काठमाडौं । भारतको गुजरातस्थित सुरतको श्याम संगिनी टेक्सटाइल मार्केटमा भएको भीषण आगलागी दुर्घटना नभई योजनाबद्ध आगजनी भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। घटनामा पूर्वअकाउन्टेन्ट ३३ वर्षीय विनोद पण्डित सावले पक्राउ परेका छन्।
प्रहरीका अनुसार सावलेले पूर्वकार्यस्थलबाट करिब १० हजार भारतीय रुपैयाँ तलब लिन बाँकी रहेको र आफूलाई कामका क्रममा अपमान तथा दुर्व्यवहार गरिएको भन्दै आक्रोशित भएर आगजनी गरेको आरोप छ। उनले अप्रिल २०२६ देखि त्यहाँ करिब ३० हजार रुपैयाँ मासिक तलबमा अकाउन्टेन्टका रूपमा काम गरेका थिए र पछि जागिर छाडेका थिए।
अनुसन्धानअनुसार उनले घटनाअघि करिब १५० रुपैयाँको पेट्रोल खरिद गरेका थिए। सेप्टेम्बर ८ को राति बजार सुनसान भएपछि उनी पाँचौँ तलाको सिँढी नजिक बसेर मौका कुरेको र करिब साढे १२ बजे पसलबाहिर राखिएका कपडाका पार्सलमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीको दाबी छ।
कपडा तथा प्याकिङ सामग्री ठूलो मात्रामा रहेकाले आगो तीव्र रूपमा फैलिएको थियो। घटनामा करिब १४ पसल प्रभावित भएको र कपडा तथा अन्य सामान गरी करिब २४ करोड भारतीय रुपैयाँ बराबरको क्षति भएको प्रहरी अनुसन्धानमा उल्लेख छ।
सुरुमा आगलागीको कारणबारे अन्य आशंका गरिए पनि बजारमा जडान गरिएका सीसीटीभी फुटेज अनुसन्धानको मुख्य आधार बने। प्रहरीले सुरत प्रहरीको ‘विश्वास प्रोजेक्ट’अन्तर्गतका १ हजार ५०० भन्दा बढी सीसीटीभी फुटेज खोतलेर सावलेको बजार प्रवेशदेखि बाहिरिने गतिविधिसम्म ट्र्याक गरेको जनाएको छ।
आगलागीपछि सावले मोबाइल बन्द गरेर सुरतबाट बाहिरिएको र राजस्थान तथा अयोध्या पुगेको प्रहरीको भनाइ छ। पछि सुरत फर्किएपछि उनलाई अपराध शाखाले पक्राउ गरेको हो।
प्रहरीले घटनाको पुनर्निर्माणसमेत गरिसकेको जनाएको छ। आगजनीको उद्देश्य, घटनामा अन्य व्यक्तिको संलग्नता तथा पेट्रोल खरिदसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको छ।












