काठमाडौं । नेपाल सरकारको निर्देशनका आधारमा नेपाल बीमा प्राधिकरणले पनि बीमा कम्पनीहरू साताको दुई दिन बन्द गर्ने व्यवस्था गरेको छ।
नेपाल बीमा प्राधिकरणले सबै बीमा कम्पनीका लागि सूचना जारी गर्दै मन्त्री परिषदको आइतबार बसेको बैठकको निर्णय अनुसार प्रत्येक शनिबार र आइतबार कार्यालय बिदा रहने र बाँकी दिनमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कार्यालय सञ्चालन गर्न निर्देशन दिएको हो। अर्को सूचना जारी नहुँदासम्म सोमबारदेखि शुक्रबार बीमा कम्पनीको कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खुल्ला रहने भएका छन् । यसअघि हप्तामा आइतबार सहित ६ दिन कार्यालय सञ्चालन हुने र शुक्रबार ३ बजे कार्यालय बिदा हुने गरेको थियो।
यसैगरी नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाका लागि कार्यालय समय दैनिक बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कायम गरिएको व्यहोरा सहित सूचना प्रकाशन गरेको छ। राष्ट्र बैंकले शनिबार र आइतबार बैंकिङ कार्यालय बन्द गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
यद्दपी सर्वसाधारणका लागि बैंकिङ सेवा बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म मात्र खुल्ला हुनेछ।
इजरायल र अमेरिकाले इरानमाथि गरेको आक्रमणको प्रतिवादनमा इरानले खाडी मुलुकबाट इन्धन आयात हुने हर्मुज जल डमरू अवरूद्ध पारेपछि विश्वभर इन्धन संकट भएको छ। यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको छ। इन्धनको आपूर्ती श्रृंखला खलबलिएका कारण एक महिना नबित्दै पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ४० रूपैयाँसम्म महँगो भएको छ। हवाइ इन्धन झनै महँगिएको छ।
इन्धन खपत घटाउने उद्देश्यले सरकारले आइतबार समेत सरकारी कार्यालय र शिक्षण संस्थाहरू बन्द गर्ने निर्णय गरेको हो । सरकारको निर्णयले सोमबारदेखि बिहीबारसम्मको ५ दिनमा दैनिक १ घण्टाका दरले कुल ५ घण्टा र शुक्रबार २ घण्टा सहित कुल सात घण्टा कार्यालय समय थपिने भएकाले आइतबार पुरा दिनको बिदावापतको प्रभाव घण्टाका हिसाबले १ घण्टा मात्र पर्ने देखिन्छ।












