काठमाडौं । जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोष निकै महत्वपूर्ण रहेको हुन्छ। हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमकको जीवन बीमा कोषको आकार करिब पौने ९ खर्ब रुपैयाँको पुगेको छ।
हालै कम्पनीहरुले सार्वजनिक गरेका चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको तथ्यांकअनुसार कम्पनीहरुको जीवन बीमा कोषमा ८ खर्ब ७० अर्ब ६७ करोड रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को यही अवधिसम्म कम्पनीहरुको जीवन बीमा कोषमा ७ खर्ब ४१ अर्ब २२ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरुको जीवन बीमा कोषको आकार १७.४६ प्रतिशतले बढेको छ।
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा सबै कम्पनीको जीवन बीमा कोषको आकार बढेको छ। नेपाल लाइफको जीवन बीमा कोषको आकार सबैभन्दा ठूलो रहेकोमा वृद्धिदरका हिसाबले आइएमई लाइफ अगाडि रहेको छ।
चालु वर्षको पुससम्म नेपाल लाइफको जीवन बीमा कोषमा २ खर्ब ५५ अर्ब ९ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा २ खर्ब १७ अर्ब १४ करोड रुपैयाँ रहेको थियो। कम्पनीको जीवन बीमा कोषको आकार १७.४८ प्रतिशतले बढेको छ।
दोस्रो ठूलो जीवन बीमा कोष लाइफ इन्स्योरेन्स कम्पनीको रहेको छ। अघिल्लो वर्षसम्म कम्पनीको जीवन बीमा कोषमा १ खर्ब २७ अर्ब २७ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर १ खर्ब ३९ अर्ब ८८ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ९.९० प्रतिशतले बढेको छ।
यसैगरी तेस्रो ठूलो जीवन बीमा कोष नेसनल लाइफको रहेको छ। चालु वर्षको पुससम्म कम्पनीको जीवन बीमा कोषमा ९७ अर्ब ५६ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा ७७ करोड ९५ लाख रुपैयाँ थियो। कम्पनीको जीवन बीमा कोषको आकार २५.१६ प्रतिशतले बढेको छ।
वित्तीय विवरणअनुसार सबैभन्दा सानो जीवन बीमा कोष सन नेपाल लाइफको रहेको छ। यो कम्पनीको ११ अर्ब ४ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार २३.१७ प्रतिशतले बढेको छ।
वृद्धिदरका हिसाबले आइएमई लाइफको जीवन बीमा कोषको कोषको आकार सर्वाधिक ४१.२७ प्रतिशतले बढेको छ। समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा १५ अर्ब ३५ करोड रुपैयाँ रहेको छ।
कुन कम्पनीको जीवन बीमा कोषमा कति ?













