IME Life New

जीवन बीमालेख कर्जाको ब्याज महँगिदा बैंक ऋणमा ‘सिफ्ट’ हुँदै बीमित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आमउपभोक्तालाई दिने कर्जाको ब्याजदर एकल अंकमा झरेपछि पछिल्लो समयमा जीवन बीमा कम्पनीबाट कर्जा लिनेको चाप घट्न थालेको देखिएको छ।

वित्तीय रुपमा सचेत बीमितले जीवन बीमा कम्पनीको भन्दा आधा कम ब्याजदरमा बैंकबाटै कर्जा पाउन थालेपछि वाणिज्य बैंकको कर्जा रोज्न थालेका हुन्। बैंकबाट कर्जा लिएर बीमा कम्पनीको साँवा ब्याज चुक्ता गर्न सक्दामात्रै पनि बीमितले ब्याजबापतको रकममा उल्लेख्य बचत गर्ने मौका पाएका छन्। एक बीमाशुल्क प्रकृतिका बीमालेख खरिद गरेका सचेत उपभोक्ताले ब्याजदर अन्तरको लाभ लिनका लागि बीमा कम्पनीको कर्जा चुक्ता गरेर वाणिज्य बैंकबाट कर्जा लिन थालेका हुन्।

Esewa
Crest

वाणिज्य बैंकहरुले अहिले ७ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराइरहेका छन् । जीवन बीमा कम्पनीको ब्याजदर ९ देखि १० प्रतिशत कायम छ। दुई वर्षअघि वाणिज्य बैंकहरुको कर्जाको ब्याजदर १४ प्रतिशतभन्दा माथि नाघेपछि उपभोक्ताहरु बीमा कम्पनीको कर्जा सुविधातर्फ आकर्षित भएका थिए। त्यसबेला बीमा कम्पनीको कर्जा ब्याजदर ९ देखि १० प्रतिशतमात्र थियो।

वाणिज्य बैंकको महँगो ब्याजदरका कारण जीवन बीमालेख कर्जाको माग अस्वभाविक रुपमा बढेको भन्दै जीवन बीमकले आपसी सल्लाहमा ब्याजदरमा १ प्रतिशत विन्दुले बीमालेख कर्जाको ब्याजदर वृद्धि गर्दै १० देखि १२ प्रतिशतसम्म पुर्याएका थिए। उनीहरुले २०७९ कात्तिक महिनामा १–१ प्रतिशत विन्दुका दरले कर्जाको ब्याजदर बढाएका थिए। यो ब्याजदरलाई जीवन बीमकले २०८० जेठ महिनापछि मात्र पुनः साबिकको ब्याजदर कायम गरेका थिए। साबिककै ब्याजदर कायम गराउनका लागि पेसागत अभिकर्ता संघ नेपालले संगठित रुपमा जीवन बीमा कम्पनीको सञ्चालक समितिलाई दबाब नै दिनुपरेको थियो।

जीवन बीमा कम्पनीका एक सीईओले बैंक ब्याजदर घट्दै गएका कारण बीमालेख धितो राखेर बीमा कम्पनीबाट कर्जा लिनेको संख्या केही घटेको बताए। ‘तर, बैंक ब्याजदर घट्दैमा बीमा कम्पनीबाट बीमितले लिने कर्जामा ठूलो प्रभाव परेको छैन’, ती सीईओ भने, ‘किनकि बीमा कम्पनीले बीमालेख धितो राखेर तुरुन्तै कर्जा दिन्छन्। पैसाको अत्यावश्यक परेको बेला बीमाले धेरै सहयोग गर्छ।’

पेसागत बीमा अभिकर्ता संघ नेपालका केन्द्रीय महासचिव ओम केसीले बैंकको कर्जाको ब्याजदर घट्नुले बीमा कम्पनीहरुबाट जाने बीमालेख धितो कर्जा केही घट्न सक्ने बताए। ‘नेपाल लाइफमा २०६०–६१ सालदेखि नै बीमालेख धितो कर्जाको ब्याजदर १० प्रतिशत रहेको छ। अरु कम्पनीमा १–२ प्रतिशत तल–माथि होला’, उनले भने, ‘त्यही भएर बैंकको ब्याजदर घटेको ग्राहकहरु बैंकबाट कर्जा लिन आकर्षित हुन सक्छन्।’

बीमा कम्पनीहरुबाट बीमालेख धितो राखेर दिइने कर्जा भने बैंकको ब्याजदरकै अन्तरले धेरै नघट्ने केसीले बताए। ‘किनकि बीमालेख धितो राखेर आधा–एक घन्टाभित्रै ऋण पाइन्छ’, उनले भने, ‘बैंकहरुमा ऋण लिन थुप्रै प्रोसेस हुन्छ। केही दिन लाग्न सक्छ। त्यसैले तत्काल पैसा चाहिएको अवस्थामा ग्राहकले आफ्नो बीमालेख धितो राखेर कर्जा लिने ठाउँ भनेको बीमा कम्पनी नै हो।’

यसरी पाइन्छ बीमा कम्पनीबाट कर्जा

कुनै पनि जीवन बीमालेखमा कति समयावधि पछि बीमालेखको समर्पण मूल्य प्राप्त हुन्छ भन्ने सर्त उल्लेख गरिएको हुन्छ। तपाइँलाई पनि बीमालेखको धितोमा कर्जा चाहिएको छ भने तपाइँको नाममा जारी भएको जीवन बीमालेखमा समर्पण मूल्यको अवधिबारे जानकारी लिन बीमालेखको दोस्रो पानामा उल्लेखित सर्तहरुका बुँदामा पढ्नुहोस्।

बीमालेख निर्देशिकामा उल्लेख गरिएको व्यवस्थाअनुसार निर्देशिका लागू भएको मितिपश्चातको मितिमा जारी भएको कुनै पनि बीमालेख (लघु र म्यादीबाहेक)को समर्पण मूल्य बीमालेख जारी भएको मितिदेखि ३ वर्षपछि मात्र प्राप्त हुन्छ। साथै, कम्तीमा ३ वर्षको बीमाशुल्क किस्ता पनि अनिवार्य रुपमा भुक्तानी गरेको हुनुपर्छ।

समर्पण मूल्य प्राप्त गर्न आवश्यक सर्त र समयावधि पूरा भएको अवस्थामा बीमालेखको धितोमा बीमितले जुनसुकै बेला पनि कर्जा प्राप्त गर्न सक्छन्। यस्तो कर्जा बीमकले एकदेखि दुई घन्टाभित्रै उपलब्ध गराउँदै आएका छन्।

कुन–कुन कागजपत्र चाहिन्छ ?

बीमालेख धितोमा कर्जा लिन सम्बन्धित बीमित वा बीमालेखधारकले सक्कल बीमालेख, नागरिकता प्रमाणपत्र र बैंकको चेक चाहिन्छ। यति कागजपत्र बोकेर बीमितले आफूले जीवन बीमा गराएको जीवन बीमा कम्पनीको कुनै पनि शाखामा आवेदन दिनुपर्छ। केही बीमकले बीमकको वेबसाइटबाटै आवेदन दर्ता गर्न सकिने सुविधासमेत उपलब्ध गराएका छन्।

यति गरिसकेपछि बीमकको कर्मचारीले समर्पण मूल्य गणना गर्दै कति रकमसम्म कर्जा पाइन्छ भन्ने जानकारी दिन्छन् र बीमितले आफूले लिन पाउने रकमको सीमाभित्र रहेर कर्जा लिनसक्छ। आफूले खरिद गरेको जीवन बीमालेखको धितोमा समर्पण मूल्यको ८० देखि ९० प्रतिशतसम्म रकम कर्जा लिन सकिन्छ।

कर्जाको निवेदन फारम बुझाएपछि बीमितले कर्जाको तमसुकमा सही छाप गरिदिनुपर्छ। कर्जाको प्रमाणबापत बीमकले सक्कल बीमालेखसमेत आफूसँगै राख्छ र कर्जा चुक्ता भएको अवस्थामा मात्र फिर्ता गरिदिन्छ।

६–६ महिनामा तिर्नैपर्छ ब्याज

जीवन बीमालेखको कर्जामा अर्धवार्षिक रुपमा ब्याज गणना गरिने भएकोले जरिवानाबाट जोगिन ६–६ महिनामा ब्याज भुक्तानी गर्नुपर्छ। कर्जाको साँवा रकम चाहिँ बीमालेख अवधिभित्र आफूलाई उपयुक्त भएको समयमा जतिसुकै किस्ता रकम भुक्तानी गर्दै चुक्ता गर्न पाइन्छ। बीमालेख कर्जामा बैंकमा जस्तो साँवाको निश्चित रकम प्रत्येक महिनामा किस्ता तिर्नुपर्ने बाध्यता हुँदैन। केही जीवन बीमकले बीमालेख कर्जाको साँवा र ब्याज रकम डिजिटल वालेटमार्फत भुक्तानी गर्न सकिने सुविधासमेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS