काठमाडौं । इरानले होर्मुज समुद्रीमार्ग खोल्नका लागि अमेरिकासमक्ष ७ सर्त अघि सारेको छ।
पाकिस्तानी मिडिया आउटलेट जियो न्युजले इरानले राखेको ७ सर्तका विषयमा खुलासा गरेको हो। यद्यपि, इरानले आधिकारिक रुपमा ती सर्त जारी गरेको छैन।
जियो न्युजले नाम नछाप्ने सर्तमा इरानी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै हालैका वार्ताहरुको समीक्षाले सबै सर्त स्पष्ट पार्ने जनाएको छ। तेहरानले अमेरिकाले ती सबै सर्तमा सहमत नभएसम्म ओमानसँग सोमबार हस्ताक्षर गरिएको सम्झौताअन्तर्गत होर्मुज नखोल्ने स्पष्ट पारेको जियो न्युजले दाबी गरेको छ।
यी सर्त इरानले यस्तो समयमा राखेको हो जब हुथी विद्रोहीहरुले साउदी अरेबियामा निरन्तर आक्रमण गरिरहेका छन्। हुथी विद्रोहीहरुले यमनको बन्दरगाह शहर मोखा कब्जा गरेका छन् र अब बाब–एल–मन्डेब समुद्रीमार्गतिर अगाडि बढिरहेका छन्। साउदी तेल निर्यातमा बाधा पुर्याउन उनीहरुले साउदी रिफाइनरी र विमानस्थलहरुमा बारम्बार आक्रमण गरेका छन्।
होर्मुजमा इरानका ७ सर्त के–के छन् ?
- अमेरिकाले इरानमाथिको समुद्री नाकाबन्दी हटाउनुपर्छ।
- इरानको जफत गरिएको सम्पत्ति पुनस्र्थापित गर्नुपर्छ।
- इरानको तेल निर्यातमा प्रतिबन्ध हटाउनुपर्छ।
- धम्की र सैन्य कारबाहीको बहानामा सबै अमेरिकी गतिविधि पूर्ण रुपमा बन्द गर्नुपर्छ।
- इरान र यसका क्षेत्रीय सहयोगीहरुविरुद्ध युद्ध र सैन्य आक्रमणको अन्त्य गर्नुपर्छ।
- इरानको सिमानावरपरका क्षेत्रबाट अमेरिकी सैन्यबलहरु फिर्ता गर्नुपर्र्छ।
- इरानलाई क्षतिपूर्ति दिने र इरानको आणविक र क्षेप्यास्त्र क्षमताहरुमा हस्तक्षेप नगर्ने वाचा गर्नुपर्छ।
समग्रमा यी सर्त अमेरिकाले पूरा गर्ने सम्भावना कम छ। किनकि यी कारणले अमेरिकाले इरानविरुद्ध युद्ध सुरु गरेको हो। यी सर्त इरानले सोमबार मस्कटमा एउटा महत्वपूर्ण बैठक गर्ने कार्यक्रम तय भएको छ। जसमा इराक र खाडी देशहरुका प्रतिनिधिहरु उपस्थित हुने अपेक्षा गरिएको छ।
इरानी मिडिया रिपोर्टका अनुसार इरान र ओमानबीचको सम्झौताअन्तर्गत फारसी खाडीमा प्रवेश गर्ने मार्ग पूर्ण रुपमा इरानी जलक्षेत्रबाट हुनेछ भने बाहिर निस्कने मार्ग आंशिक रुपमा इरानी जलक्षेत्रबाट हुनेछ। ट्रान्जिट सञ्चालन इरानी व्यवस्थाअन्तर्गत गरिनेछ। यो कागजातमा हस्ताक्षरले दक्षिणी मार्ग बन्द गर्नेछ। जुन अमेरिकाले पुनः खोल्न जोड दिइरहेको छ। –एजेन्सी












