्ने भवितब्यबाट हुने आर्थिक जोखिमलाई आजै जीवन बीमा कम्पनीमा हस्तान्तरण गरी ढुक्क हुनुहोस्।
(यो कथा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको युट्युबाट लिइएको हो।)












