काठमाडौं । चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो महिनामा जीवन बीमा कम्पनीहरुले २६ अर्ब रुपैयाँ बढीको व्यापार भित्र्याएका छन्।
नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमकले चालु आर्थिक वर्षको साउनमा २६ अर्ब २२ करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। अघिल्लो वर्ष २०८२।८३ को साउनमा कम्पनीहरुले १९ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ भित्र्याएका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरुको व्यापार ३३.४४ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा सर्वाधिक व्यापार भित्र्याउनेमा नेपाल लाइफ रहेको छ भने व्यापार ग्रोथको हिसाबले राष्ट्रिय जीवन बीमा कम्पनी अगाडि रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा सबै बीमकको व्यापार बढेको छ।
चालु आर्थिक वर्षको साउनमा नेपाल लाइफले ६ अर्ब ९९ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष साउनमा कम्पनीले ६ अर्ब १९ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार १२.९३ प्रतिशतले बढेको छ।
यसैगरी दोस्रो धेरै व्यापार भित्र्याउनेमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ। समीक्षा अवधिमा यो कम्पनीले ३ अर्ब ९९ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष साउनमा कम्पनीले ४३ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार ८२०.१६ प्रतिशतले बढेको छ। यो वृद्धि जीवन बीमकहरुमध्येकै उच्च पनि हो।
धेरै व्यापार भित्र्याउने हिसाबले नेसनल लाइफ तेस्रो स्थानमा रहेको छ। अघिल्लो वर्ष साउनमा कम्पनीले २ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेकोमा समीक्षा अवधिमा २ अर्ब ९१ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार २०.६५ प्रतिशतले बढेको छ।
यसैगरी चालु आर्थिक वर्षको साउनमा हिमालयन लाइफले २ अर्ब २९ करोड ४१ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआई नेपाल)ले २ अर्ब १४ करोड १४ लाख रुपैयाँ, सूर्यज्योति लाइफले १ अर्ब ५१ करोड ७९ लाख रुपैयाँ र एसियन लाइफले १ अर्ब ११ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा हिमालयन लाइफको व्यापार १३.११ प्रतिशत, एलआईसी नेपालको ४.९८ प्रतिशत, सूर्यज्योति लाइफको २१.९० प्रतिशत र एसियन लाइफको १७.१४ प्रतिशतले बढेको छ।
त्यस्तै समीक्षा अवधिमा सिटिजन लाइफले ९६ करोड १ लाख रुपैयाँ, आइएमई लाइफले ९० करोड ९४ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ८५ करोड ४३ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ७६ करोड ११ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ७० करोड ६६ लाख रुपैयाँ, मेटलाइफले ६० करोड २८ लाख रुपैयाँ र सन नेपाल लाइफले ४६ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको साउनको तुलनामा समीक्षा अवधिमा सबै कम्पनीको व्यापार बढेको छ।
चालु आर्थिक वर्षको साउनमा जीवन बीमकहरुले ३ लाख ८५ हजार ९२१ वटा बीमालेख जारी गरेका छन्। अघिल्लो वर्ष साउनमा कम्पनीहरुले २ लाख ८४ हजार १७६ वटा बीमालेख जारी गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बीमालेख जारी संख्या पनि ३५.८० प्रतिशतले बढेको छ।
कसको व्यापार ग्रोथ कस्तो ?













